-त्रिभुवनचन्द्र वाग्ले
I disagree with every word you say, but I swear by the last blood of my life that you have a right to say so. -Francois Marie Arouet (Voltaire)
नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा पर्यायवाची संस्था वा शब्द नेपाल विद्यार्थी सङ्घको पञ्चायतकालमै तनहुँ जिल्ला कार्यसमिति सदस्य र तनहुँ–काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष भइसकेकाले म यस संस्थाबारे आफ्ना विचार व्यक्त गर्ने अधिकार राख्दछु भन्ने लाग्छ । पूर्वराजा ज्ञानेन्द्र शाह हालै तराईका विभिन्न जिल्लाको भ्रमणका क्रममा रहँदा शुभेच्छुकले उहाँको स्वागतार्थ बनाएका ‘स्वागतद्वार’ भत्काउने र सो भ्रमणलाई कुण्ठित गर्ने मनसायले जिल्ला बन्द गर्नेजस्ता निकृष्ट काममा नेविसङ्घमा आबद्ध रहेकाहरू पनि थिए भन्ने समाचारले प्रजातन्त्रमा विश्वास गर्नेलाई घोर आघात पुग्नुपर्छ । भोल्तियर उपनामले चिनिने फ्रान्सका विश्वविख्यात दार्शनिक फ्रान्कोइस् मारिय अरोउट (१७९६–१७७८) ले भनेका थिए, ‘म तिमीले भनेका हरेक शब्दसँग असहमत छु तर मेरो जीवनको अन्तिम थोपा रगत रहँदासम्म प्रतिज्ञा गर्दछु कि त्यस्तो भन्ने अधिकार तिमीलाई रहनेछ ।’ हो, प्रजातन्त्र यही हो । कसैका विचारसँग असहमत हुनु तर उसको विचारको सम्मान गर्नु प्रजातन्त्रको आधारभूत विशेषता हो । प्रजातन्त्रका यी मान्यतालाई उल्लङ्घन गरेर कलम र मसालअङ्कित जतिसुकै अग्लो झन्डा उचाले पनि ती ठेट्ना नेपाल विद्यार्थी सङ्घका सदस्य हुन सक्दैनन् ।
नेपालले विचार नियोजनको लामो राजनीति खेपेको छ । जसै, राणाशासनको सन्दर्भ आउँछ, उनीहरूका विचार, शासन र सत्ताको आलोचना गर्नु शहादत पाउन गरिने दुष्प्रयास हुन्थ्यो । ‘सबै पञ्च नेपाली’ भन्ने पञ्चायती भनाइको विरोध गर्ने नेविसङ्घ र नेपालको माउ राजनीतिक पार्टी नेपाली काङ्ग्रेसलाई अराष्ट्रिय तत्व घोषित गरिएको थियो । माओवादीहरूले विचारको भिन्नतालाई आधार बनाएर काङ्ग्रेसलाई ‘रोजी–रोजी’ छप्काएको इतिहासको घाउ पुरिएको छैन । विचारको आधारमा सबैभन्दा धेरैको कत्लेआम माओवादीले गरे । आज यिनै विचारशून्यहरूको जमातमा मिसिएर नेपाल विद्यार्थी सङ्घले पूर्वराजाको स्वागतार्थ बनाइएका द्वार भत्काउन पुग्दछ भने नेविसङ्घ पनि विचार होइन, बलले सञ्चालित दस्ता हुनेछ । विचार नियोजक शक्ति हुनेछ ।
आजको सजिलो राजनीतिक आन्दोलन मात्र होइन आजन्म जेलमा रहनुपर्ने अवस्थामा पनि महानेता बीपी कोइरालाले विचारको राजनीति कहिल्यै छोड्नुभएन । नेविसङ्घले बीपीलाई पूर्वप्रधानमन्त्री, शक्तिशाली, विश्वलोकप्रिय नेता मात्र भनेर बुझ्यौ भने त्यो तिमीहरूको सीमित बौद्धिकता हुनेछ । बीपीलाई चिन्ने एउटै मात्र आधार विचार हो । प्रजातन्त्र उहाँको आदर्श हो । विविधताको सम्मान र आलोचना स्वीकार गर्नु उहाँको जीवनशैली हो । हेर ! तिमीहरू (गेट भत्काउनेहरू)लाई थाहा छ कि छैन, पञ्चायतको विरोध गर्दा थुप्रै नेपाली पत्रकारले जेल बस्नुपरेको छ तर आफ्नो विरोध गर्ने पत्रकारलाई पनि बीपीले सम्मान गर्नुहुन्थ्यो । आफूलाई व्यङ्ग्य गरिएर छापिएका कार्टुनलाई ब्लो–अप बनाएर भारतीय नेता जवाहरलाल नेहरूले सजाएर राख्नुहुन्थ्यो । प्रजातन्त्र भनेको अलोचना स्वीकार र विविधताको सम्मान गर्नु हो । तिमीहरूले पढ्यौ ? बेलायती निबन्धकार एडवार्ड मोर्गान फोस्टरले ुक्य, तधय अजभभचक ायच म्झयअचबअथस् यलभ दभअबगकभ ष्त बमmष्तक खबचष्भतथ बलम तधय दभअबगकभ ष्त उभचmष्तक अचष्तष्अष्कmु भनेर प्रजातन्त्रको समर्थनमा किन दुई ताली बजाएका छन् ? किनभने प्रजातन्त्रले आलोचना र विविधता स्वीकार गर्दछ । यदि आलोचना र विविधता स्वीकार गर्न सक्दैनौ भने आजैबाट नेविसङ्घ र प्रजातन्त्रको झन्डा उचाल्न छाड, कुनै जङ्गी कारिन्दाको डण्डा उचाले हुन्छ । प्रजातन्त्रको झन्डा र जङ्गी करिन्दाको डण्डाबीच पृथकता देख्दैनौ भने तिमीहरू नेविसङ्घ हुनुको अर्थ रहँदैन । किन फोस्टरले प्यारो रिपब्लिक जसले ‘स्वतन्त्रताको भक्ष’ गर्दछ भने ?
पूर्वराजा ज्ञानेन्द्र अहिले सामान्य नेपाली नागरिक हुनुहुन्छ । उहाँका केही विचार होलान्, त्यसमा कोही सहमत वा असहमत हुनु गौँड कुरा हो । मुख्य कुरा उहाँले आफ्ना विचार राख्न पाउनुपर्छ यदि मुलुकमा प्रजातन्त्र छ भने । बिनाहतियार मुलुकभर घुम्न पाउने अधिकार उहाँलाई संविधानले दिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा सन् १९४५ ले दिएको छ । पञ्चायतकालमा बीपीलाई पोखरामा गएर भाषण गर्यो भने त्यतातिरका सबै मानिस काङ्ग्रेस बन्नेछन् भन्ने डरले पोखरामा उहाँ चढेको जहाज उत्रन दिएनन् मण्डलेहरूले, आज तिनै मण्डलेको ०७० को संस्करण बनेर नेविसङ्घका विद्यार्थीले पूर्वराजा ज्ञानेन्द्रलाई राजविराज पस्न नदिनेजस्ता कार्यक्रम गर्दछन् भने पञ्चायत पोषित मण्डले र तिमी नेविसङ्घबीच के भिन्नता रहन्छ ? राजा–नेतृत्वको विचार नियोजक पञ्चायत र शब्दमा उच्चारित गणतन्त्रमा के भिन्नता ? नेविसङ्घका भाइहरू भिन्न हुन सिक । प्रजातन्त्रवादी हुन सिक ।
प्रजातन्त्रमा कसैको हार हुँदैन किन भन्नुभयो गिरिजाप्रसाद कोइरालाले ? के अहिले सबैले जितेको महसुस गर्न पाएका छन् ? कसैलाई मन परोस् या नपरोस्, केही ठालु र तिनका हरुवाचरुवाले चौतारीमा थपडी बजाएर गरेका घोषणालाई सबै नेपालीले मान्नुपर्छ भन्ने छ ? केही मुखियाले चलाएको मुखियाली प्रथा आमनेपालीले मान्नुपर्छ भन्ने छैन । प्रजातन्त्र भन्ने हो भने जनताको मतबाट यस्ता विषयका घोषणाको परीक्षण गरिनुपर्छ । यस अर्थमा कमल थापाले भन्दै आउनुभएको संवैधानिक राजतन्त्र र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अडान राख्नुभएको सङ्घीयताविरोधी विचार दुवैलाई वैचारिक सम्मान गर्न नसक्नेहरू ‘सबै नेपाली पञ्च’ गायत्रीबाट दीक्षित नवमण्डले हुन सक्दछन्, खाँटी प्रजातन्त्रवादी हुन सक्दैनन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिद्धान्तको रामनामी बर्को ओडेर हामी पञ्चायती दिनमा प्रजातन्त्रको लडाइँमा थियौँ । हामी बीपीले भन्नुभएजस्तै विचार (ब्रेन)ले सञ्चालित थियौँ, बे्रड (खाना) ले थिएनौँ । जब नेपाली काङ्ग्रेस अगाडिबाट हेर्दा प्रजातन्त्रवादी र पछाडिबाट हेर्दा फोस्टरका शब्दमा स्वतन्त्रताको भक्ष गर्ने रिपब्लिकको ठिमाहा छोरोजस्तो देखियो, जसै उसको चियापान बे्रनले कम र ब्रेडले बढी पहिचानित हुँदै गयो, वर्षको एक दिन चिया खान बीपीनगर नाम दिइएको उसको केन्द्रीय कार्यालय सानेपा जानुपर्ने सैद्धान्तिक हमदर्दीको कसी उग्लँदै गएको सुन बन्दै छ । यदि सुगौली सन्धिपछि राष्ट्रियता सबैभन्दा अहिले कमजोर भएको भन्ने हो भने राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनैपर्छ ।
आज नेपाललाई नागरिकताको प्रमाणपत्र सुक्री–बिक्री गर्न पाइने विश्वको एउटा छुट्टै देश बनाइँदै छ । हाउजिङ र प्लटिङको जग्गा व्यवसाय धरासायी हुँदै गर्दा नेपाललाई जातीय र क्षेत्रीय नक्सामा कित्ताकाट गरिँदै छ । सामाजिक सद्भावलाई जुधाएर सिङ भाँचिएका भेंडाको रगतमा भन्कने झिँगाहरूले देशलाई कुरूप पार्दै गर्दा त्यसको विरोधमा मसाल र चिराग बाल्न छाडेर बिचरा स्वेच्छाले राजगद्दी त्याग्ने पूर्वराजाको स्वागतमा जनस्तरबाट बनेका गेट भत्काएर कुनै ठूलो राजनीतिक बहादुरी हुनेछैन है नेविसङ्घका भाइ हो ! जानिराख । र, अन्तिममा यो पनि जानिराख– पूर्वराजा ज्ञानेन्द्रको स्वागतद्वार भत्काउने ठेट्नाहरू नेविसङ्घ हुन सक्दैनन् । कथम् नेविसङ्घ भइहाले पनि प्रजातन्त्रवादी नेविसङ्घ हुन सक्दैनन् । उनीहरू विचारको नियोजनमा खटिएका विचारशून्य दस्ता मात्र हुनेछन् ।
प्रतिक्रिया