– वीरेन्द्रमणि पौडेल
सबै कुरा नासिने बेला भएर हो कि कुन्नि हिजोआज यो देशमा चाहिने र नबोली नहुने कुरामा समेत मान्छे बोल्न छाडे । घाँटीबाट आवाजै ननिस्किनेहरू त बोल्नै सक्दैनन् कुरै सकियो । जसको मुखबाट आवाज निस्किन्छ र त्यो आवाज निकाल्दा कसैको ज्यानै बाँच्छ भने पनि बोल्दैनन् । बोल्दै बोल्दैनन् । अस्ति भर्खरै सिन्धुपाल्चोक जिल्लामा एउटा गाडी भीरबाट गुल्टियो । गाडी आफैँ भीरबाट गुल्टिएको होइन । ड्राइभरले जानीजानी भीरबाट गुल्ट्याएर आफ्नो मात्रै ज्यान जोगाउने उद्देश्यले भागे । अर्थात् उनले गाडी गुल्ट्याएर थुप्रै मान्छे मारे । मर्नेभन्दा बढी घाइते भए । बिनाकारण ती ड्राइभरले गाडी भीरबाट तल फ्याँकेका थिएनन् । कारण एउटी युवती थिइन् । ड्राइभरले मन थाम्न नसकेर ती युवतीलाई कर्केनजरले हेरे । युवतीलाई सम्बोधन गरेर केही शब्द पनि मुखबाट फुत्काए ।
आफ्नो अभिभावक पनि साथैमा भएकाले होला ती नानीले मस्किएर स्वागत गर्लिन् भन्ने ड्राइभरको आशामाथि पानी खन्याउँदै तिनी च्याँठ्ठिइन् । तिनको आवाज र विरोधको स्वर सुनेर उनका अभिभावक र गाडीका अन्य यात्रुहरू ड्राइभरमाथि खनिए । कुट्न मात्रै बाँकी राखेर मुखमा आएजति सबै गालीका शब्दहरूले ड्राइभरलाई नुहाइदिए । गालीका शब्दको असरले तिल्मिलाएका ड्राइभरको रिसको पारो चढ्यो र उनले गाडी खसालिदिए । घटना दु:खद् हो । असामान्य क्षति भयो । तर, यो क्षतिमा कोही दु:खी भएजस्ता देखिएनन् । घटनाबारे खबर आयो पत्रपत्रिका, रेडियो र टेलिभिजनमा तर अरू कोही बोलेनन् । ‘ड्राइभरको सामान्य भनाइमा गाडीका सबै यात्रु मिलेर एक्लो व्यक्तिलाई ङ्याक्ने काम अबदेखि नगरौँ’, ‘गाडीको ड्राइभरलाई बिच्क्याउने काम नगरौँ’ कसैले बोलेनन् । यति मात्रै होइन । ड्राइभरलाई सम्बोधन गरेर पनि कसैले सल्लाह र सुझाव दिएनन् । ‘ड्राइभर तिम्रो जिम्मामा आफ्नो जीवन अर्पेर थुप्रै निर्दोष यात्रु गन्तव्य सम्झेर सिटमा बसेका हुन्छन् । कुनै यात्रुले जानेर वा नजानेर मुख चलाए पनि तिमी रिसाउनुहुन्न । सबै यात्रुलाई गन्तव्यमा इमानदारीपूर्वक तिमीले पु-याउनुपर्छ’ यस्ता वचनले कोही बोलेनन् । जानी–जानी त्यत्रा यात्रुलाई मृत्युको मुखमा धकेल्ने ड्राइभरलाई कडा कानुनी कारबाही गर्नुपर्छ । यो पनि कसैले भनेनन् । भन्दै भनेनन् । ड्राइभर भाग्यो । मर्ने मरे । सानै निहुँमा अब त्यस्तैगरी गाडी गुल्ट्याएर अर्को ड्राइभर भाग्न सक्छ । फेरि त्यही पाराले निर्दोष मान्छे मारिनेछन् । सबैले समाचार पढ्ने छन्, सुन्ने छन् र हेर्ने छन् तर कोही बोल्ने छैनन् । फिटिक्कै कोही बोल्ने छैनन् । किनकि यो अपवादलाई छाडेर जिउँदा मुर्दाहरूको बस्ती हो ।
चितवन र मकवानपुर जिल्लाका कहिलेकाहीँ मात्रै अन्नको मुख देख्न पाउने चेपाङ भन्ने गरिएका केही नेपाली मान्छे एक वर्षअघि जङ्गली विषालु च्याउ खाएर मरे । हुनेखाने, धनी, पहुँचवाला, उच्च ओहोदाका, मन्त्री, प्रधानमन्त्रीलगायत आफू पेटभरि खाएर बढी भएको खानेकुरा फ्याँक्नेहरू सबैले चेपाङ मरेको हेरे । तिनका
लास हेरे । तर कोही बोलेनन् । ‘ए चेपाङ हो ! अबदेखि जङ्गली च्याउ नखाओ । खान नपाउने अवस्था भए हेटौँडा बजार जाओ या चितवनको भरतपुर आओ । शहरमा हामीले खाएर बढी भएको अन्न तिमीहरूलाई दिन्छौँ । तिमीहरू पनि बाँच्नुपर्छ । तिमीहरू बाँच्दा हामीलाई केही घाटा छैन,’ यसरी कोही बोलेनन् । मर्ने चेपाङहरू मरे । बाँच्नेहरू मौनधारण गरेर बसिरहेका छन् । जङ्गली च्याउ खान हुँदैन भन्ने सन्देश सरकारले रेडियोबाट चेपाङसम्म पु-याउन सक्थ्यो । सरकारले त्यसो गरेन । अरू पनि थुप्रै निकाय छन् । तिनले पनि केही बोलेनन् गरेनन् । अब फेरि कुनै दिन चेपाङले विषालु च्याउ खानेछन् । फेरि त्यसरी नै मर्नेछन् । त्यतिबेला पनि कोही बोल्ने छैनन् । भन्ने छैनन्– ‘ए दु:खी चेपाङहरू, च्याउ नखाऊ, हामी अन्न दिन्छौँ ।’
केही दिनअघि मात्रै तराईको एक जिल्लामा एक पूर्वसभासद्लाई उनकै श्रीमती र छोरी मिलेर भाडाका हत्यारा प्रयोग गरी ज्यान लिएको समाचार विश्वमानवको कानमा पुग्यो । कारण ठूलो थिएन । छोरी एक युवकसँग बिहे गर्न चाहन्थिन् । बाबु मानेनन् । यो कारणबाट छोरी बाबुसँग रिसाएकी थिइन् भने श्रीमतीचाहिँ लगातारको घरझगडाबाट आगो भएकी थिइन् । दुवैका काँडा बनेका पूर्वसभासद्लाई यत्ति नै
कारणबाट ती दुई आमाछोरीको मिलेमतोमा बुबा/श्रीमान्को भाडाका हत्यारा प्रयोग गरी हत्या गरियो । नेपाल प्रहरीले बडो मुस्किलले यी आमाछोरी हत्यारा भएको पत्ता लगायो । असाध्यै मन दुख्ने खालको यो अपराधबारे सबैले थाहा पाए तर कोही बोलेन । कुनै केटा मन पर्दा र बाबुआमाले केटा अस्वीकार गर्दा बाबुको हत्या नै गर्न पर्दैन । ‘अबउप्रान्त कुनै केटीले यस्तो अपराध नगरून्’ कसैले भनेनन् । कोही बोलेनन् । लोग्नेसँग कुरा नमिल्ने स्वास्नीको सङ्ख्या नेपालमा मात्रै होइन संसारभरि छन् । मन र कुरा नमिले डिभोर्स गर्दा पनि हुन्छ । लोग्ने मार्न हत्यारा खोज्न पर्दैन । यो पनि कसैले भनेन यो नेपालमा । यस्तो वचन कसैले बोलेको भए शायद आउने दिनमा अपराधका घटनामा कमी आउँथ्यो होला । यी घटना अलि अविकसित जिल्ला र ठाउँहरूमा भएका हुन् । यस्ता मुटुमै चसक्क बिझ्ने खालका थुप्रैथुप्रै घटना भइरहेका छन् तर कोही बोलेका छैनन् । विकट र अति विकट अनि अविकसित जिल्लामा भएका यस्ता घटनामा मान्छे नबोल्नुमा ती ठाउँका मान्छेहरूको चेतनास्तरलाई प्रश्न तेस्र्याउन सकिएला । लौ भैगो । अविकसित ठाउँका मान्छेहरू बोलेनन्, बोल्न जानेनन्, विकसित कहलिएका ठाउँका मान्छेले बोलिदिएनन् । यतिसम्म चित्त बुझाउन करैले सकिएला । तर हरेक कोणबाट विकसित मानिएको ठाउँका मान्छेहरूचाहिँ चरम अन्याय र अत्याचारको विरुद्धमा किन बोल्दैनन् ? कुरा एउटा अस्पतालसँग सम्बन्धित छ । भौतिक विकासको चरम उपभोग गरिरहेका मान्छेहरू बस्ने थलो भरतपुर चौबीसकोठीमा रहेको ‘चितवन अस्पताल प्रा.लि.को गैरन्यायिक क्रियाकलाप’सँग सम्बन्धित छ ।
चितवन अस्पताल प्रा.लि. चौबीसकोठीको मुख्यचोकमै छ । सडकमै जोडिएको छ । दुनियाँमा कहीँकतै होहल्ला र चर्को आवाजको नजिक अस्पताल निर्माण गरिँदैन र निर्माणका लागि अनुमति दिइँदैन तर कसले दियो यो अस्पताल चलाउन थाहा छैन । चोकमै छ बाटोसँग जोडिएको अस्पताल । एकातिर बिहानदेखि रातिसम्म लगातार हजारौँको सङ्ख्यामा चर्को हर्न बजाउँदै गाडी गुड्छन् भने अर्कोतिर त्यो होहल्ला र कोलाहलवाला आवाज सुन्न बाध्य छन् त्यहाँभित्र भर्ना भई जीवन बाँच्ने आशामा बसेका बिरामी र तिनका आफन्त । यो समस्या यस भेगका गन्यमान्य सबैलाई थाहा छ तर कोही बोल्दैन । भर्ना भई बसेका खासगरी मुटुरोगका बिरामी मृत्युको मुखमा परेको देख्दादेख्दै कोही बोल्दैनन्, बोलेका छैनन् । मुटुरोगका केही बिरामी यही अस्पतालको शøयाबाट परलोक गएको भनाइ यत्रतत्र सुनिन्छ । अस्पताल दुर्गन्धित छ । अस्पतालको दुर्गन्ध चौबीसकोठीबाट पार हुने जोकोही मानिसको नाकैमा ठोक्किन्छ । नाक थुनेर हिँड्छन् तर तिनीहरू पनि बोल्दैनन् र भन्दैनन्, ‘ए, यो अस्पताल यहाँ नराख अन्त कतै सार ।’ भन्नेहरू भन्छन्, ‘अचाक्ली महङ्गो छ तर, उपचारचाहिँ ठीकठीकै छ ।’ उपचार ठीकठीकै भएर के गर्नु स्वस्थ मान्छे नै बिरामी बनाउन जब कारण बन्छ भने यो अस्पताल स्वस्थ मानिसलाई अप्ठ्यारोमा नपार्ने स्थानमा सार किन नभन्ने ? तर कोही बोल्दैन, अँ हँ बोल्दै बोल्दैनन् । तमाम नेपाली जनताको माग छ ‘स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराऊ ।’ सरकारले मानेन । व्यापारमुखी नीति लागू गर्दै निजी अस्पताल सञ्चालन गर्न अनुमति दियो । नगर्नु थियो सरकारले गलत ग-यो । तर, सरकारले गलत ग-यो भन्दैमा अस्पताल सञ्चालनै गर्न नमिल्ने ठाउँमा कसरी सञ्चालन गरियो ? नेपालमा यतिबेला थुप्रै निजी अस्पताल र स्वास्थ्यकेन्द्र छन् तर कम्तीमा बाटो हिँड्ने मानिस नाक थुनेर हिँड्न पर्ने अवस्थामा छैनन् । चितवन अस्पताल प्रा.लि.ले चाहिँ जनतालाई सीधै दु:ख दियो । तर, कोही बोल्दैन । न सरकार, न राजनीतिक दल, न त नागरिक समाजका कोही र कुनै बोल्छ । ‘अस्पताल चलाऊ, धन बटुल, तिमीहरूलाई धन बटुल्न अनुमति छ तर अस्पताल हजारौँ सवारीसाधन चल्ने र लाखौँ मानिस हिँड्ने ठाउँमा होइन, अन्यत्रै शान्त ठाउँमा सार ।’ यत्ति शब्द कोही बोल्दैनन् ।
नेपाली जनतालाई सीधा वा घुमाएर अत्याचार गरिएका केही उदाहरण यहाँ प्रस्तुत गरियो । उदाहरण खोज्ने हो भने हजारौँ पुग्न सक्छन् तर अचम्मको विषयचाहिँ यही भएको छ कि यतिबिघ्न अन्याय र अत्याचार हुन्छन् । प्रत्येक मिनेटमिनेटमा अत्याचार हुन्छन् तर बोल्न सक्नेहरू बोल्दैनन् । बोलीमा तागत हुन्छ । बोलीको तागतले सम्भावित अपराध रोक्न सकिन्छ । बोलीकै भरमा अपराधरहित समाज निर्माण गर्न सकिन्छ । त्यसैले शान्त र अपराधरहित समाज निर्माणका खातिर आजसम्म नबोली बस्नेहरूलाई भन्नै परेको छ, ए आफूलाई जिम्मेवार भनी दावा गर्नेहरू हो † सबैका सबैले बोल्ने आँट गरेनौ, ठीकै छ नामर्दीपनबाट मुक्त भएर अत्याचारविरुद्ध कोही त बोल । संसारमा बोल्ने प्राणी मान्छे मात्रै हो । आफूले आफूलाई त्यही बोल्ने मान्छे ठान्छौ भने बोल, अत्याचारविरुद्ध आजैदेखि बोल ।
प्रतिक्रिया