हिन्दी सिनेमाको लागि प्रदान गरिने पुरस्कार ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा एक विशेष समारोह आयोजना गरी प्रदान गरिने भएको छ । सन् २००४ देखि शुरु भएको जी सिने अवार्ड पहिलोपटक मुम्बईमा आयोजना गरिएको थियो भने त्यसपछि दुबई, लण्डन, मरिसस, मलेसिया, सिङ्गापुर, मकाओ जस्ता शहरमा आयोजना भइसकेका छन् । आउँदो डिसेम्बरमा अब यो अवार्ड सेरमोनी नेपालमा आयोजना हुने प्रधानमन्त्री केपी ओलीले ट्वीटमार्फत जानकारी दिएका छन् ।
बलिउडमा निकै प्रतिष्ठित मानिने ‘जी सिने अवार्ड’को अबको संस्करण नेपालमा गर्न लागिएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले पनि पुष्टि गरेका छन् । पर्यटनमन्त्री अधिकारीकै नेतृत्वमा सो कार्यक्रम नेपालमा आयोजना हुन लागेको हो ।
‘आउँदो डिसेम्बरमा भारतको प्रतिष्ठित अवार्ड काठमाडौंमा हुँदैछ, हरेक वर्ष हुने अवार्डमा नेपाली क्याटेगोरी पनि थपिनेछ’– प्रधानमन्त्री ओलीको ट्वीटमा उल्लेख छ । यस्तै, मन्त्री अधिकारीले ‘भिजिट नेपाल २०२०’ लाई प्रवद्र्धन गर्नका लागि पनि ‘जी सिने अवार्ड’ कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको तर्क गरेका छन् ।

‘जी सिने अवार्ड’ समारोहको दर्शक ८० करोड हुने सम्बद्ध पक्षको आँकलन रहेकोे उल्लेख गर्दै उनले यत्तिका दर्शकको रुचिको कार्यक्रम नेपालमा आयोजना हुँदा ‘भिजिट नेपाल’ अभियानमा सकारात्मक प्रभाव पर्ने दाबी गरे ।
पाँच महिनापछि हुने अर्वाड समारोहको तयारीका लागि जी टिभीका मालिकसहितको टोली अध्ययनार्थ नेपाल आएर फर्किएको छ । भारतका राज्यसभा सदस्य डा. सुवासचन्द्र, भारतका प्रभावशाली व्यक्तित्व अमर सिंह, प्रसिद्ध बलिउड अभिनेत्री जयाप्रदालगायत उक्त टोलीमा संलग्न थिए ।
‘जी सिने अवार्ड’ आयोजनाको लागि पाँच हजार दर्शक क्षमताको अस्थायी संरचना निर्माण गरिने छ । आगामी दश वर्षसम्म प्रयोग गर्न सकिने गरी निर्माण गरिने सो संरचना कहाँ बनाउने भन्ने निक्र्योल भने पर्यटन मन्त्रालयले गरिसकेको छैन । ललितपुरको भैंसेपाटी या भक्तपुरको गट्ठाघरलाई सम्भाव्य स्थलको रूपमा लिइएको बुझिएको छ ।
ज्ञात रहोस्, नेपालमा ‘फिल्मसिटी’ निर्माणको निम्ति समेत उल्लिखित भारतीय टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ ।
प्रतिक्रिया