एक सचिवको भरमा पूरै गाउँपालिका

एक सचिवको भरमा पूरै गाउँपालिका


एउटा वडासचिवले कतिवटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला ? एक, दुई, तीन, चार.. ! तर, जाजरकोटको कुशे गाउँपालिकाका एक वडासचिवले एक वर्षदेखि नौ वटा वडाको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आएका छन् । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । तर नौ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ र ! उनले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर नौवटै वडाको जिम्मेवारी सम्हालिरहेका छन् ।

स्थानीय सरकार सञ्चालन कार्य्विधि २०७४ मा वडा सचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडा सचिवको हस्ताक्षरविना जन्मदर्ता, मृत्युदर्ता र बसाइँसराइको काजगात बन्न सक्दैन । तर वडा सचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्चिकरणको काम भने रोकिएको छैन । वडा सचिव खनालले नागरिकतालगायतका सिफारिशमा सदरमुकामबाट अग्रिम (ब्ल्यांक) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिश पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए ।

उनले बारम्बार माग गर्दा पनि सरकारले वडा सचिव नपठाउँदा समःया भएको बताए । ‘के गर्ने काम चलाउनै प¥यो । सचिव एक जनामात्र छन् । गाउँमा बसे पनि कुन वडामा गएर काम गर भन्ने । भौगोलिक विकटताले एक वडाबाट अर्को वडा पुग्न एक दिन पैदल हिँड्नुको विकल्प छैन । साह्रै समस्या भएपछि यस्तो उपाय निकालेका हौँ’, उनले भने । सेवाग्राहीलाई दुःख दिनुभन्दा केही समय यसरी चलाऔँ भनेर जनताको काममा बाधा नपुग्ने गरी सदरमुकामबाटै काम गरिरहेको उनले बताए ।

वडा सचिवमात्र होइन कार्यकारी प्रमुख र गाउँपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् । राससका अनुसार सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको यो गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारसमेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन् ।