विदेशी चिनीले स्वदेशी चिनी गोदाममै थन्किए

विदेशी चिनीले स्वदेशी चिनी गोदाममै थन्किए


विदेशबाट आयात गरिएको चिनीका कारण नेपाली उद्योगहरु संकटमा परेका छन् । आयात गरिएको चिनी निकै सस्तो भएक कारण नेपालका उद्योगबाट उत्पादित चिनीहरु गोदाममै थन्किन बाध्य भएका हुन् ।

विदेशबाट सस्तो चिनी आएपछि स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले भन्सार पनि दोब्बर बनाएको छ । भन्सारसँगै मूल्यांकन पनि प्रति टन ४ सय ६० डलर पुगेको हो ।

भन्सार र मूल्यांकन बढाउँदासम्म विदेशबाट दुई लाख टन चिनी भित्रिसकेको चिनी उद्योगीहरु बताउँछन् । उनीहरुका अुसार स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार टनसहित ३ लाख ७८ हजार टन चिनी अहिले मुलुकभित्र छ ।

अहिले पनि दैनिक रुपमा भारतबाट सस्तो चिनी भित्रिरहेकोले स्वदेशी चिनी उद्योगहलाई समस्या परेको उद्योगीहरु बताउँछन् । चिनीको वार्षिक खपत साढे २ लाख टन छ ।

यता, चिनी उत्पादक संघले स्वदेशी चिनी मिलहरुले उत्पान गरेको ५४ हजार टन मात्रै चिनी बिक्री भएको छ भने १ लाख २४ हजार टन चिनी गोदाममै मौज्दात रहेको जानकारी दिएको छ ।

‘स्वदेशी उद्योगबाट उत्पादन भएको चिनी बिक्री भएको छैन । मंसिरदेखि चिनीको क्रसिङ सुरु हुन्छ’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने, ‘हामीले उत्पादन गरेको चिनी बिक्री नभएर गोदाममा थन्किएको छ ।’

संघका उपाध्यक्ष राजेश केडिया चिनी आयातमा तत्काल प्रतिवन्ध लगाउनुपर्ने बताउँदै उद्योगीलाई सहुलियतपूर्ण ऋण दिनुपर्ने बताए ।