अध्यक्ष पद खोसिदिने चेतावनी

अध्यक्ष पद खोसिदिने चेतावनी


गृह नपाए सरकारमा थप मन्त्री नपठाउने अड्डी कसेर बसेको माओवादीलाई गृह मन्त्रालयको जिम्मेवारी दिए प्रधानमन्त्री मात्र होइन खनाललाई पार्टी अध्यक्षबाटै हटाइदिने चेतावनी एमाले नेता केपी ओलीले दिनुभएको छ । ‘हामी तपाईंलाई कुनै असहयोग गर्दैनौँ तर, अहिलेकै अवस्थामा गृह माओवादीलाई सुम्पनुभयो भने प्रधानमन्त्रीबाट मात्र होइन, पार्टी अध्यक्षबाट पनि हटाउन बँध्य हुने छौँ’ भन्नुभएको थियो । पार्टी कार्यालय बल्खुमा गत साता अध्यक्ष खनालकै कार्यकक्षमा नेता ओलीले यस्तो चेतावनी दिनुभएको एमालेका एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । ‘माओवादीलाई अहिलेको अवस्थामा गृह दिनु भनेको हत्या, हिंसालाई थप प्रश्रय दिनु हो र मुलुक तहसनहस पार्ने प्रयास हो, प्रधानमन्त्री छाड्न सक्ने पार्टीले गृहमा किन र्‍याल चुहाइरहेको छ त्यो बुझ्नु जरुरी छ,’ नेता ओलीको भनाइ उद्धृ्रत गर्दै ती नेताले भन्नुभयो । एमाले स्रोतका अनुसार अध्यक्षको कार्यकक्षमा खनाल-ओलीबीचको केहीबेर चर्काचर्कीसमेत परेको थियो । सरकार बनेको दुई महिना पनि पुग्न नपाउँदै कलङ्कको भारी बोक्न थालेको आरोप ओलीको थियो । सरकारका कारण पार्टीलाई बद्नाम नगराउन चेतावनी दिँदै ओलीले सरकारलाई माओवादीको योजनामा चलाए पनि पार्टीलाई एमालेकै शैलीमा चल्न दिन भन्नुभएको थियो । नयाँ संविधान बनाउने जिम्मेवारीका साथ सरकारको नेतृत्वमा पुगेका मानिस आजभोलि संविधानसभाको म्याद थप्नेतिर उन्मुख भएको भन्दै कुनै पनि हालतमा निर्धारित मितिभित्र संविधान जारी गर्ने कार्यमा लाग्न पनि भन्नुभएको थियो । जवाफमा प्रधानमन्त्री खनालले कसैको सहयोगमा प्रधानमन्त्री बनेको भए पनि आमपार्टी कार्यकर्ताको भावनाअनुसार निर्वाचित भएर पार्टी अध्यक्ष बनेकोले यसलाई कमजोरी नठान्न चेतावनी दिनुभएको थियो । उहाँले पार्टीले पूर्ण रूपमा सहयोग गरे मात्र सरकारले राम्रो काम गर्न सक्छ, चेतावनी र धम्कीले केही हुँदैन भन्नुभएको थियो ।

आफ्ना मात्र राखेर मन्त्रिमण्डल केपी-माधवले दिए दह्रो जवाफ
प्रधानमन्त्री झलनाथ खनालले एकलौटी ढङ्गले मन्त्रिमण्डल विस्तार गरेर आफू ‘बलवान’ भएका सङ्केत दिनुभएको छ । मन्त्रिमण्डलले पूर्णता नपाउनुको कारण प्रधानमन्त्री र उहाँको पार्टी भएको धारणा माओवादी नेतृत्वले सार्वजनिक गरेको साता दिन नपुग्दै झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट मात्र मन्त्रिमण्डलमा प्रतिनिधित्व गराएर माओवादीलाई जवाफ फर्काउनुभएको ठानिएको छ । एमाले स्थायी समिति बैठकले मन्त्रिमण्डल विस्तारको पूर्ण अधिकार पार्टी अध्यक्ष झलनाथ खनाललाई दिएपछि मन्त्रिमण्डलमा खनालले एमालेका तर्फबाट आफूअनुकूल प्रतिनिधित्व गराउनुभएको हो । जसका कारण एमालेभित्र असन्तुष्टि बढ्न सक्ने देखिएको छ । खनालले मन्त्रीका रूपमा चयन गर्नुभएका नेताहरू योग्यता, क्षमता र बाह्य छविका दृष्टिले उपयुक्त एवम् विवादहीन मानिन्छन्, तर मन्त्रिमण्डल विस्तारका क्रममा पार्टीको आन्तरिक सन्तुलनलाई ध्यान नदिइएका कारण कालान्तरमा यही विषयले उग्र रूप लिने र खनालको असफलताको मुख्य कारण बन्न सक्ने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन । खनालले मन्त्रिमण्डल एकलौटी ढङ्गले गठन गरेपछि केपी-माधव पक्षलाई पार्टीभित्र आफ्नो स्थिति सुदृढ तुल्याउन सजिलो हुने विश्वास गरिएको छ ।
एकीकृत माओवादी र मधेसी जनअधिकार फोरमबाट मन्त्रिमण्डलमा सहभागी हुने प्रतिनिधि कुर्दाकुर्दै हैरान हुनुभएका प्रधानमन्त्री खनालले तेस्रो चरणमा आफ्नै दल एमालेबाट आफूनिकट व्यक्तिलाई मन्त्री र राज्यमन्त्री बनाउनुभएको हो । पोलिटब्युरो र स्थायी समिति बैठकमा आफूलाई काम गर्न नदिने हो भने सरकारको नेतृत्व गर्नु कुनै औचित्य नभएकाले राजीनामा दिने पटक-पटक चेतावनीसमेत दिनुभएका खनालले सरकारबाट भएको कामको गुण-दोष आफैं स्वीकार्छर्ुुन्दै आफूनिकट नेतालाई मन्त्री र राज्यमन्त्री बनाउनुभएको बताइन्छ । यसअघि प्रधानमन्त्री खनाल, वरिष्ठ नेता माधव नेपाल र प्रभावशाली नेता केपी ओलीबीच मन्त्री चयनमा तीव्र विवाद भएकाले खनालले पार्टीबाट थप मन्त्री सिफारिस गर्न सक्नुभएको थिएन ।
स्रोतका अनुसार आइतबार बेलुका नेपाल र ओलीलाई छुट्टाछुट्टै फोन सर्म्पर्क गरी केही साथीलाई मन्त्रिमण्डलमा सहभागी गराएर सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर, नेता नेपाल-ओलीले तपार्इंको नेतृत्वमा बनेको सरकारमा हाम्रा मानिस मन्त्री बन्दैनन्, तपाईं कसरी मन्त्री छान्नुहुन्छ छान्नुस् र यसको गुण-दोष आफैं बोक्नुस् भनेपछि खनालले सोमबार आफूनिकट व्यक्तिलाई मात्र मन्त्री बनाउने निर्णय गर्नुभएको हो । स्रोतका अनुसार खनालले पहिले नेता नेपाललाई फोन सर्म्पर्क गर्नुभएको थियो । आफूले सोमबार कुनै पनि हालतमा मन्त्रिपरिषद् विस्तार गर्न लागेको जानकारी गराउँदै केही व्यक्तिको नाम दिनुपर्‍यो भन्नुभएको थियो । उहाँले एमालेकै कारण सरकार बन्न ढिला भएकोले बाहिर गलत म्यासेज गएको भन्दै यसलाई कुनै पनि हालतमा टुङ्ग्याउन चाहेको बताउनुभएको थियो । जवाफमा नेता नेपालले तपाईंलाई के सजिलो लाग्छ त्यही गर्दा हुन्छ, साथीहरू मन्त्री नहुने रे भन्नुभएको थियो । नेपाललाई फोन गरेको केही समयपछि उहाँले नेता ओलीलाई पनि फोन गर्नुभएको थियो । जवाफमा ओलीले पनि तपाईंलाई कसरी सजिलो लाग्छ त्यसैगरी पार्टीबाट मन्त्री छान्नुस् भन्नुभएको थियो । नेता ओलीले खनाललाई व्यङ्ग्य गरर््र्दै बरु तपाईंलाई असजिलो लाग्छ भने विष्णुजीलाई पनि सरकारबाट फिर्ता आउन आग्रह गर्छर्ुुन्नुभएको थियो । खनाल नेतृत्वको सरकारमा ओलीका तर्फबाट रक्षामन्त्री विष्णु पौडेल सहभागी हुनुहुन्छ ।
स्रोतका अनुसार यसअघि नै नेपाल-ओली अहिलेको सरकारमा आफ्ना मानिस पठाएर आफूहरू खनालजस्तै कलङ्कित पात्र बन्न नचाहने र माओवादीबाट निर्देशित सरकारमा आफ्ना मान्छे पठाएर केही गर्न नसक्ने निष्कर्षमा पुग्नुभएको थियो । अध्यक्ष खनालले पार्टीले भनेअनुसार काम पनि नगर्ने र पार्टीले सिफारिस गरेको व्यक्तिलाई मन्त्री पनि नबनाउने हो भने यो सरकारमा हाम्रँे सहभागिताको के अर्थ रहन्छ भन्नुभएको थियो । आफूनिकट नेताहरूसँग नेता नेपाल-ओलीले आफ्नै पार्टीको सरकार भए पनि पार्टीले नै ‘पर्ख र हेर’ भन्ने अवस्था रहेकोले यसपटक सरकार कसरी सञ्चालन गर्ने र मन्त्रिपरिषद्मा को-को पठाउने त्यसबारेमा खनाललाई नै जिम्मेवारी दिने भएकोले केही आस नगर्न भन्नुभएको थियो । एमालेका नेता कृष्णगोपाल श्रेष्ठले सरकारको टाउको एमालेको भए पनि गिदी माओवादीको रहेको आरोप लगाउनुभयो । उहाँले जानजानी कोही मानिस इतिहासको कलङ्कित पात्र बन्दै छ भने त्यसको भागीदार किन बन्न जाने भन्दै एमालेको नेतृत्वमा सरकार बने पनि त्यस सरकारमा आफूहरूको सहभागिता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेको नेतृत्वमा सरकार त बनेको छ, तर एमालेले भनेअनुसार सरकार चल्दैन भने त्यसलाई के भन्ने -‘ उहाँले थप्नुभयो, ‘बाहिर कुनै कार्यक्रममा बाध्य भएर सरकारको वकालत गर्नुपरेको छ ।’ खनाल नेतृत्वको सरकारमा माओवादी र मधेसी जनअधिकार फोरमको सहभागिता रहेन भनिए पनि मन्त्रालय भागवन्डामा कुरा नमिलेपछि सरकारले पूर्णता पाउन सकिरहेको छैन ।

अख्तियारको कमाइले जिल्लाकै नंं. एक धनी
करिब ६ करोड मूल्यबराबरको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक आयुक्तहरू वेदप्रसाद सिवाकोटी र ललितबहादुर लिम्बूमध्ये आयुक्त भइसकेपछि सिवाकोटीको जीवनशैलीमा धेरै ठूलो परिवर्तन आएको देखिएको छ । सुनखानी ढुङ्गेका सिवाकोटीको परिवार धेरै ठूलो, दाजुभाइहरू धेरै तर जग्गाजमिन धेरै नै कम भएका कारण खान-लगाउनसमेत निकै समस्या पर्ने गर्दथ्यो । त्यसैले उनका दाजुभाइमध्ये धेरैले पढ्ने अवसर पाएनन्, कोही भारतीय सेनामा भर्ती भए कोहीचाहिँ खेती-किसानीमा लागेका थिए । पढ्ने मौका पाएका वेदप्रसादले चाहिँ दुःख गरेर भए पनि पढे र पढाइमा उनी रामै्र विद्यार्थीमा गणना हुन्थे । एसएलसी पास गरेपछि नेपाल ल क्याम्पसमा पढ्दा नयाँ कपडा लगाउने धित् मार्न उनी साथीभाइको पुराना कपडा मागेर लगाउने गरेको सिवाकोटीका सहपाठीहरू अहिले पनि स्मरण गर्छन् । डिल्लीबजारमा एउटा कोठा भाडामा लिएर कानुन व्यवसायीको रूपमा काम गर्न थालेपछि भने यिनको जीवनमा केही परिवर्तन आएको बताइन्छ । तथापि राम्रो वकिलको रूपमा भने यिनी स्थापित हुन सकेका थिएनन् ।
र्सर्ूयबहादुर थापाले गुप्तचर विभागमा लगाइदिएको जागिरबाट मासिक रूपमा प्राप्त हुने तलब यिनको गुजाराको मुख्य स्रोत बनेको सिवाकोटीका निकटवर्तीहरू बताउँछन् । अख्तियारको आयुक्त पदमा नियुक्त भइसकेपछि सिवाकोटीको कमाइ एकाएक बढ्यो । यिनले कात्यायनी काठमाडौंमा करिब तीन रोपनी क्षेत्रफलमा बनेको बंगला खरिद गरे, जसको मूल्य अहिले आठ करोडभन्दा बढी पर्ने छिमेकीहरूको भनाइ छ । तर, उनले उक्त महल दुई करोड रुपैयाँमा खरिद गरेका थिए । सिवाकोटीले आयुक्त पदमै रहँदा शान्तिनगरको सुकुम्बासी टोलनजिकै चार रोपनी जमिन खरिद गरेका थिए । अमेरिकामा समेत घर किनेका सिवाकोटीले आफ्ना छोराछोरीलाई आयुक्त भएकै बखत अमेरिका पठाइसकेका छन् जसले उनको घरको रेखदेखसमेत गर्ने गरेका छन् । यतिबेला दोलखा जिल्लामा दोलखाकै सबभन्दा धनी व्यक्तिको रूपमा नाम कमाएका उनले आफ्ना दाजुभाइलाई समेत नगद राख्न दिएको बताइन्छ । कुकुरका सौखिन सिवाकोटीले आफ्नो बंगलामा आठवटा कुकुर पालेका थिए र कुकुरको मात्र मासिक खर्च रु. डेढ लाख हुने गर्दथ्यो, तर अहिले तीनवटा कुकुर मरेपछि पाँचवटा मात्र कुकुरलाई उनले मासिक असी हजारदेखि एक लाखसम्म खर्च गर्ने गरेको थाहा हुन आएको छ । कुनै व्यापार-व्यवसाय नगरेका सिवाकोटीको अकुत सम्पत्तिका बारेमा छानबिन गरी उनलाई कारबाहीको दायरामा ल्याउन सक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छवि पनि सुध्रिने र भ्रष्टाचारीहरू निरुत्साहित हुने परिस्थिति सिर्जना हुन सक्थ्यो भन्ने जानकारहरूको भनाइ रहेको छ ।

हिंसाविरोधीजति खुलामञ्चमा
बृहत् शान्ति-सम्झौता भएको चार वर्ष पूरा भइसक्दा पनि देशमा शान्ति स्थापनाको विश्वासिला आधारहरू नदेखिएपछि हजारौँ-हजार हिंसाविरोधीहरू टुँडिखेलको खुलामञ्चमा भेला भएर शान्ति स्थापनाको निम्ति दबाब दिने भएका छन् । नयाँ वर्ष २०६८ को प्रारम्भ दिन वैशाख १ गते बिहान सात बजे हिंसाका विरोधीजति टुँडिखेलको खुलामञ्चमा भेला भई त्यहाँबाट रत्नपार्क, भद्रकाली र नयाँसडक हुँदै वसन्तपुरसम्म र्‍यालीको रूपमा जाने र वसन्तपुरमा सङ्क्षिप्त सभाको आयोजना गरिने जानकारी प्राप्त भएको छ । नेपालको इतिहासकै सबभन्दा ठूलो शान्तिर्‍याली
हुने अपेक्षा गरिएको उक्त कार्यक्रमको आयोजक सहभागीहरू आफैं हुने, तर समन्वयचाहिँ दमननाथ ढुंगाना र सुबोधराज प्याकुरेललगायतले गर्ने बुझिएको छ । नागरिक शान्ति यात्रा नाम दिइएको उक्त कार्यक्रममा काङ्ग्रेस र एमालेलगायतका दलसम्बद्ध नेता र कार्यकर्ताहरूको पनि सहभागिता रहनेछ । तर, पार्टीका झन्डा भने प्रयोग नगरिने बताइएको छ । विभिन्न पेसागत समुदायको र्‍यालीमा विशेष सहभागिता रहनेछ । एमाले नेता केपी शर्मा ओलीले र्‍यालीमा सक्रिय सहभागिता जनाउनुहुने भएको छ । काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले उक्त र्‍यालीमा नागरिकका रूपमा आफूहरूको सक्रिय सहभागिता रहने जानकारी दिनुभएको छ । कार्यक्रममा एक लाखभन्दा बढी हिंसाविरोधी नागरिकले सहभागिता जनाउने विश्वास गरिएको छ ।

गृहमा अड्कियो नेताको प्राण
गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा उत्पन्न तनावका कारण माओवादीको तर्फबाट मन्त्रिमण्डलमा समावेश गरिने थप नाम तय गर्न ढिला भएको जानकारी प्राप्त भएको छ । पार्टीको आन्तरिक निर्णय देव गुरुङलाई गृहमन्त्री बनाउने भन्ने रहेको छ र मोहन वैद्य किरण तथा डा. बाबुराम भट्टराई गुरुङलाई गृहमन्त्री बनाउने विषयमा एकमत हुनुहुन्छ । तर, प्रचण्डले भने कृष्णबहादुर महरालाई गृहमन्त्री बनाउने प्रयास गर्दै आउनुभएको छ । मोहन वैद्य गृह मन्त्रालयको विषयमा अत्यन्त गम्भीर रहनुभएको सङ्केत देखिएपछि प्रचण्ड र उहाँका पक्षधरहरूबाट अहिले ‘गृह मन्त्रालय कुनै ठूलो विषय होइन’ भनी विषयलाई सामान्य बनाउने प्रयास भइरहेको छ । ‘गृहको विषयलाई लिएर धेरै अल्भिmनु हुँदैन’ भन्दै उक्त मन्त्रालय प्रचण्डले आफ्नो मान्छेको जिम्मा लगाउन चाहेको ठम्याइ वैद्य पक्षको छ । त्यसैले प्रचण्डले जतिसुकै प्रयास गर्नु भए पनि गृह छाड्ने पक्षमा वैद्य तथा उहाँका समर्थकहरू हुनुहुन्न । देव गुरुङलाई गृहमन्त्री नबनाइएमा माओवादीभित्र ठूलै विद्रोह हुनसक्ने सङ्केतहरू देखिएका छन् । स्मरणीय छ, प्रचण्ड र देव गुरुङ माओवादी पार्टीको केन्द्रीय समिति सदस्यमा एकैपटक चयन हुनुभएको हो ।
विचारमा दृढ र इमानदार व्यक्तिको रूपमा देव गुरुङको माओवादीभित्र बेग्लै छवि र स्थान बनेको छ । प्रचण्ड देव गुरुङलाई मन पराउनुहुन्न र गुरुङको हैसियत उचालिएको पनि उहाँ हेर्न चाहनुहुन्न । लामो समयदेखि प्रचण्ड र गुरुङबीच मनमुटाव र तनावको स्थिति कायम रहेको बताइन्छ । त्यसैले गुरुङ गृहमन्त्री बन्नुभन्दा बरु एमालेकै कसैलाई उक्त जिम्मेवारी दिनु उपयुक्त हुने धारणामा प्रचण्ड रहनुभएको बताउन थालिएको छ । पार्टीभित्रको द्वन्द्वका कारण सधैं विवादरहित भूमिका निर्वाह गर्न चाहनुहुने शालीन नेता कृष्णबहादुर महरालाई समेत अप्ठ्यारो पारेको बुझिएको छ । पार्टी अध्यक्षले भनेका कारण महरा गृहमन्त्री बन्न राजी त हुनुभएको छ, तर आफूले मान्दै आएको नेता मोहन वैद्यलाई चिढ्याउन पनि उहाँ चाहनुहुन्न । तर, माओवादीभित्र गृह मन्त्रालय यस्तो मुद्दा बन्दै छ कि महराजस्ता सन्तुलित नेता पनि प्रचण्ड या मोहन वैद्य दुईमध्ये एउटा नेताको पक्षमा खुलेर नै लाग्नुपर्ने अवस्था सिर्जना हुँदै छ ।
खनालले मन्त्रिमण्डल विस्तार गर्दा गृह मन्त्रालयमा आफ्नो पार्टीका तर्फबाट कसैलाई पनि चयन नहुनुलाई माओवादीले सकारात्मक मानेको छ । तर, आफ्नोतर्फबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गराउनेहरूको नामावली पठाउन नसक्नुका पछाडि भने प्रधानमन्त्री खनाल नै दोषी रहेको माओवादीले देखाउन खोजेको छ ।

यसरी जोगिए गोकर्ण
नेकपा एमालेका ऊर्जावान नेता एवम् नवनियुक्त ऊर्जामन्त्री गोकर्ण विष्टको स्वास्थ्यस्थितिमा क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । ‘उहाँ खतरामुक्त रहनुभएको छ, तर केही दिन आरामको जरुरत छ,’ उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै एमाले नेता योगेश भट्टराईले भन्नुभयो, ‘उहाँलाई अप्रेसनपश्चात् अहिले पनि आईसीयूमै राखिएकोले केही दिन अस्पतालमै राखेर उपचार गराउनुपर्ने देखिन्छ ।’ विष्टको सोह्रखुट्टेस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । नवनियुक्त ऊर्जामन्त्री विष्टलाई सोमबार साँझ गांेगबु टाउनप्लानिङस्थित उहाँकै निवासअगाडि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । खुकुरी प्रहारबाट विष्टको टाउको र हातमा गम्भीर चोट लागेको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका डीएसपी केदार ढकालले विष्टको घरनजिकै घटना भएकोले उहाँ आक्रमणकारीहरूबाट सजिलै उम्कन सफल हुनुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ -विष्ट) दिनभरको थकानबाट मुक्त हुन र केही फ्रेस हावा लिन मोबाइलबाट साथीसँग कुरा गर्दै घरबाहिर निस्कनुभएको थियो, रात छिप्पिँदै गएकोले बाहिरको सुनसान वातावरणमा एकाएक पछाडि केही आवाज आएको सुन्नुभयो, आवाज आएको ठाउँतिर फर्केर हेर्ने क्रममा उहाँमाथि मोटरसाइकलमा रहेका अज्ञात व्यक्तिबाट एक्कासि धारिलो हतियार प्रहार भयो । त्यसलाई रोक्न खोज्दा हात र टाउकोमा चोट लाग्न पुग्यो, आफूमाथि आक्रमण भएपछि चर्को स्वरले कराउँदै आक्रमणकारीबाट उम्केर घरभित्र पस्न सफल हुनुभएकोले थप आक्रमण हुन पाएन र बच्न सफल हुनुभयो ।’ घाइते विष्टबाट घटना के उद्देश्यले भएको हुन सक्छ भन्ने जानकारी पाउन नसके पनि प्रहरीले आक्रमणकारीहरूको खोजीकार्यलाई तीव्रता दिएको र छिट्टै पक्राउ पर्ने ढकालको भनाइ थियो ।
पटक-पटक यसप्रकारका आक्रमणको सामना गर्दै आउनुभएका विष्टमाथि भएको घटना सुनियोजित हुने सक्ने प्रधानमन्त्री झलनाथ खनालनिकट एमाले नेताहरूले आरोप लगाएका छन् । मंगलबार घटना र विचारसँग कुरा गर्दै खनालनिकट एक नेताले भन्नुभयो, ‘घटनाको प्रकृतिलाई अन्तै मोड्न विष्टको पर्स र पैसा खोसिएकोजस्तो देखिन्छ तर, घटना नियोजित रूपमा गराइएको हो ।’ घटना आपराधिक नभईकन राजनीतिक प्रतिशोधबाट प्रेरित भएको देखिने ती नेताको भनाइ थियो । विष्ट संविधानसभाको निर्वाचनमा पनि निकैपटक आक्रमणको तारो बन्नुभएको थियो ।
अस्पतालमा उपचाररत विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मंगलबार बिहानै अस्पताल पुग्नुभएका प्रधानमन्त्री झलनाथ खनालले घटनामा संलग्न अपराधी पत्ता लगाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री खनालले दोषीलाई कानुनी कठघरामा ल्याइने दाबी गरे पनि प्रहरीले मंगलबार साँझसम्म अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन । हनुमानढोकाका डिएसपी ढकालले अपराधीहरूको खोजीकार्य जारी रहे पनि हालसम्म कुनै अपराधी पत्ता लाग्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हिजो राति र आज दिनभर गरेर दुई सयभन्दा बढी शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौँ ।’
प्रधानमन्त्री खनालले सोमबार मात्र घाइते विष्टलगायत एघारजनालाई पार्टीबाट मन्त्री र राज्यमन्त्री बनाउँदै पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरे पनि राष्ट्रपति र स्वयम् प्रधानमन्त्रीको कार्यव्यस्तताले शपथ खुवाउन भ्याउनुभएको थिएन । खनालले पार्टीबाट उर्मिला अर्याल स्थानीय विकास, रघुवीर महासेठ सिँचाइ, विष्ट ऊर्जा, भानुभक्त जोशी वन तथा भू-संरक्षण, युवराज कार्कीलाई सामान्य प्रशासनमन्त्रीमा नियुक्त गर्नुभएको छ । त्यसैगरी राधा ज्ञवाली, शत्रुघन महतो, दलबहादुर सुनुवार, रामजी शर्मा, डम्बरसिंह सम्बाहाम्फे, भगवती चौधरी, ल्हाक्याल लामालाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

तिब्बतीमाथि ज्यादतीको विरोध
तिब्बत मामला र तिब्बती शरणार्थीका विषयमा तीव्र चासो दर्शाउँदै आएको उत्तरतर्फको छिमेकी चीन र नेपाली टोलीबीच गत शनिबार खासामा द्विपक्षीय वार्ता भएको छ । नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव जयमुकुन्द खनाल नेतृत्वको टोली वार्तामा सहभागी भएको थियो भने चीनतर्फबाट तिब्बतका उपाध्यक्ष इजी गाओजीले नेतृत्व गरेको टोलीबीच वार्ता सम्पन्न भएको बताइए पनि चिनियाँ पक्षको नेतृत्व गर्न बेइजिङबाटै सुरक्षा, अध्यागमन र राजनीतिक विभागका उच्चाधिकारी खटिएको विश्वस्त सूत्रको दाबी छ ।
स्रोतका अनुसार तिब्बती धर्मगुरु दलाई लामाको दर्शनार्थ धर्मशाला जान नेपाल प्रवेश गर्ने तिब्बती नागरिक पक्रिएर चीनलाई बुझाउने प्रक्रिया अपनाउन चिनियाँ वार्ताटोलीले नेपाली टोलीसमक्ष आग्रह गरेको थियो । तातोपानीलगायतका नाकामा निगरानी बढाएर आवतजावतमा कडाइ गर्न चिनियाँ पक्षले दबाब दिएको बताइएको छ । स्मरण रहोस्, तिब्बती नागरिकमाथि कारबाही बढाउने उद्देश्यले चीनले नेपालको सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायलाई विभिन्न शीर्षकमा सहयोग उपलब्ध गराउने प्रस्ताव नेपाल सरकारसमक्ष गर्दै आएको छ भने केही समययता तिब्बती शरणार्थीको खोजी गर्ने बहानामा नेपालको सीमाक्षेत्रमा अवैधानिक प्रवेश गरेर चिनियाँ सुरक्षाकर्मीहरूले ज्यादतीपूर्ण व्यवहार गर्ने गरेका समाचार प्रकाशमा आएका छन् ।
यसैबीच चिनियाँ सुरक्षा अधिकारीहरू बिनाअनुमति नेपाली भूमिमा प्रवेश गरी मनपरी गरेर र्फकनु नेपालको सार्वभौमिकतामाथि नै ठाडो हस्तक्षेप र चिनियाँ दादागिरी भएको भन्दै बौद्ध धर्मर्-दर्शन र तिब्बती शरणार्थी मामलाका अध्येता सिर्द्धार्थ गौतमले विरोध जनाएका छन् । लुम्बिनी फाउन्डेसनका प्रेसिडेन्टसमेत रहेका गौतमले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सबै मिलेर चिनियाँ ज्यादतीको विरोध र प्रतिरोध गर्न आह्वान गरेका छन् । विज्ञप्तिमा उनले वर्तमान सरकारले यस्तो संवेदनशील मामलामा आँखा चिम्लनु रहस्यमयी विषय भएको औँल्याउँदै भनेका छन्, ‘आफ्ना सर्वोच्च धर्मगुरुको दर्शन गरी आशीर्वाद लिनु प्रत्येक तिब्बतीको श्रद्धा र धार्मिक अधिकारको कुरा हो, यो व्यक्तिगत स्वतन्त्रता र आस्थाको विषय भएकोले सरकारले रोक्न या दमन गर्न मिल्दैन, कुनै पनि प्रजातान्त्रिक सरकारले कदापि यस्तो काम गर्दैन †’

चेम्बरमा नयाँ सञ्चालक समिति
नेपाल चेम्बर अफ कमर्सको हालै सम्पन्न ५८औँ वारि्षक साधारणसभाले ३३ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । मुलुककै पुरानो चेम्बरको अध्यक्षमा सुरेश बस्नेत निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, प्रथम उपाध्यक्षमा ज्ञानेन्द्ररत्न तुलाधर, द्वितीय उपाध्यक्षमा राजेन्द्र मल्ल र महासचिवमा कमलेश अग्रवाल छानिएका छन् । च्याम्बर कोषाध्यक्षमा राजेन्द्र अर्याल निर्वाचित हुनुभएको छ । यसअघि अर्याल च्याम्बरका सचिव हुनुहुन्थ्यो ।

मुक्तिनाथका हत्यारामाथि कारबाही हुने आशा
लमजुङ जिता गाविस- ५ का देवेन्द्र पौडेल ‘प्रताप’, इशानेश्वर गाविस-४ का साधुराम भनिने प्रभुराज घिमिरे र कास्की मिजुरे गाविस- ५ का ध्रुव अधिकारीले ठानेका थिए होलान् कि आफूले गरेको जघन्य अपराध जनयुद्धको नाममा त्यसै बिलाएर जानेछ, अब स्वतः उन्मुक्ति पाइनेछ भन्ने । तर, नियतिलाई यो मञ्जुर थिएन कि भन्ने सङ्केत ढिलै भए पनि देखिएको छ । लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीलाई पढाइरहेकै कक्षाबाट घिसारेर लगी रूखमा बाँधेर गोली ठोक्न पटक्कै नहिच्किचाएका उल्लेखित माओवादी कार्यकर्ताविरुद्ध १० वर्षपछि जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी परेपछि उनीहरूमाथि उचित कारबाही हुने आशा पीडित परिवार तथा आमजनतामा पलाएको छ ।
शिक्षक अधिकारीकी श्रीमती इन्दिरा अधिकारीले किटानी दिएका देवेन्द्र पौडेल ‘प्रताप’ हाल एकीकृत माओवादी लमजुङका कार्यालय सचिव छन् भने साधुराम भनिने प्रभु घिमिरे पार्टी कारबाहीमा परिसकेका छन् । यसैगरी धु्रव अधिकारी माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा स्वकीय सचिव थिए । उनीहरूले शिक्षक मुक्तिनाथ अधिकारीलाई तत्कालीन विद्रोही माओवादीले २०५८ साल माघ ३ गते चन्द्रेश्वरस्थित पाणिनी संस्कृति माध्यमिक विद्यालयमा पढाउँदै गर्दा विद्यार्थीको बीचबाट अपहरण गरी आधा घन्टाको दूरीमा च्यनपाटा भन्ने ठाउँमा लगेर उत्तिसको रूखमा बाँधेर टाउको र छातीमा गोली हानेर निर्मम हत्या गरेका थिए । माओवादीले हत्या गरेपछि घटनाको भोलिपल्ट २०५८ माघ ४ गते जिल्ला प्रहरी कार्यालय बेसीसहरमा कारबाहीका लागि मुक्तिनाथकी धर्मपत्नी इन्दिराले जाहेरी दिएकी थिइन् । तर, त्यतिबेला त्रासका कारण किटानी जाहेर गर्न नसकेको र घटनामा प्रत्यक्षदर्शीले समेत डरकै कारण घटनामा संलग्नहरूका बारेमा खुलाउन नसकेका कारण अहिलेसम्म किटानी जाहेरी दिन नसकेको पीडित इन्दिराको कथन छ ।
घटनामा दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले पिस ब्रिगेड्स इन्टरनेसनल नेपालका प्रतिनिधि, एड्भोकेसी फोरम र इन्सेक लमजुङको रोहवरमा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीमा पीडित इन्दिराले ‘मेरा श्रीमान्को बाँच्न पाउने नैसरि्गक अधिकारको उल्लङ्घन भएको, नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ को उल्लङ्घन भएको, मानव अधिकार विश्वव्यापी घोषणापत्रको धारा ३ मा उल्लेखित प्रत्येक मानिसलाई जीवन, स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताको हक, अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ धारा ६ को हनन भएकोमा मेरो श्रीमान्लाई अपराधपूर्ण तरिकाले यातना दिई हत्या गर्नेउपर तत्काल कारबाही गरियोस्’ भन्ने उल्लेख गरेकी छिन् । -छविलाल बगाले

गाडी तथा ढुवानी उपकरण हस्तान्तरण
अनमिन फिर्ता भएको दुई महिनापछि उसले नेपाल रहँदा प्रयोग गरेका गाडी तथा ढुवानी उपकरणहरू नेपाल सरकारको हात परेको छ । अनमिनले प्रयोगमा ल्याएका १० वटा पिकअप भ्यान, दुईवटा एम्बुलेन्स, चारवटा बस, २२ वटा एसयूभी र दुईवटा मिनी ट्रकहरू सरकारको अनुरोधमा भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । शान्तिप्रक्रियामा सघाउन नेपाल आएलगत्तै भारत सरकारले अनमिनलाई ती सवारीसाधनहरू प्रदान गरेको थियो ।
गत २४ गते आईसीसी कम्प्लेक्समा आयोजित हस्तान्तरण कार्यक्रममा भारत र नेपालका जनताबीच रहेको परम्परागत निकट सम्बन्धलाई कायम राख्दै भारत सरकार नेपालको शान्तिप्रक्रियामा पूर्ण सहयोगी रहँदै आएको भारतीय दूतावासका तर्फबाट जनाएको थियो भने नेपाल सरकारले भारत सरकारबाट ऋणमा लिएका हात-हतियार भण्डारण गर्ने २८ वटा कन्टेनरको प्रयोग जारी राख्ने तथा नेपालमा शान्ति, स्थायित्व र बहुदलीय लोकतन्त्र स्थापना गर्न नेपाली जनता र नेपाल सरकारले गर्ने प्रयासमा भारत सरकार एक इच्छुक साझेदारको रूपमा रहने प्रतिबद्धता दोहोर्‍याइएको थियो ।

चिनियाँसँग मिलेर खाग तस्करी
चिनियाँ नागरिकसँग मिलेमतो गरी तस्करीमा संलग्न व्यक्तिहरू प्रहरी फन्दामा परेका छन् । गंैडाको खुर, यार्सागुम्बा, कुट्की जडीबुटीसहित मकवानपुरका राकेश भन्ने रामशरण विश्वकर्मा र हुम्ला घर भई काठमाडौं जोरपाटी बस्दै आएका खम्बा भन्ने छोङ पाल्दान लामालाई हालै प्रहरीले प्रक्राउ गरेको हो ।
२०५८/०५९ मा चितवन निकुन्जबाट १५ वर्ष जेल सजाय तोकिएका अभियुक्त रामशरण विश्वकर्मा ४२ महिनापछि आममाफी पाई छुटेका थिए । त्यसरी रिहा भएपछि पनि उनले खाग तस्करी, चरेसको कारोबारलगायतका अपराधकर्मलाई निरन्तरता दिँदै आएका प्रहरी अनुसन्धानले देखाएको छ । यसैगरी छोङ पाल्दान लामा पनि खाग तस्करीमा चितवन निकुन्जबाट सर्वाधिक खोजीमा रहेका अभियुक्त हुन् भने हेनान नामका चाइनिज नागरिकसँग उनको विशेष सर्म्पर्क रहेको प्रहरीले जनाएको छ ।
यसैगरी नौ केजी चरेससहित नेदरल्यान्डका नागरिक पिटर लाइरन पक्राउ परेका छन् । पासपोर्ट नं. एन.टी. ५ के ९८ एल ०५ का पिटर आरकेको प\mलाइटबाट हल्यान्डको आमस्ट्राड्याम उड्न लाग्दा अन्तर्राष्ट्रिय विमानस्थलको होल व्यागेजबाट पक्राउ परेका हुन् । लगेजभित्र फल्स बटम बनाई लुकाएको अवस्थामा उक्त परिमाणको चरेस प्रहरीले फेला पारेको थियो । यसैबीच गोंगबुस्थित बालुवापाटीमा रहेको शान्त लोयल होटलका डाइरेक्टर भारतीय नागरिक फादर एस.जे.लाई धारिलो हतियार प्रहार गरी आक्रमण गर्नेमध्येका मनमैजु-४ का २१ वर्षीय सुमन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

कहालीलाग्दो थियो ड्रग्स-जीवन
राजीव नकर्मी काठमाडौंमा जन्मिए र स्कुलेजीवनमै ड्रग्समा परे । उनको पिरले बुबाको हृदयाघात भयो भने उनले दिएको यातनाले आमालाई समेत घर छोडेर विदेश जान बाध्य बनायो । करिब १६ वर्ष ड्रग्समा पर्दा राजीवको शरीर विभिन्न दुर्घटनाका कारण अङ्गभङ्ग भए, घर पनि अस्तव्यस्त भयो । समुद्रपार बस्ने आमाले राजीवले दिएका यातनाहरू बिर्सिएर निरन्तर रूपमा उनलाई सामान्य जीवनमा ल्याउन प्रयास गरी नै रहिन् । धेरै उपचार केन्द्रहरूमा राख्दा पनि उनी ठीक भएनन् । अन्तमा नार्कोनन् नेपालबाट राजीव दुर्व्यसनमुक्त भई हाल दुर्व्यसनमुक्त समाज बनाउन आफूलाई समर्पित गर्दै छन् । प्रस्तुत छ उनीसँग गरेको कुराकानी ।
० विगतको जीवन सम्झँदा कस्तो लाग्छ ? आँसु आउँछ । आत्मग्लानि हुन्छ । विगतमा धेरै कुरा गुमाएँ । बुबाको मृत्यु भयो । त्यो कहिल्यै फिर्ता हुन नसक्ने क्षति थियो । आमाको माया नपाउने वातावरणमा बाल्यकाल गयो । झन्डै १६ वर्ष अँध्यारो दुनियाँमा बित्यो जहाँ मैले दुःख, क्षति, दुर्घटना, अपमान, पीडा, सजायबाहेक अरू केही पाइनँ । विगत मेरो दुःखद् थियो, म त्यो विगत सम्झन पनि चाहन्नँ ।
० अहिलेको जीवनचाहिँ कस्तो लागिरहेछ नि ?
– मलाई पहिले त असल मानिस र सभ्य समाज मेरो दुश्मन हो झैं लाग्थ्यो । म तिनलाई मार्नुपर्ने, तर्साउनुपर्ने समूह ठान्थँे । जब ड्रग्सबाट बाहिर आई नार्कोनन्मै काम गरेर म सभ्य समाजको हिस्सा बन्न थालेँ, यो मेरा लागि नौलो अनुभव थियो । बिस्तारै-बिस्तारै म सभ्य समाजको एक हिस्सा भएँ । अहिलेको जीवन मेरो नैतिक, उत्पादक र स्थिर छ ।
० ड्रग्सविरुद्ध अभियानमा कसरी सहभागी हुनुभयो ?
– पहिले त उपचारपछि म पनि पैसा कमाउन विदेश जाने धुनमै थिएँ तर नार्कोनन् नेपालको प्रमुख वसन्त सरले भन्नुभयो, ‘हिजो यो समाजलाई दर्ुर्व्यसनमुक्त बनाउने मान्छे नभएकाले तिमीहरू फस्यौ, अब भोलिका सन्तती फस्न नदिन तिमीहरू आफैं काम गर ।’ उहाँको यही सल्लाह र अर्तीले मन छोएकै कारण म यो अभियानमा लागेको हुँ । अहिले पूर्ण रूपमा म यस अभियानमा संलग्न छु ।
० ड्रग्सबाट निस्कन के गर्नुपर्ने रहेछ ?
– ड्रग्सबाट उम्कन व्यवस्थित उपचार केन्द्रको सहयोग जतिसक्यो छिटो लिनुपर्ने रहेछ । यो कुरा नबुझेर मैले पनि धेरै उपचार केन्द्र धाउन बाध्य हुनुपर्‍यो । यस सम्बन्धमा मेरो अनुभव सुन्न चाहनुहुन्छ भने तपाईंहरूले मलाई ४३७७१२४, ९८५१०३७५२९ वा ९८४१८७४९५७ मा सर्म्पर्क गर्न सक्नुहुन्छ । उपचारमा जान ढिला गर्नुहुन्न ।