बुझेनन् बाबुरामले

बुझेनन् बाबुरामले


nisedhसानो छँदा ‘मुख छ भन्दैमा प्याच्च बोल्न हुँदैन’ भनेर ठूलाबडाले भन्दा के भनेको होला यस्तो जस्तो लाग्थ्यो । दूरदर्शी बूढापाकाले किन त्यस्तो भनेका रहेछन् भन्नेचाहिँ हिजोआज बुझिँदै छ । १३ हजारभन्दा बढी मान्छे मारिएको नेपालको सशस्त्र द्वन्द्वमा मानिसलाई अपहरण गर्दा, हात खुट्टा भाँचेर अपाङ्ग बनाउँदा, बेपत्ता पार्दा र मार्दासमेत त्यति धेरै आलोचना खप्नु नपरेका माओवादी नेता डा. बाबुराम भट्टराईले केही दिन अघि आफैँले बोलेको वचनका कारण सर्वसाधारणको कटु आलोचना खप्नुपरेको छ । दशवर्षे युद्धपश्चात् शान्तिप्रक्रियामा आएपछि रातारात नायकझैं बनेका प्रचण्ड र बाबुराममध्ये प्रचण्ड आफ्नै बोलीका कारण निकै अघि नै ध्वस्त भइसके पनि बाबुराम भने अलिकति बाँकी नै थिए । त्यसो त प्रधानमन्त्री भएपछि उहाँप्रतिको आशा, अपेक्षा र भरोसा टुटे पनि यिनले जतिबेला पायो त्यतिबेला जे पायो त्यही बोल्दैचाहिँ हिँड्दैनन् है भन्ने थियो जनमानसमा । तर, बाढीपीडितलाई राहत बाँड्न पूर्वराजाको सुदूरपश्चिम भ्रमणलाई लिएर राजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि भने उहाँको बाँकी रहेको उचाइ घटाउनलाई आफ्नै अभिव्यक्तिले राम्रै योगदान गरेको देखिएको छ । नेताका बोलीले खासै महत्व पाउन छोडिसकेका बेला डा. भट्टराईको यो भनाइलाई जनस्तरमा बडो गम्भीरतापूर्वक लिएको देखियो । ‘लौ न त्यस्ता मान्छेले पनि के बोलेको होला त्यस्तो ?’ देखि लिएर ‘जेल त तिनीहरूलाई नै हाल्नुपर्ने हो’ भन्नेसम्मका प्रतिक्रियाहरू सुनिए । चोक, गल्ली, बाटोघाटो मिडिया, सामाजिक सञ्जाल जताततै यो भनाइले निकै चर्चा–परिचर्चा पायो । बोली र गाली फुत्किएपछि फर्कदैनन् भन्ने पनि हाम्रै नेपाली उखान हो । शान्तिप्रक्रियाको सुरुवातताका यो मुलुकका महानायकझैं ठानिएका प्रचण्ड समयक्रममा आफ्नै बोलीका कारण सस्तिँदै जानुभएको थियो । हिजोआज त उहाँले बोलेको कुरालाई मान्छेहरूले खासै वास्ता पनि गर्दैनन् । आफूले बोलेको वचन पूरा गर्नु त कता हो कता बारम्बार आफैँले खण्डन गर्ने र जतिबेला जे मन लाग्छ त्यही बोल्ने बानीले उहाँ आफैँले आफँैलाई हल्का बनाउँदै लानुभएको हो ।
मनिसले समय परिस्थितिअनुसार कहाँ कतिबेला के बोल्ने भन्ने कुरामा ध्यान दिएन भने राम्रै कुराले पनि गलत अर्थ दिन सक्छ । हाँस्नु, मुस्कुराउनु मानिसको जीवनमा राम्रै कुरा हो । तर, हामी आर्यघाटमा गएका बेला या कसैको घरमा आपतविपत परेका बेला हाँस्न मुस्कुराउन थाल्यौँ भने त्यसलाई राम्रो मानिँदैन, मान्न सकिँदैन । यो मुलुकको प्रधानमन्त्री भइसकेका र विद्वान् भनेर चिनिएका बाबुराम भट्टराईले यसपल्ट पूर्वराजालाई जेल हाल्ने कुरा गर्दा पनि सुन्नेलाई राम्रो नलाग्नुको कारण पनि समय र परिस्थिति नै हो । कुनै बेला यो मुलुकमा जल्दोबल्दो राजसंस्था थियो, सेनाको परमाधिपतिसहितका शक्तिशाली राजा थिए, कसैले राजालाई चुनौती दिनु बडो बहादुरी मानिन्थ्यो । चुनौती दिनु ठूलै कुरा हुन्थ्यो पनि । तर, अहिले मुलुकमा राजसंस्था छैन । कुनै रक्तपातबिना चुपचाप आफ्नो दुई सय चालीस वर्षको इतिहासलाई फरक धारमा परिणत गर्दै नागरिक भएर सर्वसाधारणको जीवन बिताइरहेका राजा र राजपरिवारका सदस्य मात्र छन् । पूर्वराजा भए पनि मानिसहरू उहाँलाई राजा र सरकार नै भनेर सम्बोधन गर्छन्, जुन सम्बोधनले राज्य संरचनामा कुनै असर गर्दैन । मुलुकमा भएभरका ठकुरीहरूलाई समेत राजा सम्बोधन गर्ने नेपालीले साँच्चिकै राजाका छोरा र राजा भइसकेका व्यक्तिलाई राजा भन्नु कुनै ठूलो कुरा पनि होइन । शक्तिमा नभए पनि आफ्नै विशाल पृष्ठभूमि भएका राजा ज्ञानेन्द्रले बाढीपीडितलाई सहयोग गर्न लाग्दा जुन प्रतिक्रिया बाबुरामबाट आयो त्यसले जनस्तरमा ‘इरिटेसन’ पैदा भएको छ । त्यसपछिको माहौलले ओह्रालो लागेको मृगलाई खेदेको मन नपराउने नेपालीको सङ्ख्या पनि प्रसस्त रहेको पुष्टि गरेको छ । आफू शक्तिमा भएका बेला मानिसहरूले आफू कहाँ छु ? आफ्नो धरातल के हो ? कुन अवस्थामा छु ? भन्ने कुरा बिर्सन्छन् भनिन्छ । शायद बाबुरामलाई पनि त्यस्तै भयो । कुनै बेलाका नायक उहाँहरू अहिले जनताको नजरमा खलनायकझैं बनिसकेको कुरा थाहै भएन । बितेको दश वर्षमा बागमतीमा धेरै ढल बगिसक्यो, दश वर्षअघिका नायक उहाँहरू आफ्नै व्यवहार र कार्यशैलीका कारण जनताको नजरमा खलनायकझैं बनिसक्नुभएको छ । शक्तिशाली राजा नागरिकमा रूपान्तरित भएर नागार्जुन पुगी चुपचाप बसेपछि मानिसहरूमा पुन: एकप्रकारको सहानुभूति जागेको छ । राजसंस्थाप्रतिको श्रद्धा त अधिकांश नेपालीमा सधैँ थियो नै, यसबीचमा नेताहरूको व्यवहारले अहिले झन् थप भएको छ । आफ्नो मुलुकको स–सानो कुरामा पनि छिमेकी गुहार्ने कार्यशैलीले नेताहरूप्रति नेपालीलाई थप सशङ्कित पनि बनाएको छ ।
कुनैबेला राजालाई ‘राजनीति गर्ने हो भने श्रीपेच खोलेर आऊ’ मात्र भन्दा पनि मदन भण्डारी रातारात हिरो बनेका थिए । गद्दीनसीन राजालाई यति भन्न सक्नु त्यतिबेला निकै ठूलो कुरा पनि थियो । तर, समयक्रममा अहिले डा. बाबुराम भट्टराईले पूर्वराजालाई ‘म प्रधानमन्त्री भएको भए जेल हाल्थेँ’ भनेको कुराले उहाँको बाँकी रहेको उचाइलाई स्वाट्टै घटाउने काम ग-यो । पूर्वराजालाई जेल किन हाल्ने ? आपतमा परेकालाई राहत बाँड्दा नेपालीले जेल जानुपर्छ ? नेपालमा कसैलाई जेल हाल्नका लागि अपराधको मापदण्ड के हो ? उहाँको भनाइले जनमानसमा यस्ता तमाम प्रश्नहरू उब्जाइदिएको छ । युद्धअपराधी भनेर अदालतले सजाय तोकेका उहाँका पार्टी नेता, कार्यकर्ताहरू खुलेआम उहाँकै अगाडिपछाडि हिँडिरहेका बेला बाढीपीडितलाई राहत बाँड्दै हिँडेका पूर्वराजालाई जेल हाल्नुपर्छ भन्दा उक्त अभिव्यक्ति हास्यास्पद मात्र नभएर धेरै नै बेमौसमी पनि बन्न पुग्यो । अहिले नेताले पूर्वराजालाई गाली गर्दा ताली बज्ने बेला होइन, उहाँहरू स्वयम्लाई गाली गर्दाचाहिँ वाहवाही पाउने बेला हो । त्यसैले बाबुरामले अहिलेको परिस्थिति र आफूहरूको अवस्था नै नबुझ्नु भएको देखियो । चुनाव गराउन गठित रेग्मी सरकारले राहत बाँड्नमा रोक लगाउनु अर्को हास्यास्पद कुरा हो । यस्तै, यो मुलुकमा जे पनि हुने रहेछ भन्ने कुराको उदाहरणचाहिँ नेपाली सेनाले आफ्नै पूर्वपरमाधिपतिलाई दार्चुलामा एकैछिनका लागि हेलिप्याड प्रयोग गर्न नदिनु हो । नेपाली सेनाको इतिहासमै शायद यो आश्चर्यजनक घटना हो । आफ्नै इतिहास बोकेको नेपाली सेनाबाट ‘माथिको निर्देशन’का नाममा यतिसम्म होला भनेर सोचिएको थिएन । यो घटनाबाट अहिले परमाधिपति बनेर बसेका राष्ट्रपतिलाई पनि भोलि ‘पूर्व’ भएको अवस्थामा कुनै पनि प्रकारको व्यवहार हुनेरहेछ भन्ने कुरा अहिले नै अनुमान गर्न सकिन्छ । राजनीतिक फेरबदल भइरहने हाम्रोजस्तो मुलुकमा कतिबेला कस्तो परिस्थिति बन्छ के भन्न सकिन्छ र ?