नक्कली राजीनामा ?!

नक्कली राजीनामा ?!


nisedhत्याग भन्ने कुरा हुनेले नै गर्ने हो, आफूसँग केही नहुनेले त्याग गर्छु भनेर पनि गर्न पाइँदैन । आफूसँग खासै केही नहुनेहरू पनि त्यागको कुरा गर्छन् त्यो अलग कुरा हो तर वास्तविकता त के हो भने जब तपाईंसँग केही छैन तपार्इंले चाहेर पनि त्याग गर्न सक्नुहुन्न । त्यसोत मानसिक र बौद्धिक त्यागको छुट्टै अर्थ हुन सक्छ, जसको ‘काउन्ट’ हामीकहाँ गर्ने गरिएको छैन । बौद्धिक सम्पत्तिलाई सम्पत्ति या धनका रूपमा मान्ने प्रचलन हामीकहाँ स्थापित नभइसके पनि कुनै ‘उच्च पद’लाई भने सम्पत्तिकै हाराहारीमा या कहिलेकाहीँ त्योभन्दा माथि पनि लिने गरिएको छ । भगवान् गौतम बुद्धको त्यागलाई ठूलो त्यागका रूपमा लिने गरिएको छ । गौतम बुद्ध घर छोडेर जङ्गलमा तपस्या गरी बसेका कारण उनी महान् या त्यागी भनेर चिनिएका होइनन् । परापूर्वकालदेखि त्यस्ता कैयाँै ऋषिमुनीहरू थिए जसले घरपरिवार त्यागेर जङ्गलमा तपस्या गरे तर उनीहरूको नाम गौतम बुद्धको हाराहारीमा आउँदैन, आए पनि फरक रूपमा आउँछ । गौतम बुद्धको त्यागको चर्चा हुनुमा उनीसँग भएको हैसियत महत्वपूर्ण थियो । उनी कुनै सर्वसाधारण व्यक्ति थिएनन्, राजाको छोरा राजकुमार थिए । उनीसँग घरपरिवार या निजी सम्पत्ति मात्र नभएर सारा राज्य थियो । राज्यसमेत त्याग गरेर तपस्यामा लीन भएकै कारणले उनको त्याग अमर बन्न पुग्यो । त्याग भन्ने कुरा मुखले भन्ने मात्रै नभएर गर्ने कुरा हो, सिद्धार्थ गौतमसँग राज्य थियो त्याग गरे र अन्तत: गौतम बुद्ध बने । अहिले एनेकपा माओवादी नेता डा. बाबुराम भट्टराईको राजीनामाको चर्चा शिखरमा छ । त्याग गर्नलाई केही न केही हुनैपथ्र्यो, उहाँसँग उपाध्यक्षको पद थियो गर्नु भो । पद नभईकन बौद्धिकता मात्रै भएको भए छोडिहाल्नका लागि उहाँसँग केही हुने थिएन न त त्यसले चर्चा नै पाउने थियो । जनार्दन आचार्यजस्तो बौद्धिक व्यक्तित्व पछिल्लो चरणमा माओवादी प्रवेश गरेर चुपचाप बस्नुभएको छ । आफूसँग अथाह ज्ञानको भण्डार हुँदाहुँदै पनि उहाँसँग त्यागका लागि खासै केही नदेखिन सक्छ । उहाँको बौद्धिकतासँग परिचितहरूका लागि उहाँजस्तो व्यक्तित्व माओवादीमा जानु नै आफैँमा त्याग हो तर यस्तो कुरा यहाँ कसले बुझ्छ र ? आफ्नो पार्टीमा कस्तो मान्छे छ भन्ने कुरा पनि सम्बन्धित पक्षलाई थाहा नहुन सक्छ । खैर, जे भए पनि डा. भट्टराईको त्यागको चर्चा अहिले उहाँले पीएचडी गर्नुभएका कारणले या बौद्धिक भनेर चिनिनुभएका कारणले नभएर पदका कारणले भएको हो । जसलाई अहिले अनेक दृष्टिकोणबाट व्याख्या र विश्लेषण गर्न थालिएको छ ।
डा. बाबुराम भट्टराईको राजीनामाको कारण आन्तरिक रूपमा जे भए पनि यसलाई आमजनताले भने सकारात्मक रूपमा लिएको देखिन्छ । मानिसहरूबीच हुने चर्चा–परिचर्चा, सामाजिक सञ्जाल, मिडियामा आएका प्रतिक्रिया यसो भन्न सक्ने आधारहरू हुन् । उहाँको राजीनामाको हल्ला बाहिर आउनासाथ धेरैको मुखबाट निस्किएको थियो, ‘राम्रो भयो ।’ यस्तो प्रतिक्रियाका पछाडि विगत केही वर्षदेखि नेताहरूले राजनीतिमा उस्तैउस्तै भूमिका निर्वाह गरेका कारण अब नयाँ पुस्ता आए फरक पर्छ कि भन्ने अपेक्षा हुन सक्छ । बाबुरामले राजीनामा दिनुको अर्थ अब अरू दल र उहाँको आफ्नै पार्टीमा पनि यसको फरक असर पर्न सक्ने अनुमान गरिएको छ । तर, यो राजीनामा साँच्चीकै हो या नक्कली ? भन्ने प्रश्न पनि आमजनमानसमा छ । कतिपय व्यक्तित्वहरू यस्ता हुन्छन्, जसलाई पद हुनु र नहुनुले खासै फरक पार्दैन । कतिपयचाहिँ यस्ता हुन्छन् पद नहुनासाथ नामनिसाना नै हराउँछ । पद त मानिसले यो मुलुकमा धेरैले पाए तर हामी कतिलाई सम्झन्छौँ ? त्यसैले पदका कारण परिचित हुनु र आफ्नै व्यक्तित्वका कारणले परिचित हुनुबीच ठूलो अन्तर छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा कुनै बेला यो मुलुकका शिक्षामन्त्री पनि थिए भन्ने कुरा धेरै कमलाई थाहा छ । उनी पदका कारण चर्चित या परिचित भएका होइनन् । जहाँसम्म बाबुराम भट्टराईको कुरा छ, नामकै लागि या चर्चाकै लागि उहाँले पद लिइरहनु आवश्यक छैन, देखिँदैन । राजनीतिबाहेक पनि उहाँले गर्न सक्ने अरू धेरै क्षेत्र छन् । एउटा ‘स्कलर’का रूपमा उहाँले यो मुलुकलाई फरक तरिकाले योगदान दिन सक्नुहुन्छ । यही कुरा यस पङ्क्तिकारले गत शनिबार साँझ एउटा पार्टीमा भेटेको बेला उहाँकी पत्नी तथा एमाओवादी नेतृ हिसिला यमीसँग राख्दा उहाँले भने यसलाई त्यति सकारात्मक रूपमा लिनुभएन । उहाँले भन्नुभएको थियो, ‘त्यसो भए उहाँजस्तो मान्छेले राजीनामा दिएर यो लथालिङ्ग राजनीतिक अवस्थाको अन्त्यचाहिँ कसरी हुन्छ नि ?’ सोही पार्टीमा यो पङ्क्तिकारसँग छोरी मानुषीको भनाइ थियो, ‘पार्टीभित्र जसले पनि पद खोज्ने कुराले बालाई दिक्क बनाएको छ ।’ मानुषी युवाहरूले राजनीतिमा चासो राख्नुपर्छ भन्ने मान्यता राख्छिन् ।
०६२/६३ को आन्दोलनताका बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले खुला राजनीतिमा आएपछि हामी लाभको पद लिने छैनौँ भनेर घोषणा गर्नुभएको थियो । पदीय जिम्मेवारीबाट मुक्त भएर देश, प्रजातन्त्र र जनताको सेवा गर्नेछौँ भन्ने उहाँको भनाइ सुन्दा नेपाली जनताले एउटा महान् राजनेता प्राप्त गर्ने भए भन्ने धेरैलाई लागेको थियो । प्रचण्ड र बाबुराम दुवै नेता आलोपालो प्रधानमन्त्री बनिसकेपछि बाबुरामले अहिले पार्टी उपाध्यक्षबाट राजीनामा दिनुभएको छ । यो राजीनामा राजीनामा हो कि घुर्की ? मानिसले ठम्याउन सकिरहेका छैनन् । कुरालाई सकारात्मकभन्दा नकारात्मक रूपमा लिने संस्कार बसिसकेकाले उपाध्यक्ष पद त्यागिएको अध्यक्ष हुनका लागि हो कि ? भनेर शङ्का गर्नेहरूको पनि कमी छैन । यदि राजीनामा नक्कली नभएर सक्कली या मनैबाट गरिएको हो भने यसलाई नेपालको राजनीतिमा फरक मान्छेहरू पनि छन् है भनेर उदाहरणको रूपमा लिन सकिन्छ । त्यसो त प्रधानमन्त्री हुनुअघि र पछिको डा. बाबुराम भट्टराईको छविमा धेरै फरक आइसकेको छ । यदि उहाँ प्रधानमन्त्री नबन्नुभएको भए जनतामा ‘बाबुरामले भए केही गर्थे’ भन्ने भ्रम रहिनै रहने थियो । आफ्नो छवि जोगाउनकै लागि पनि पदबाट मुक्त हुनुपर्ने परिस्थिति बनिरहेको बेला पदबाहिरै बसेर आफूसम्बद्ध दल र मुलुकमा सुधार ल्याउन सक्ने सम्भावना प्रसस्त छन् । जब मान्छेले आफ्नोबारेमा सोच्न छोड्छ अनि मात्रै अरूका बारेमा केही गर्न सक्छ । भनाइ नै छ, जसले ब्रह्माण्डका बारेमा सोच्छ उसले पृथ्वीको बारेमा सोच्दैन, जसले पृथ्वीका बारेमा सोच्छ उसले देशको बारेमा सोच्दैन, जसले देशको बारेमा सोच्छ उसले क्षेत्र या जिल्लाको बारेमा सोच्दैन, जसले जिल्लाको बारेमा सोच्छ उसले आफ्नो गाउँ या शहरका बारेमा सोच्दैन, जसले आफ्नो गाउँ या शहरका बारेमा सोच्छ उसले परिवारका बारेमा सोच्दैन, जसले परिवारका बारेमा सोच्छ उसले आफ्नोबारेमा सोच्दैन, जसले आफ्नो बारेमा सोच्छ उसले कसैका बारेमा पनि सोच्दैन । त्यसैले डा. भट्टराईको सन्दर्भमा पनि पदबाट मुक्त भएर सबैका बारेमा सोच्नु नै उपयुक्त हुन्छ जस्तो लाग्छ ।