राज्यको दृष्टिमा खेलकुद अनुत्पादक क्षेत्र

राज्यको दृष्टिमा खेलकुद अनुत्पादक क्षेत्र


sportबागमतीमा पानी धेरै बगिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्मा पनि अहिलेसम्म थुप्रै सदस्यसचिवले राज गरिसकेका छन् । दरबारका भारदारदेखि राजनीतिक दलका कार्यकर्ताले खेलकुदमा ताण्डव गरिसकेका छन् । पञ्चायती व्यवस्थामा निरुङ्कुशताको नाङ्गो नाच र बहुदलीय व्यवस्थामा पार्टीका कार्यकर्ताको भर्तीकेन्द्रको बनेको खेलकुदले अहिलेसम्म पनि वास्तविक खेलकुदको ‘न्यानो माया’ पाउन सकेको छैन । राज्यले खेलकुदको महत्व र वास्तविकतालाई आत्मसात् गर्न नसक्दा जहिले पनि खेलकुद विवादास्पद थलोको रूपमा परिणत हुन पुग्यो । परिणाम खेलकुद अधोगतितर्फ उन्मुख भयो भने खेलाडीले विदेश पलायनको बाटोलाई रोज्नुपर्‍यो । यसरी विश्वमानचित्रमा खेलकुदको लोकप्रियता र महत्वले शिखर चुमिरहेको अवस्थामा नेपाली खेलकुद दयनीय अवस्थामा पुगेको जगजाहेरै छ ।
राष्ट्रिय खेलकुद परिषद्को वागडोर अहिलेसम्म १६ जना सदस्यसचिवले सम्हाल्ने मौका पाएका छन् । तीमध्ये प्रायजसो सबैले दरबारको चाकडी र दलका कार्यकर्ता खेलकुदमा भर्ती गर्न बिताएको इतिहास हाम्रोसामु छ । र पनि, साँचो रूपमा भन्नुपर्दा अहिलेसम्म पनि शरदचन्द्र शाहजस्तो सदस्यसचिव खेलकुदले फेला पार्न सकेको छैन । तत्कालीन समयमा शाहले खेलकुदमा निरङ्कुशता लादे पनि उनले आफ्नो दश वर्ष कार्यकालमा गरेको खेलकुदको विकास अहिले पनि उदाहरणीय बनेको छ । त्यसबेला १४ अञ्चल ७५ जिल्लामा जुन किसिमले उनले खेलकुदको विकास गरेका थिए सायद त्यो वास्तविक खेलकुदलाई माया गर्ने व्यक्तिले मात्रै गर्न सक्थ्यो । गाउँघरमा मात्रै सीमित डन्डिबियोदेखि दोहोरीगीतको प्रतियोगिता शाहले नै शुभारम्भ गरेका थिए । विकास, अनुशासन र गतिशीलताको नारालाई हुबहु खेलकुदमा उतारेका शाहले त्यसवेला खेलकुदलाई सिर्जनात्मक र रचनात्मक थलोको रूपमा परिणत गर्न सफल भएका थिए । त्यसैले होला अहिलेसम्म पनि शाहको खेलकुदको कार्यकाललाई ‘स्वर्णकाल’को संज्ञा दिइन्छ ।
प्रजातन्त्रको उदय र शरदचन्द्र शाहको पतनसँगै खेलकुदमा अराजकता भित्रिएको थियो । वास्तविक रूपमा भन्नुपर्दा खेलकुदका दु:खका दिन सुरु भएका थिए । खेलकुदमा घिनौना खेल र काला कर्तुतले विशेष ठाउँ ओगट्न सफल भएका थिए । यसरी खेलकुद क्रमिक रूपमा फोहोरी खेलको आहलको रूपमा परिणत भएको थियो । जसलाई राजनीतिक दलका नेता र कार्यकर्ताले मलजल गर्दै अझ कुरूप बनाएका थिए । दरबारियादेखि काङ्ग्रेस, एमाले, राप्रपा, तमलोता र एमाओवादीले खेलकुदलाई बदनाम तुल्याउन कुनै कसर राखेनन् । खेलकुदलाई सधैँ बलिको बोका बनाउन उनीहरूले कुनै कसर राखेनन् । जसले गर्दा खेलकुद जहिले पनि बलात्कार हुँदै गयो, उसको पीडा, चिच्याहट, रोदन कसैले सुनेन । उल्टै हरिबाबु चौधरीजस्ता व्यक्तिको हातमा खेलकुदलाई सुम्पियो । परिणाम खेलकुदमा विकृति, विसङ्गति बढ्यो, खेलकुद घनघोर अन्धकारमा लुप्त भयो । खेलकुदलाई माया गर्नेहरू टाउकोमा हात राखेर उँधो मुन्टो लगाउन बाध्य भए ।
शरदचन्द्र शाहलाई अपवादमा राख्दा आफ्नो नौमहिने छोटो कार्यकालमा पूर्वसदस्यसचिव केशव स्थापितले खेलकुदको विकासका लागि फरक सोचका साथ अगाडि आएका थिए । जुन सोच र परिकल्पना स्थापितको थियो त्यो खेलकुदका लागि सकारात्मक र हितकर भए पनि उनले बनाएको योजना सम्बन्धित निकायमा पुग्नु अगावै सरकार परिवर्तनका कारणले बीचैमा तुहिएको थियो । जसलाई अहिले पनि खेलकुदको दुर्भाग्य मानिन्छ । यसरी खेलकुद परिवर्तनका लागि तडफिरहेको बेलामा एमाओवादीले पुराना कराते खेलाडी युवराज लामालाई खेलकुदको जिम्मेवारी सुम्पेको थियो । खेलकुदको कायापलट गर्ने विश्वासका साथ राखेप भित्रिएका लामाका सामु चुनौतीका पहाडले गिज्याउँदा केही समय त उनी पनि रनभुल्लमा परेका थिए । जताततै भताभुङ्ग, छताछुल्ल र बेतिथि देख्दा उनको होस उडेको थियो । केही समय यही गन्जागोल अवस्थालाई आत्मसात् गरेका लामाले त्यसपछि खेलकुदलाई रचनात्मक भूमिमा परिणत गर्ने प्रण गरेका थिए । यसका लागि लामाले पहिलो हतियारको रूपमा अनुशासनलाई प्रयोग गर्दै राजनीतिक गर्नेहरूलाई मूलगेटमै सीमित रहन आह्वान गरेका थिए । लामाले राजनीतिक विकृतिले खेलकुदलाई अराजकतातर्फ धकेलेको महसुस गर्दै चुनौतीको सामना गर्ने र खेलकुदलाई यो दूषित वातावरणबाट मुक्त गर्ने प्रणका साथ अगाडि बढेका थिए । जुन अहिले खेलकुदको दीर्घकालीन विकासका लागि सकारात्मक पाटो बन्न पुगेको छ ।
लामाको खेलकुदप्रतिको यही सकारात्मक सोचका कारण अहिले राष्ट्रिय खेलकुद परिषद् खेलकुदको संस्था हो भन्न लायक भएको छ । यसरी राखेपको औचित्यमाथि नै प्रश्न उठेको बेलामा लामाले निषेधको राजनीतिबाट टाढा रहँदै खेलकुदको विकासका लागि सबैसँग हातेमालो गरेका छन् । परिणाम आज खेलकुदको अनुहार फेरिएको छ । वर्तमान अवस्थामा खेलकुदको समग्र विकासबारे लामाकै शब्द सापटी लिँदा उनले भनेका छन्, ‘हामी खेलकुदको जग परिवर्तन गर्न आएका हौँ, जसका लागि यसलाई विज्ञानसँग जोड्न आवश्यक छ, खेलकुदको विकास गर्ने देशहरूको अध्ययन गर्दा उनीहरूले जुन संरचनामा खेलकुदको विकास गरे त्यो अवस्थालाई दाँजेर हेर्दा अहिले पनि हामी ढुङ्गेयुगमा छौँ । तसर्थ खेलकुद पाठ्यक्रममा नहुनु, अध्ययन र अध्यापन गर्ने व्यवस्था नहुनु र राज्यले खेलकुदलाई अनुत्पादक क्षेत्र मानेर उपेक्षा गर्नुले खेलकुदको विकासमा अवरोध खडा भएको छ । त्यसैले पाठ्यक्रम र एकेडेमी निर्माणमा विशेष ध्यान दिएको प्रस्ट पारेका छन् ।’
विभिन्न उकाली–ओराली चढ्दै, अप्ठ्याराहरूलाई पार गर्दै लामाले गत साता आफ्नो कार्यकालको दोस्रो वर्षगाँठ पार गरेका छन् । राजनीतिक अस्थिरतासँगै खेलकुदको काँचुली फेर्न तल्लीन लामाले केही हदसम्म यसमा सफलता प्राप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात् गरेका लामाले सङ्घहरूमा तदर्थवादको अन्त्य, खेलकुदमा अनुशासन, भौतिक पूर्वाधारको निर्माण र विद्यालयस्तरमा खेलकुदलाई पुर्‍याएर ठूलो उपलब्धि हात पारेका छन् । अझ पूर्वाधारबिना प्रतियोगिता र प्रशिक्षण गर्न सकिँदैन भन्दै आउँदो तीन वर्षलाई ‘लगानी वर्ष’ वर्षको रूपमा घोषणा गरेका छन् । जसअन्तर्गत आउँदो आर्थिक वर्षदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय रंगशाला, बहुउद्देश्यीय आधुनिक कभर्ड हल, रंगशालामा सेन्थेटिक टर्फ राख्ने कामको शुभारम्भ हुनेछ । सोही लक्ष्यअण्न्तर्गत मार्सल आर्टस्का विभिन्न एकेडेमी बनाएर १३औँ सागका लागि सम्पूर्ण पूर्वाधार तयार पारिने भएको छ । यसरी दुई वर्षको छोटो अवधिमा खेलकुदलाई सही ट्रयाकमा ल्याउन सफल भएका लामाले नेपाली खेलाडीलाई ओलम्पिकसम्म पदक जित्ने आधारशिला खडा गर्ने प्रतिबद्धता जनाएका छन् । लामाले देखेका सम्पूर्ण सपना पूरा हुन, नेपाली खेलकुदले अन्तर्राष्ट्रियस्तरमा फड्को मारोस्, तीन करोड नेपाली स्वस्थ बनून् भन्दै लामाको आगामी कार्याकालका लागि सफलताको शुभकामना ।

नेकोस राष्ट्रव्यापी रेटिङ बुद्धिचाल हुने
राष्ट्रिय बुद्धिचाल सङ्घ नेपाल र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा नेकोस दोस्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७० को आयोजना हुने भएको छ । उक्त प्रतियोगिता असार १७ देखि २२ गतेसम्म बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र, नयाँँबजार सञ्चालन हुने आयोजक कमिटीले जनाएको छ । व्यावसायिक खेलकुदको अवधारणालाई देशव्यापी रूपमै स्थापना गर्ने र बुद्धिचाल खेललाई एक सम्मानजनक पेसाको रूपमा विकास गरी प्रतिभावान एवम् सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । सर्वाधिक दुई लाख ५० हजारको नगद पुरस्कार रहेको यो प्रतियोगितामा ५० जिल्लाका दुई सय ५० खेलाडी सहभागी हुने अनुमान गिएको छ । गत वर्ष ४२ जिल्लाका एक सय ५३ खेलाडले यो प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रिय बुद्धिचाल सङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय घटक सङ्गठन हो जसले बुद्धिचाल खेलको विकासलाई केन्द्रमा राखेर देशव्यापी रूपमा खेलकुदसम्बन्धी गतिविधि र कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुल रु. नौ लाख ६३ हजार ६ सय अनुमानित बजेट रहेको यस प्रतियोगितामा क्रम विजेतासहित ४१ जनाले नगद पुरस्कार पाउनेछन् ।

अन्तर्राष्ट्रिय पदकविजेतालाई अजिमाको सम्मान
चौधौँ मिलो मलेसियन सिनियर खुला कराते च्याम्पियनसिपका पदकविजेतालाई बुढानीलकण्ठस्थित अजिमा युवा क्लबले सम्मान गरेको छ । उक्त प्रतियोगितामा नेपाल सितोरियो कराते सङ्घ, उत्तरी भेग शाखा डोजो, बुढानीलकण्ठका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मलेसियाको क्वालालम्पुरस्थित चेरास स्टेडियममा भएको उक्त प्रतियोगितामा एक रजत र तीन कास्य जितेका थिए । महिलाको टिम कुमुतेमा सिर्जना अधिकारी र निशा कुँवरले रजत जितेका थिए भने पुरुषको ८४ केजीमुनि सरोज श्रेष्ठ तथा ९–१० वर्ष उमेर समूहमा सुवन लामाले कास्य पदक जितेका थिए । पुरुषको टिम कातामा सरोज श्रेष्ठ, सानुबाबु तामाङ र सुनील चौधरीले कास्य प्राप्त गरेका थिए । सो अवसरमा प्रशिक्षक प्रेमलाल बम्जन, सहायक प्रशिक्षक दीपेन्द्र खड्का तथा अफिसियल सुरेन्द्रसिंह लामा पनि सम्मानित भएका छन् । उनीहरूलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापा, अजिमा युवा क्लबका अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल वादोरिया कराते डो सङ्घका अध्यक्ष श्यामबहादुर खड्का तथा अजिमाका संरक्षक मधुसुदन श्रेष्ठले सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

कर्मचारी सङ्घद्वारा पदकविजेता सम्मानित
मलेसियाको क्वालालम्पुरमा भएको २७औँ मलेसियन अन्तर्राष्ट्रिय मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका पदकविजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले सम्मान गरेको छ । दोहोरो स्वर्ण विजेता इन्द्रा मल्ल र कास्य पदकधारी विष्णु मल्ललाई सङ्घले सम्मान गरेको हो । पदकविजेताद्वय सहोदर दिदीबहिनी हुन् । राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, सङ्घका अध्यक्ष रञ्जन थापालगायतले पदकविजेतालाई सम्मान गरेका थिए ।

टेबलटेनिस खेलाडी छनोट
दक्षिण कोरियाको बुसानमा हुने २१औं एसियाली टेबलटेनिस च्याम्पियनसिपका लागि आठ खेलाडी छनोट भएका छन् । जुन ३० देखि जुलाई ७ तारिखसम्म हुने प्रतियोगिताका लागि समान चार–चार पुरुष र महिला खेलाडी छनोट भएको टेबलटेनिस प्रशिक्षक सुशील पौडेलले जनाएका छन् । छनोट हुने खेलाडीमा पुरुषमा एपीएफका शिवसुन्दर गोठे, नेपाल प्रहरीका दीप साउद, काठमाडौंका रन्जित रायमाझी तथा प्रहरीका विनेश खनियाँ रहेका छन् । त्यस्तै महिलामा एपीएफकी सेलिसा खड्गी, कास्कीकी मनिता चित्रकार र काजोल रौनियार तथा प्रहरीकी सुनिता लामा रहेका छन् ।

साउन्ड टेबलटेनिस प्रशिक्षण सुरु
जिल्ला विकास समिति काठमाडौंको सहयोग तथा नेपाल दृष्टिविहीन टेबलटेनिस सङ्घको आयोजनामा दृष्टिविहीन साउन्ड टेबलटेनिस प्रशिक्षण हालै सुरु भएको छ । कीर्तिपुर नगरपालिकाभित्र छरिएर रहेका युवा दृष्टिविहीन खेलाडीलाई लक्षित गरी सञ्चालन गरिएको प्रशिक्षणमा समान १०–१० पुरुष र महिलाको सहभागिता रहेको छ । प्रशिक्षण असार ८ गतेसम्म कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा चल्नेछ । काठमाडौं जिल्ला खेलकुद विकास समितिका साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेल र राजु महर्जनले सहभागीलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणपछि असार ९ र १० मा सहभागी खेलाडीलाई समावेश गराई प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

बोसिया हुने
युवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा नेपाल बोसिया सङ्घको आयोजनामा मस्कुलर डिस्ट्रोफी अपाङ्गता भएका व्यक्तिहरूका लागि उपत्यकाव्यापी बोसिया
खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असार १० मा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसरको ओलम्पियन सेमिकभर्डहलमा हुनेछ । उक्त प्रतियोगितामा करिब ३० देखि ५० जनाको सहभागिता रहने आयोजककी अध्यक्ष गोमादेवी पौडेलले जनाएकी छिन् ।

गोर्खाकप मनाङको झोलीमा
गोर्खाकप फुटबल प्रतियोगिताको उपाधि जितेर मनाङमस्र्याङ्दी च्याम्पियन बनेको छ । सनसनीपूर्ण सेमिफाइनलमा थ्रीस्टारलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको मनाङले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४–१ ले पराजित गरेको थियो । योभन्दा अघिका दुई संस्करणमा मनाङले उपविजेतामै चित्त बुझाएको थियो । च्याम्पियन बनेपछि मनाङले १० लाख प्राप्त गरेको छ भने उपविजेता आर्मीले पाँच लाख ।
सेमिफाइनलमा पुग्न सफल थ्रीस्टार र ब्वाइज युनियनले एक–एक लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उपाधि आर्मीका टंक बस्नेतले जितेका छन् । सो उपाधिसँगै उनले यामाहा मोटरसाइकल नगद ५० हजार जितेका छन् । गोर्खा समूहको प्रायोजनमा सञ्चालन भएको उक्त प्रतियोगितामा १३ ‘ए’ डिभिजनका क्लबहरूको सहभागिता रहेको थियो ।