लासको व्यवस्थापन

लासको व्यवस्थापन


nisedhगत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरूका सम्बन्धमा सुरक्षाकर्मीहरूसँग गरिएको छलफल र अभिमुखीकरण कार्यक्रममा एयरपोर्ट सुरक्षाका प्रमुख डीआईजी विज्ञानराज शर्माले एयरपोर्टमा ‘लास चिस्यान गृह’को तत्काल आवश्यकता भएको कुरा बताउनुभएको थियो । वैदेशिक रोजगारीका अनेकौँ पाटामध्ये वैदेशिक रोजगारीमा गएकाहरूले चुकाउनुपरेको जिन्दगीको मूल्य अत्यन्त पीडादायी वास्तविकता हो । नेपालको एयरपोर्टमा सरदर दिनको चारवटा लास भित्रिने गरेका छन् । ती लास राख्नका लागि एयरपोर्टमा चिस्यान गृह नहुँदा निकै अप्ठ्यारो पर्ने गरेको छ । आफन्तलाई लास नबुझाउन्जेलसम्म राख्नका लागि एयरपोर्टमा ठाउँ नहुँदा अहिले अस्पतालहरूमा लासहरू पठाउने गरिएको छ । वैदेशिक रोजगारीको कुरा गर्दा हामीकहाँ मुलुकमा भित्रिने रेमिट्यान्सको मात्रै बढी चर्चा हुने गरेको छ । तर, उक्त रेमिट्यान्सका लागि नेपाली युवा र तिनका परिवारले चुकाएको सामाजिक तथा पारिवारिक मूल्यको भने कमै मात्रामा चर्चा–परिचर्चा हुने गरेको छ । दुई–चार पैसा कमाएर बुढेसकालमा छोराले सुख देला भन्ने आश गरेका बाबुआमालाई एकैपल्ट छोराको मृत्युको खबरले आहत बनाउने त छँदै छ, कहिले लास आउला र सद्गद् गरौँला भनेर महिनौँ कुर्नुपर्ने अवस्था पनि छ । कुर्दाकुर्दा लामो समयसम्म लास आउन नसकेर बल्लबल्ल आउँदा कम्तीमा लास त आयो भनेर खुसी हुनुपर्ने परिस्थिति पनि बन्ने गरेको छ । विभिन्न मुलुकमा कामका लागि गएका नेपाली युवाको मृत्यु जति सहज रूपमा हुने गरेको छ, तिनको लास ल्याउने प्रक्रिया त्यति नै जटिल छ । सहज मृत्यु भन्नुको कारण के हो भने धेरैजसो युवाको मृत्यु खाडी मुलुकमा हुने गरेको छ र प्रायः सुतिरहेका ठाउँमै उनीहरूको ज्यान गएको रिपोर्ट आफन्तलाई प्राप्त हुने गरेको छ । जसलाई ‘नेचुरल डेथ’ भन्ने गरिएको छ । दिनभरि ४८ डिग्रीको घाममा काम गर्ने र राति चिसो एसीमा सुत्दा चिसो र तातोको संयोजन नमिल्दा धेरैको ज्यान जाने गरेको अनुमान गरिएको छ । महिलाको सन्दर्भमा प्रायः घरेलु कामदारको मृत्यु हुने गरेको छ । जसमा तिनलाई दिइने मानसिक तथा शारीरिक यातना नै प्रमुख हुने गरेका छन् ।
जहाँ जो जसरी मरे पनि मृत्युपछि लास ल्याउने प्रक्रिया निकै सकसपूर्ण र जटिल भएकाले समयमै आफ्नो मुलुकमा लास भित्रिँदैनन् । लास ल्याउनका लागि एक्जिट भिसाको आवश्यकता पर्छ । जसका लागि सम्पूर्ण कागजपत्र बन्न आवश्यक छ । कागजपत्र मिलाउने, भिसा प्राप्त गर्ने सबै काम सकेपछि खर्चको कुरा आउँछ । लास ल्याउनका लागि दुईदेखि चार हजार डलरसम्म लाग्छ । यो पैसाको जोहो गर्नु नेपालीका लागि अर्को सकसको विषय हो । अन्य कतिपय मुलुकका राजदूतावासहरूमा कम्युनिटी फन्ड खडा गरिएको छ र वैदेशिक रोजगारमा रहेका कसैलाई पनि कुनै प्रकारको आपत्विपत् पर्दा सोही फन्डबाट खर्च गरिन्छ । भारतलगायतका मुलुकका राजदूतावासहरूले खाडी मुलुकमा यसप्रकारको फन्ड सञ्चालनमा ल्याएको पाइन्छ तर हाम्रो भने यस्तो व्यवस्था छैन । फलतः खोटाङको मानिसको मृत्यु भए खोटाङ समाज, ताप्लेजुङको भए ताप्लेजुङ्गेली, झापाली भए झापाली एकता समाज आफैँले पैसा जुटाएर लास पठाउनुपर्ने अवस्था रहेको छ । विभिन्न मुलुकमा काम गर्ने कामदारको पासपोर्ट नवीकरणकै पैसा मात्र पनि कामदारको हितमा या उनीहरूलाई समस्या पर्दाका बखत खर्च गर्ने हो भने पनि त्यो काफी हुन्छ तर हाम्रा कूटनीतिक नियोगहरूले त्यस्तो गर्ने गरेका छैनन् । लास ल्याउनका लागि हामीसँग आफ्नो एयरलाइन्स नहुँदा पनि निकै अप्ठ्यारो पर्ने गरेको छ । वैदेशिक रोजगारीका क्षेत्रमा हाम्रो जस्तै अवस्था रहेको बंगलादेशले आफ्ना नागरिकको लास त्यहाँको राष्ट्रिय ध्वजाबाहक विमानमार्फत स्वदेश ल्याउने गरेको छ र विमानले लासको पैसा लिँदैन । यसको अर्थ एउटा लास ल्याउनका लागि तिर्नुपर्ने दुईदेखि चार हजार डलर जुटाउने झन्झटबाट उनीहरू मुक्त छन् । यद्यपि विमानको सेवा सबै मुलुकमा छैन, तर जति मुलुकमा छ त्यसले आफ्नो जिम्मेवारीकै रूपमा सेवा प्रदान गरिरहेको छ । हामीकहाँ भएको एउटा जहाजको अवस्था के छ त्यो जगजाहेर छ । बंगलादेशमा पाँच महिनामा १३ सय लास मुलुकमा आएको र तीमध्ये सबै नै खाडी मुलुकबाट आएको बंगलादेशका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यस्तै श्रीलंकन गार्जियनका अनुसार, श्रीलंकामा प्रत्येक महिना ४० महिलाको लास आउने गरेको छ र ती सबै महिला मध्यपूर्वी मुलुकमा घरेलु कामदारका लागि गएकाहरू हुन् । ठूलो सङ्ख्यामा श्रीलंकाली महिला वैदेशिक रोजागारीका लागि खाडी मुलुकमा छन् ।
भविष्यमा सुख र खुसीसँग जिन्दगी बाँच्नका लागि वैदेशिक रोजगारमा गएकाहरूको असामयिक मृत्यु आफैँमा दुःखलाग्दो त छँदै छ, मृत्युपछि लासले पाउने दुःख झनै पीडादायी छ । महिनौँसम्म विदेशका अस्पतालका शवगृहमा बसेर आफ्नो मुलुक फर्किएपछि पनि आफन्तलाई बुझाउनका लागि कागजपत्र मिलाउनेदेखि लिएर अन्य कागजी प्रक्रियाका लागि लाग्ने समयसम्म बस्नका लागि उपयुक्त स्थान छैन । त्यसैले ईयू, यूएन वुमन, सुरक्षित वैदेशिक रोजगारीका लागि राष्ट्रिय सञ्जाल र मिडिया एड्भोकेसी ग्रुप (म्याग) को कार्यक्रममा एयरपोर्टका तत्कालीन प्रमुख डीआईजी विज्ञानराज शर्माले एयरपोर्टमा लास राख्नका लागि चिस्यान गृहको सख्त आवश्यकता औँल्याउनुभएको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यसमा आफ्नो शीघ्र पहल रहने बताए पनि अहिलेसम्म यसका लागि प्रक्रियाको सुरुवात भने गरिएको छैन । हामी आर्थिक वर्षको अन्त्यमा आइपुगेकाले आगामी वर्षको आफ्नो योजनामा बोर्डले यो कुरालाई प्राथमिकतामा पार्ने अपेक्षा गरिएको छ । अरूको मुलुकमा बाँचुन्जेल अनेक दुःखकष्ट झेलेका नेपालीले लास बनेपछि पनि सास्ती भोग्नुपर्ने परिस्थितिबाट अब मुक्ति पाउनुपर्छ । त्यसका लागि लासको व्यवस्थापनमा सरोकार पक्षले ध्यान दिनु आवश्यक छ । त्यसो त, मुलुकमा रोजगारी नपाएर दुई–चार पैसा कमाउन गएकाहरूको लास होइन जीवनकै उचित व्यवस्थापन गर्न पाए धेरै राम्रो हुने थियो तर नहुनु भइसकेपछि, जीवन मृत्युमा परिणत भइसकेपछि त्यसको उचित व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हुन आउँछ । यसका साथै बाहिरबाट आएका कामदारका लागि एयरपोर्टमै एउटा कानुनी सहायता केन्द्रको स्थापना गर्नु पनि त्यत्तिकै आवश्यक देखिन्छ । एयरपोर्टमै कानुनी सहायताको व्यवस्था भए वैदेशिक रोजगारमा जाँदा लुटिएर, ठगिएर आएकाहरूले राजधानीको यो भीडमा ‘अब न्याय खोज्न म कहाँ जाने होला’ भनेर अलमल परेर न्यायको प्राप्तिलाई टाढाको लक्ष्य मान्नुपर्ने थिएन ।