दुर्वासेश्वरको दुर्दशा– मुक्तिनाथ भुसाल

दुर्वासेश्वरको दुर्दशा– मुक्तिनाथ भुसाल


bicharजनताको मत सङ्कलन गरी चुनाव जितेर केन्द्रमा जाने जनप्रतिनिधिहरूले आफ्नो कर्तव्य भुल्दै गएपछि जिल्लामा रहेका तमाम ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरू पनि ओझेल पर्ने अवस्था निम्तिँदोरहेछ । हुन त यतिबेला जनप्रतिनिधिको कुरा गर्नु पनि आफैँमा एउटा व्यङ्ग्यसरह हो । तथापि, ओहोदामा बहाल रहेको अवस्थामा पनि जनप्रतिनिधिले ऐतिहासिक स्थल र सम्पदाहरूको संरक्षणमा सक्दो केही नगरिदिएपछि त्यस्ता प्रतिनिधिका कामको पुनरावलोकन र चर्चा हुनु अस्वाभाविक हुँदैन ।
अर्घाखाँचीको क्षेत्र नम्बर–२ बाट चुनाव जितेर गएकी पुष्पा भुसालको गाविस पोखराथोक– १ बाट करिब आधा घन्टामा पुग्न सकिने श्री दुर्वासेश्वर महादेव साततले गुफा एउटा ऐतिहासिक र धार्मिक स्थान भए पनि गुफा चर्चामा आउन सकेको छैन । खिदिम–८ दुर्गाफाँटमा रहेको श्री दुर्वासेश्वर गुफा अपेक्षाकृत रूपमा चर्चामा आउन नसक्दा त्यस क्षेत्रको विकास र सम्भावित चहलपहलमाथि पनि गम्भीर र नकारात्मक असर परिरहेको स्थानीयवासीको भनाइ छ । पछिल्लो समयको चुनावमा पूर्वसभासद् भुसालले यो पवित्र स्थानमा १५ हजार रुपैयाँ सहयोग गरेको र चुनाव पनि जितेको पुजारी लोकनाथ सुवेदी स्मरण गर्छन् । केही महिनाअगाडि पूर्वसभासद् भुसाल उक्त स्थानमा पुगी काङ्ग्रेसी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा ठूलो स्वरमा भाषण गरेर मन्दिरभित्रै भोजन गरेपश्चात् अब त केही सुधार हुन्छ कि भन्ने आशा पुजारीमा पलायो । तर, यो आशा कर्कलाकै पानी रहेछ भनी चित्त बुझाउनुपर्ने मानसिकतामा यतिबेला उनी रहेको बुझिन्छ ।
अर्घाखाँचीमा सबैले आदरका साथ नाम लिने मुक्तिनाथ गौतमजस्ता महान् व्यक्तित्वकी सुपुत्री तथा पूर्वसभासद्को हैसियत बनाएकी काङ्ग्रेस नेताको चुनावी क्षेत्रमा रहेको यो महत्वपूर्ण क्षेत्रबारे टेलिफोनबाट भुसाललाई जिज्ञासा राख्दा उनले ‘पर्यटन मन्त्रालयबाट १० लाख पारेकी छु, अब केही दिनभित्रै जिल्लामा पैसा आउनेछ’ भन्ने जवाफ दिइन् । बजेट जहाँबाट जसरी परेको भए पनि काम भएछ भने उनको सराहना नै हुनेछ, अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ ।
अब यस पवित्र स्थानबारे केही चर्चा गरौँ । द्वापरयुगमा सप्तऋषिमध्येका अत्री ऋषिका छोरा दुर्वाशाले यस स्थानमा बसी तपस्या गरेको र त्यसैका आधारमा दुर्वासा फाँट हुँदै दुर्गाफाँट नाम रहन गएको तथ्य पुराणको हिमवत खण्डमा उल्लेख गरिएको छ । अत्यन्त रिसाहा ऋषिका रूपमा चिनिने यिनै दुर्वाशाले बाह्रखरी अक्षर आविष्कार गरेको कुरा योगी नरहरिनाथले एक प्रवचनमा बताएका थिए । यस्ता ऋषिले तपस्या गरेको यस स्थानमा करिब एक सय रोपनी जमिन भए तापनि १० रोपनी जमिन मात्र गुफाले प्रयोगमा ल्याएको छ ।
मोटरबाटोबाट एक सय ७२ वटा सिँढीको पैदल यात्रामा गुफासम्म पुग्न सकिन्छ । गुफाबाहिर गुलाव, बेगमली फूल, खुर्सानी फूल, पारिजात, जाईको फूल, धुपीसल्ला, रुद्राक्ष, निमपत्ता, कागती, आँप, गुलाव, एक सय ११ नासपाती र कटरलगायतका थुपै्र फलफूलका बगैँचा देख्न सकिन्छ । सुन्दर बगैँचाको बीचमा राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, शिवलिङ्ग, शिवमन्दिर, सरस्वती मन्दिर, पौवा, नाचगान भवन, सप्ताह मण्डव, होमखाडी, शङ्खेधाराबाट जल बगेको, दुर्वाशा ऋषिका मूर्तिलगायतका चिजहरू मन्दिरवरपर रहेका छन् । गुफाभन्दा बाहिर देखिने धेरैजसो मूर्तिहरू स्थानीयवासीहरूको सहयोग तथा ब्रह्मचारी कोश्लेश्वर पन्थीको भौतिक संरचना र डिजाइनमा स्थापना गरिएको हो । यसरी स्थापना गरिएको शिवजीको मूर्ति १० क्विन्टल भएको स्थानीय थानेश्वर घिमिरे बताउँछन् । श्री दुर्वासेश्वर गुफाभित्र देखिने चिजहरू सबै प्राकृतिक हुन् । यो गुफाको सिरानमा गणेशको कलात्मक प्राकृतिक मूर्ति देख्न सकिन्छ । गुफाभित्र दाहिने साइडमा ऋषिले पूजा गर्ने सामग्रीसहितको पूजामण्डप, बाघको आसन र सानो शिवलिङ्ग रहेको छ । सो शिवलिङ्गमा दूधजस्तै सेतो थोपा, पाँच–पाँच सेकेन्डमा आउने गर्दछ र वरपरको जमिन चिसो हुँदैन । त्यसैगरी हात्तीको मूर्ति शेषनाग भण्डार हँुदै ज्योतिर्लिङ्ग जलकुण्डमा देख्न सकिन्छ । उक्त जलकुण्डमा रहेको विशाल ज्योतिर्लिङ्गमा मूल फुटेको छ तर यहाँको विशेषता के छ भने जलकुण्ड कहिल्यै भरिँदैन र पानी कहाँ गइरहेको छ कसैलाई थाहा पनि छैन । क्रमश: गुफाको यात्रा गर्ने क्रममा दक्ष प्रजापतिको बोकाको टाउको, चँदुवा, दाहिने शङ्ख, शिवजीले सतीदेवीलाई बोकेको मूर्ति, सीता पाताल गएको स्थान, ३३ कोटी देवी–देवताका मूर्तिहरू, सुमेरु पर्वत, राम–लक्ष्मण सीताका मूर्ति, शिवजीका थुप्रै मूर्ति अनि नेपालको नक्सालगायतका धेरै कुरा देख्न सकिन्छ । दुई सय ५० जना मानिस सजिलै अट्ने यो गुफाभित्र अमृत कुण्ड, कुवेरको भण्डार, गणेश र हात्तीको सुँढ, बाघको छालामाथि शिव–पार्वतीको मूर्ति, रामले मृग लखेटेको, सीता जमिन भासिएकोलगायतका थुप्रै चिज नेचुरल रहेका छन् । यी कुरा समस्त हिन्दूधर्मालम्बीहरूका लागि महत्वपूर्ण धरोहर नै हुन् ।
यस स्थानमा कोटीहोम सम्पन्न भइसकेको बुझिएको छ । शिवरात्रिका दिन भव्य मेला लाग्ने यो पवित्र स्थानमा दैनिक रूपमा एकजना ब्राह्मणबाट नित्य पूजा हुने गरेको छ । चारैतिर हरियाली, सुसाइरहेको खोला अनि समथर मिलेको फाँट रहेको यस पवित्र धार्मिक स्थानमा पुग्दा फर्किएर आउने मन कसैलाई हुँदैन । तर, विडम्बना ! यस क्षेत्रका जनप्रतिनिधिहरू र सरोकारवालाले बेवास्ता गरेका कारण महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल ओझेलमा पर्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ ।