तराई : विद्रोह कि विकास ?

तराई : विद्रोह कि विकास ?


nisedhसन् २०११ म भारतको नयाँदिल्लीस्थित विवेकानन्द फाउन्डेशनले गरेको रिसेन्ट डेभलपमेन्ट इन नेपाल विषयक सेमिनारमा यो पङ्क्तिकारलाई तराईको राजनीतिबारे कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी दिएपछि तत्कालीन सभासद् तथा पूर्वमन्त्री अनीलकुमार झाले आश्चर्य व्यक्त गर्दै यहाँलाई किन तराईबारे बोल्न लगाइएको होला भनेर प्रश्न गर्नुभएको थियो । त्यतिबेला उहाँलाई दिएको जवाफसहितको प्रसङ्ग कोट्याउँदै आफ्नो प्रस्तुतिको सुरुवातमा भनेकी थिएँ– कार्यक्रमका लागि हामी आउँदै गर्दा माननीय अनील झाले मधेसबारे बोल्न तपार्इंलाई किन बोलाएको होला भनेर सोध्नुभो । फेरि उहाँ आफैँले जवाफ दिनुभो– शायद तपाईंले मधेसलाई माया गर्ने भएर होला । अनि मैले भने– हो, म मेरो देशलाई माया गर्छु र तराई पनि देशको एउटा हिस्सा हो । त्यतिबेला मैले आई लभ माई कन्ट्री एन्ड तराई अल्सो अ पार्ट अफ माई कन्ट्री भनेको कुरालाई लिएर सहभागीहरूले एकदम राम्रो भनी टिप्पणी पनि गर्नुभएको थियो । हामीकहाँ जबजब तराईको कुरा आउँछ, सधैँ एकतर्फी भएर आउँछ मानौं तराई भनेको केही क्षेत्र, जाति र समुदायको मात्रै ठेक्काको विषय हो । तराई, पहाड, हिमाल सबै नेपालीको बराबरी हो भन्ने सोचको विकास गर्नका लागि पहल गर्नु त कता हो कता नेताहरू पनि यसलाई झन्झन् खुम्च्याउन लागिपरेका छन् । किनभने यो सोचलाई फैलाउनुमा भन्दा खुम्च्याउनुमा उहाँहरूलाई फाइदा छ । मुलुकमा पुन: संविधानसभाको चुनाव घोषणा भएपछि तराईलाई फेरि एकपल्ट भोटबैंकका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर होडबाजी सुरु भएको छ । मधेसका नाममा राजनीति गर्नेहरूले त गर्ने नै भए अरूले पनि तराईलाई राजनीतिका लागि आकर्षक स्थानका रूपमा लिन मात्र थालेका छैनन् यसलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर अनेकौँ कोणबाट यसको थालनी गरिसकेका छन् । नेकपा एमाओवादीका अध्यक्ष प्रचण्डले केही दिनअघि मात्रै आफ्नो पार्टीको ध्यान मधेसतिर आकर्षित भएको बताउनुभएको छ । मधेसी जनताको मुक्ति चाहने एक मात्र राजनीतिक दल एमाओवादी भएको ठहर पनि उहाँले भाषणमार्फत गर्नुभएको छ । आफूहरू शान्तिप्रक्रियामा आएपछि र सत्तामा हुँदासम्म आकर्षित नभएको ध्यान अहिले एकाएक किन भयो ? यसको सीधा जवाफ छ– चुनाव आउँदै छ र खाद्यान्नका लागि मात्र नभएर भोटका लागि पनि मधेस उर्वर भूमि हो ।
मधेसी दलहरू र एनेकपा माओवादीबीच विगतमा गठबन्धन भई सरकार बन्नुलाई अनौठो मानिएको थियो । मधेसी र माओवादीबीच गठबन्धन हुनका लागि यी दुईबीचको सोच, सिद्धान्त र व्यवहार केही पनि एक–अर्कामा मेल खाँदैन । त्यसो त प्राध्यापक देवराज दाहालले भन्नुभएझैँ आइडियोलोजीभन्दा बायोलोजीले प्रश्रय पाउँदै गएको नेपालको राजनीतिमा जे पनि जायज हुन सक्छ । राजनीतिकर्मीसमेतको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक दाहालले भन्नुभएको थियो, ‘नेपालको राजनीतिमा आइडियोलोजीभन्दा बायोलोजी हावी हुन थालेको छ ।’ हुन पनि स–सानो कुरामा पनि कुटपिट, फाइट, हातहतियारको प्रयोगलगायतका शारीरिक क्रियाकलापअघि सिद्धान्तको कुरा अहिलेको राजनीतिमा गौण बन्दै गएको छ । माओवादी धर्म मान्दैन, धर्म नमान्ने मात्र होइन हिन्दूधर्म संस्कृतिलाई कसरी निमिट्यान्न पार्न सकिन्छ भन्ने ध्याउन्नमा माओवादी लागेको छ, यता मधेसीहरू हिन्दूधर्म संस्कृतिलाई अगाध माया र सम्मान गर्छन । पूर्वराजाले तराईका विभिन्न भागहरूमा अहिले पाइरहेको स्वागत, सत्कार र सम्मान पनि सोही हिन्दूधर्मप्रतिको लगाव नै हो । पूर्वराजाले हिन्दूधर्म–संस्कृतिको संरक्षण गर्छन् भन्ने छाप उनीहरूमा छ । त्यही धर्म–परम्पराले नै उनीहरूले पूर्वराजामा आफ्नोपनको महसुस गरेका छन् । मुलुकलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाइएपछि यो मुलुकमा सात हजारभन्दा बढीको सङ्ख्यामा चर्चहरू खुले, तर पहाडमा जस्तो तराईमा छ्यापछ्याप्ती हुन सकेका छैनन् । तराईमा चर्चको सङ्ख्या तुलनात्मक रूपमा बढ्न नसक्नुको कारण तराईवासीको हिन्दूधर्मप्रतिको अगाध आस्था नै हो । धर्मसमेत पैसामा बिक्री भइरहेको यो जमानामा तराईवासीले भने आफ्नो धर्म–संस्कृतिमा अलिकति पनि ह्रास आउन दिएका छैनन् । माओवादी र मधेसी (जनता होइन नेता) हरूबीच मेल खाएको कुरा भनेको नेपाली राष्ट्रिय सेना र अदालतलाई कमजोर बनाउने सोच हो जुन कुरा सेनामा अहिलेसम्म असर पार्न नसके पनि अदालतबाट भने यसको सुरुवात भइसकेको छ । मधेसमा वर्चश्व जनाएका नेताको छवि धमिल्याउनदेखि राजनीतिक मुद्दामा अदालतलाई आफ्नो पक्षमा पार्नसमेतमा यी दुवै सोच राख्ने दलहरू सफल भइसकेका छन्, भइरहेका छन् । नेता जयप्रकाशप्रसाद गुप्तालाई काराबास पठाउने कुरालाई एउटा उदाहरणको रूपमा लिन सकिन्छ । के अरू केही मधेसी नेताहरूभन्दा जयप्रकाशले बढी सम्पत्ति कमाएका थिए ? भ्रष्टाचारका अनेक काण्डमा पटकपटक नाम आएका अन्य नेताहरूलाई अख्तियारमा किन मुद्दा पर्दैन ? किनभने यो सबै योजनाबद्ध ढङ्गले गरिएको थियो ।
मधेसको समस्या राजनीतिको होइन, विकासको हो । मधेसका समस्या भनेर रट्दारट्दा मानौँ मधेस आफँैमा समस्याझैँ गरी प्रस्तुत गर्ने गरिएको छ । तर, मधेस आफँैमा समस्या होइन, अन्य स्थानमा जस्तै बेरोजगारी, गरिबी र भ्रष्टाचारको समस्या हो । बाटोका लागि वर्षौंदेखि राज्यको पैसा विनियोजन भइरहेको छ, बाटो बनेको छैन । छोराछोरीलाई राम्रो लगानी गरेर बाबुआमाले पढाउँछन्, पढाइ सकिएपछि जागिर छैन । पहाडमा जस्तै बढ्दो बेरोजगारीले तराईका युवालाई निराश बनाएको छ । युवामा छाएको त्यही निराशालाई अनेक नाममा नेताहरूले प्रयोग गरिरहेका छन् । पहाडमा भन्दा तराईमा विकास गर्न सजिलो छ, गाउँगाउँमा बाटो पुगेको छ, बिजुली छ, स्कुल–कलेज छन् । विकासका पूर्वाधार मानिने यी कुरा भएपछि अब केवल साँच्चीकै विकास गर्छु भनेर लाग्ने प्रतिबद्धता र नेतृत्वको खाँचो छ । ठाउँठाउँमा साना–ठूला उद्योग स्थापना गर्न पाए महिनाको १० वा १५ हजारका लागि युवा विदेशिनुपर्ने थिएन । वर्षौंसम्म परिवारबाट अलग भएर अर्काको भूमिमा जोतिनुपर्ने थिएन । कतिपय मानिस भन्छन्– मधेसको समस्या एटिच्युडको समस्या पनि हो । यदि हो नै भने पनि एटिच्युड सुधार गर्ने मौका नै उनीहरूले कहिले पाए ? नगरपालिकाहरूमा भारी बजेट छ तर ती साना सहरहरूको हालत नालीमा परिणत भइरहेको छ । राज्यले छुट्याएको बजेटमा जनस्तरबाटै केही गराऊँ भन्ने नेतृत्व नै त्यहाँका जनताले कहिले पाए ? त्यसैले मधेसमा विद्रोह होइन विकास गर्ने नेतृत्व चाहिएको छ । विकास एकजनाले मात्रै गरेर हुने कुरा होइन तर निस्वार्थ भावनाले यसको सुरुवात गरे हुन नसक्ने पनि केही छैन ।