ग्रिनल्यान्डमा डुब्यो २० हजार लिटर डिजेल बोकेको जहाज

ग्रिनल्यान्डमा डुब्यो २० हजार लिटर डिजेल बोकेको जहाज


ग्रिनल्यान्डको तटमा बिहीबार (१९ सेप्टेम्बर) २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको छ । सम्बद्ध अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न काम गरिरहेका छन् ।

‘हिजो राति स्थानीय समयानुसार करिब १ः४५ बजे एउटा जहाज नानोर्तालिक नजिकको चट्टानमा ठोक्कियो र पानीमा डुब्न थाल्यो’, ग्रीनल्यान्डिक प्रहरीले बिहीबार विज्ञप्तिमा भनेको छ । जहाज बिहान ७ः०० बजे डुबेको थियो ।

तीस मिटर लामो जहाजको ट्याङ्कमा एक हजार लिटर इन्जिन तेलबाहेक करिब १५ हजारदेखि २० हजार लिटर डिजेल रहेको आँकलन गरिएको छ भने दुर्घटनामा परेको जहाजको नाम र प्रकार खुलाइएको छैन ।

सम्बन्धित अधिकारीहरूले यो चरणमा कुनै प्रदूषणको स्तर निर्धारण गर्न असम्भव रहेको बताए पनि इन्धन फैलावटलाई नियन्त्रणमा राख्नका लागि पम्प प्रयोग गरिरहेका छन् र साइटको चारैतिर ५० मिटरको परिधिमा तैरिने बुम राखेका छन् ।

जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ । यद्यपि तिनीहरूको सङ्ख्या वा राष्ट्रियताबारे कुनै विवरण प्रदान गरिएको छैन ।