राज्य नै पूर्वाग्रही भएपछि…

राज्य नै पूर्वाग्रही भएपछि…


nisedhहरेकले हरेकका प्रति आग्रह–पूर्वाग्रह राख्ने प्रवृत्ति बढ्दै गइरहेको बेला राज्यले समेत आफँै ‘एक्सपोज’ भएर भेदभावपूर्ण व्यवहार गर्न थालेको छ । नेपालको इतिहासमा एक सय चार वर्ष लामो राणाशासन चल्यो, राणाहरूले नै निर्माण गरेको दरबारबाट राज्य सञ्चालन पनि गरिँदै छ । राणा प्रधानमन्त्रीहरू आलोच्य भए पनि तिनले बनाएका दरबारहरूले अहिलेसम्म जसोतसो नेपालको इज्जत धानिरहेका छन् । राणा हुन् या राजाहरू तिनले गरेको काम र इतिहास ‘डिलिट’ हुन सकेको छैन र हुँदैन पनि । तर, राणाशासन र पञ्चायतपछि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको यो मुलुकमा अहिले मुलुकका लागि काम गरेकाहरूका हकमा जे–जस्तो व्यवहार गरिँदै छ त्यसबाट यो देश साँच्चिकै सतीले सरापेको देश हो जहाँ कसैले मुलुकका लागि केही गर्नुको कुनै अर्थ छैन भनेर भन्न सकिन्छ । मुलुकमा पञ्चायती व्यवस्था हुँदा तात्कालिक संविधानअनुसार प्रधानमन्त्री बनेका मरिचमानसिंह श्रेष्ठ अहिले जीवन र मृत्युको दोसाँझमा भारतमा उपचार गराइरहेका छन् । यो देशका पूर्वप्रधानमन्त्री आफ्ना बाबुको उपचारका लागि पैसाको अभाव भएपछि उनका छोराले सार्वजनिक रूपमै आह्वान गरेर सरकारसँग उपचारका लागि सहयोग माग्दा सरकारको तर्फबाट अहिलेसम्म कुनै प्रकारको सुनुवाइ हुन सकेको छैन । मरिचमानसिंह पञ्चायतकालका प्रधानमन्त्री भएकै कारण विभिन्न राजनीतिक दलका नेताहरू पनि यो विषयमा मौन छन् । उनीहरूको मौनता हेर्दा यस्तो लाग्छ ती सबै यो संसारमा अजम्बरी पाएर आएका छन् र उनीहरूलाई भविष्यमा कुनै अप्ठ्यारो पर्नेवाला छैन । मर्नै परे पनि कुनै अप्ठयारो नपरी सहज रूपले मर्नेछन् । लोकतान्त्रिक, गणतान्त्रिक कालका नेता प्रधानमन्त्रीहरू त चुप लागे लागे पञ्चायतकै प्रधानमन्त्रीहरूले समेत अचम्मैले मौनता साँधेका छन् । कतिले मरिचमानलाई पञ्चायतका अन्तिम प्रधानमन्त्री पनि भन्ने गरेका छन् तर अन्तिम नभएर उनी ‘सेकेन्ड लास्ट’ प्रधानमन्त्री हुन्, पञ्चायतका अन्तिम प्रधानमन्त्री त लोकेन्द्रबहादुर चन्द हुन् । जुनसुकै बेलाका प्रधानमन्त्री भए पनि सबै प्रधानमन्त्री यो देशको इतिहासको कालखण्डका प्रधानमन्त्री हुन् र ती त्यसै भएका होइनन् । यो देशको संविधानमुताबिकै भएका हुन् । चाहे ती सूर्यबहादुर थापा, तुलसी गिरी, प्रचण्ड, बाबुराम या झलनाथ नै किन नहुन् ।
इतिहास भनेको यस्तो कुरा हो जो सबैलाई मान्य हुन्छ र मन पर्छ भन्ने छैन । पञ्चायतलाई मन नपराउनेहरू थिए र पञ्चायतलाई अगाध माया गर्नेहरू पनि थिए । अहिले गणतन्त्र मन पराउनेहरू पनि छन्, मन नपराउनेहरू पनि छन् । नेपालको राजनीति यति छिटोछिटो परिवर्तन भइरहेको छ कि भोलि के हुन्छ यसै भन्न सक्ने अवस्था नै छैन । भोलि गणतन्त्र मन नपराउनेहरूको शासन आयो र प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ या शेरबहादुर वृद्ध अवस्थामा पुगेर अहिले मरिचमान सिंहकै अवस्थामा रहे भने के उनीहरूले यी पूर्वप्रधानमन्त्रीहरूको स्वास्थ्य उपचार नगर्ने ? कुरा यहाँ व्यक्तिको होइन नीतिको हो । हाम्रो देशका पूर्वप्रधानमन्त्रीहरूको हैसियत के हो ? प्रधानमन्त्री पद उही भए पनि हैसियत भने सबैको समान किन हुन सकेन ? राज्यले उनीहरूलाई दिने सेवा, सुविधा र सम्मान कहाँसम्म हो ? यही देशको प्रधानमन्त्री हुँदा कसैलाई पूरै परिवारका सदस्यहरूसहितको दलबल भ्रमण र विदेशमा उपचारको व्यवस्था र कसैलाई चाहिँ एउटा साधारण मानवोचित व्यवहार पनि नहुनु आश्चर्यलाग्दो कुरा हो । यो देशमा कुनै बेला मरिचमान सिंहको पनि आफ्नै प्रकारको योगदान थियो । फरक व्यवस्था र फरक परिस्थितिमा उनले गर्न सक्ने कामहरू गरेका थिए । पञ्चायतको अन्तिम–अन्तिममा छिमेकी मुलुकले नाकाबन्दी गर्दासमेत कम्तीमा नेपालीको शिर झुक्न दिएका थिएनन् । अहिले पनि हामी राजा वीरेन्द्रलाई त्यत्तिकै सम्मान र माया गर्छौं । उनको गुणगान गाउँछाँै, उनी बाँचिरहेका भए राजसंस्था यसरी जाने थिएन भनेर कुरा गर्छौं । तर, तिनै राजा वीरेन्द्रले बनाएका र तात्कालीन परिस्थितिमा राजाले जे गर भने त्यही गर्नुपर्ने स्थानमा रहेका प्रधानमन्त्रीलाई भने हामी राज्यको सुविधा लिनै नमिल्ने कोटिमा राखिदिन्छौँ । अहिले पदमा रहेकाहरूलाई या नरहेका नेताहरूलाई छिसिक्क केही भएमा राज्यको ढिकुटी खाली गर्न पनि तयार सरकार यो देशका पूर्वप्रधानमन्त्रीप्रति बेखबर छ । मरिचमान ‘कु’ गरेर बलजफ्ती प्रधानमन्त्री भएका व्यक्ति होइनन् न त उनी राज्यबाट सजाय तोकिएका या सजाय काटेका व्यक्ति हुन् । आफ्नो भूमिकाबाट टाढिएपछि उनी नितान्त व्यक्तिगत जीवन बाँच्दै आएका थिए ।
बीपी कोइरालाको पञ्चायत प्रणालीसँग के–कस्तो सम्बन्ध थियो भनेर सबैलाई थाहा छ । बीपीलाई थुनामा राख्ने र हदैसम्मको दु:ख दिने काम गरे पनि बिरामी परेका बेला राज्यले पूर्वप्रधानमन्त्रीका हैसियतमा उनलाई उपचारमा सहयोग गरेको थियो । उपचारका लागि पटकपटक खर्चको व्यवस्था गरेको थियो । उनको देहान्त भएपछि तत्कालीन राजा वीरेन्द्रबाट शोकसन्देश प्रकाशित गरी दु:ख व्यक्त गरिएको थियो । तर, मरिचमानको अहिलेको अवस्थामा कसैले औपचारिक रूपमा स्वास्थ्यलाभको कामनासमेत गरेको सुनिएको छैन । आफूले जे ग-यो आफूपछिका अरूले त्यही सिक्ने हुन् । जस्तो बीउ रोप्यो त्यस्तै फल फल्ने हो । त्यसैले यो सरकारले पूर्वप्रधानमन्त्रीको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन सक्नुपथ्र्यो । रेग्मी सरकारको उदारता राष्ट्रपतिको रोग पत्ता लगाउन ठूलै जमात विदेश पठाएर मात्र होइन यस्ता कुराहरूबाट पनि देखिन्थ्यो । पूर्वप्रधानमन्त्री श्रेष्ठले अकुत सम्पत्ति कमाएका भए अहिले उनका सन्तानले सरकारसँग मेरो बाबुलाई बचाइदेऊ भनेर हारगुहार गर्ने नै थिएनन् । पञ्चायतमा अहिलेझैँ जसले जति कमाए पनि हुने अवस्था पनि थिएन । आफूभन्दा माथिको डर थियो, विशेषगरी राजाको डरका कारण पनि अहिलेझैँ मन्त्री बन्न पाएको छैन, संसारै परिवर्तन हुने अवस्था थिएन । अहिले प्रत्येक वर्ष सरकारले बाँड्ने रकमको फेहरिस्त हेर्ने हो भने अधिकांश नेताहरूले नै पैसा लिएको देखिन्छ । प्राय: तिनको शीर्षक ‘उपचार खर्च’ भन्ने रहने गरेको छ । बिरामी भनेर चर्चा नसुनिएका तर पटक–पटक उपचार खर्च लिएका नेता÷नेतृहरूको सूची अहिले पनि सिंहदरबारमा सुरक्षित भेट्न सकिन्छ । उपचार खर्चका नाममा आफूनजिककालाई पैसा बाँड्ने चलन पनि पछि नै चलेको हो । जेहोस्, पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिले उपचार खर्चको अभाव भोग्ने परिस्थिति आफँैमा दुखद् हो । आज मरिचमानलाई प-यो ठिकै त छ नि भनेर अरू चुपचाप बस्नुभन्दा भोलि आफूलाई पनि पर्न सक्छ भनेर सोच्नु राम्रो हुन्छ । यो देशको पूर्वप्रधानमन्त्री उपचार खर्चको अभावमा छट्पटिइरहेको छ भनेर सुने अन्य देशका मानिसहरू कति छक्क पर्दा हुन् । उनको परिवारले मात्र होइन यो सबै नेपाली नागरिकले हीनताबोध गर्नुपर्ने कुरा हो । चाहे मरिचमान हुन् या कुनै बहादुर, प्रसाद, नाथ, कुमार, माया या देवी जोसुकै भए पनि प्रधानमन्त्री या अन्य यस्तै विशिष्ट पदमा पुगिसकेका व्यक्तिहरूका लागि राज्यले कम्तीमा उपचारका लागि हात फैलाउनुपर्ने अवस्था आउन नदिनका लागि विशेष व्यवस्था गर्नुपर्छ ।