उपत्यकामा भारी वर्षा, अझै तीन दिन देशभर वर्षा हुने

उपत्यकामा भारी वर्षा, अझै तीन दिन देशभर वर्षा हुने


आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी गरी देशभर हल्कादेखि मध्यमखालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना पनि औँल्याएको हो ।

आज बिहबिार देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यमखालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी भोलि असार २९ गते (शुक्रबार) देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बदली रही हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको र सोही दिन दिउँसो र राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि बताइएको छ ।

असार ३० गते (शनिबार) पनि देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार अबको तीन दिन देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहनुपर्नेछ ।

बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौंमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौंमा १७७ मिलिमिटर वर्षा भएको थियो । भक्तपुरमा धेरै वर्षा भए पनि महाशाखाले उपत्यकामा काठमाडौंको मात्र वर्षा रेकर्ड राख्ने गरेको छ ।

बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौंका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जनानगरलगायतका स्थानमा डुबान भएको छ । आज ताप्लेजुङमा ३६, ओखलडुंगामा २६.२, सिमरामा २८, भैरहवामा १३, दाङमा १२, नेपालगञ्जमा १० र वीरेन्द्रनगरमा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको अधिकतम ताफक्रम ३०.२ र न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस रहेको छ ।