बालसाहित्यमा नयाँ फड्को

बालसाहित्यमा नयाँ फड्को


bicharकृति
समयको हिसाबले भन्दा शतक पार गरे पनि नेपाली बालसाहित्य अझै पनि खडेरीकै अवस्थामा रहेको छ । बालसाहित्यलाई उचित स्थान र महत्व नदिइनु, यसको उपलब्धि, उपयोगिता बुभ्mन नसक्नु, यसप्रति सम्मानको दृष्टिले हेर्न नसक्नुजस्ता कुराले बालसाहित्य अझै पछाडि परिरहेको छ, जो समग्र साहित्यको लागि नै बाधक हो । यस्तो खडेरी परेको अवस्था, त्यसमाथि पनि कम कलम चलिरहेको विधाको भण्डारमा एउटा गतिलो पुस्तक अर्थात् बालउपन्यास थपिन गएको छ– ‘चोरी भो जुत्ता’ । ‘चोरी भो जुत्ता’का सर्जक हुन् ‘कृष्णदीप सिग्देल’ । कृष्णदीप सिग्देल नेपाली बालसाहित्यको क्षेत्रमा अपरिचित नाम होइन । नयाँ विषयवस्तुलाई नौलो शैली र प्रस्तुतिका साथ पस्कन सक्ने क्षमतावान् बालसाहित्य सर्जकको रूपमा लिइन्छ कृष्णदीपलाई । उनले आफ्नो क्षमतालाई प्रयोग गरेर लेखेको बालउपन्यास हो ‘चोरी भो जुत्ता’ ।
आख्यान प्रायः घटनाकेन्द्रित वा पात्रकेन्द्रित गरेर लेखिन्छ । घटनाकेन्द्रित गरेर लेखिएको होस् वा पात्रकेन्द्रित, यसको मुख्य विषय, शैली, भाषा आदिलाई मजाले सिँगारिएको छ भने यसको छुट्टै सौन्दर्य झल्कन्छ अनि यसले लामो समयसम्मका लागि पाठकको मनमा राज गरिरहन सक्दछ । त्यस्तो घटना वा पात्र आँखाले देख्ने, मनले सोच्ने वा कल्पनामा आउनेबित्तिकै त्यही पुस्तक सम्झन पुगिन्छ । हो, यस्तै पुस्तक बनेको छ ‘चोरी भो जुत्ता’ ।
यस उपन्यासको मुख्य पात्र हो ‘रामबाबु’ अनि सँगसँगै रामबहादुर, अन्ते, सुर्जे, उर्मिला, राजेन्द्र र रामबाबुको बाबु लालबाबु अनि रामबहादुरको बाबु लालबहादुर पनि । मुख्य पात्रले नकारात्मक पात्रता बोकेको छ । ऊ अरूलाई दुःख दिनु, अरूलाई फसाउनमा खप्पीस छ अनि अर्को पात्र रामबहादुर त्यो कुटिलबाजीको भण्डाफोर गर्न लागिरहन्छ । रामबाबुलाई साथ दिन्छन् अन्ते र सुर्जेले अनि रामबहादुरलाई साथ दिन्छन् उर्मिला र राजेन्द्रले । उपन्यासको पहिलो पाठ छ ‘छट्टु रामबाबु’ । साह्रै मजाको कथा छ यसमा । यही कथाबाट लगभग सबै पात्रको पात्रता खुल्दछ । कसको दृष्टिकोण कस्तो छ ? कसको बठ्याइँ र बिठ्याइँ कस्तो भन्ने प्रस्ट पादछ । पात्रलाई स्थापित गराउने काम गरेको छ यो पाठले । त्यसपछिका पाठहरूले उपन्यासको सुरुवात गराउँदछ । रामबाबु र रामबहादुरको यो पात्रता आउनुमा दुवैका बाबुहरूको पात्रता र व्यवहार पनि जोडेकाले उपन्यास अझ बढी व्यावहारिक बनेको छ । नयाँ र नौलो कुरामा हुने चासोको मानवीय स्वभाव, अझ बालबालिकाहरूमा हुने कुतूहल, फुर्किने, बढाइचढाइ गर्ने बानी, त्यसमा इष्र्या पोख्ने, बिठ्याइँ गर्ने आदि जस्ता कुराहरूलाई सोचेर कला भरी–भर िबुनिएको छ उपन्यास । पहिला अलि धेरै क्षेत्र ओगट्न खोजे पनि पछि पात्रसँगसँगै घटनाकेन्द्रित बनेको छ उपन्यास । मालपुवाको कथा, दुई बाबुका कथामा अगाडि बढ्दै नयाँ जुत्ता अनि त्यस जुत्तामाथिको खेल नै सिङ्गो उपन्यास हो । नयाँ जुत्ता, जुत्ताको प्रशंसा, चोरी गरेरै छाड्ने रामबाबुको उद्घोष सँगसँगै जुत्ता चोरी हुनु, रामबाबुले बाबुको इख पूरा गर्न सजाय पाउनु, चोरी भएको जुत्ता रामबहादुरले बाटोमै फेला पर्नु, जुत्तामा चराको बिष्टा, फुटेका अण्डा देखिनु, रामबाबुले चोरेको होइन रहेछ भनेर रामबहादुर पछुताउनु र माफी माग्ने बाटो सोच्नु, फेरि यसकै सिलसिलामा रामबाबुको घरमा पुग्दा उसको अर्को जुत्ता उसकै टाउकोमा बजारिन आइपुग्नुले कथा रोमाञ्चक बनेको छ । पाठकलाई कुतूहतमा राखीराखी रमाइलो तरिकाले कथा अन्त्य भएको छ ।
उपन्यासमा सकारात्मक पात्र होस् वा नकारात्मक, दुवैलाई प्रस्टसँग भूमिका निर्वाह गर्न लगाइएको छ । कथाका पात्र हामीबीच नै छन् कि भन्ने भान पाठकमा पर्न जान्छ । पात्रहरूलाई सुरुमै स्थापित गर्न सक्नु उपन्यासको अर्को बलियो पक्ष मान्न सकिन्छ । पाण्डुलिपिमै अध्ययन गर्न दिएर, भएका कमी–कमजोरीहरूलाई औंल्याइसकेपछि पुनः लेखन गर्ने सकारात्मक पाटो पनि उपन्यासकारले देखाएका छन् ।
उपन्यासमा प्रयोग भएका चित्रहरूमा चित्रकारको मिहिनेत स्पष्टसँग देखिन्छ । चित्रहरू साह्रै मजाका रमाइला खालका छन् । कार्टुन शैलीमा कोरिएका चित्रहरूले त झन् कतैकतै चलायमान प्रभाव पनि दिएका छन् । यसले चित्रमा अझ रोचकता थपेको छ । पात्रको पात्रतानुसार नै चित्र बनाइएकोले कथा सुहाउँदा चित्र बनेका छन् । कुनै कुनै चित्रहरू भने बुझ्नका लागि धेरै प्रयास गर्नुपर्ने र पाठक अलि अल्झिने खालमा पनि देखिन्छन् । चित्रमा पात्रमात्र झल्किने, त्यसका वरिपरिका विषयवस्तुमाथि ध्यानै नदिएकोजस्तो देखिन्छ, जुन चित्रकारको प्रयोग हो भन्न सकिन्छ तर पुरानाखालका चित्रहरूबाट मनोरञ्जन लिइरहेका पाठकका लागि भने कताकता खाली भएको हो कि भन्ने पर्न सक्दछ ।
गहन रूपमा यो उपन्यास आएको र नेपाली बालसाहित्यको भण्डारमा एउटा इँटा थप्ने काम गरे पनि पाठकले केही कमी–कमजोरी भने अवश्य फेला पार्छन् । सुरुकै कथामा मालपुवा कोठाभरि बास्ना आएको भन्ने कुरालाई औँल्याउन सकिन्छ । मालपुवा कोठै मगमग हुने गरी बास्ना आउँदैन । फेरि साथीहरूले मालपुवा निकालेको मात्र देखेका हुन्छन् तर लेखकले ‘एउटाको झोलाबाट अर्कोले मालपुवा निकालेर खाएको कुरा’ भनिदिएका छन्, यो पनि नमिलेको देखिन्छ । पात्रहरूको नाम उस्तैउस्तै हुनाले पाठक घरिघरि झुक्किन सक्छन् । तर कुनै पनि काम सर्वथा पूर्ण पनि त कहाँ हुन्छ र ! साथै सबैको एउटै विचार पनि त हुँदैन ।
समग्रमा भन्नुपर्दा हिमालय बुक स्टल, काठमाडौंले पाठकसमक्ष उतारेको यो बालउपन्यास नेपाली बालसाहित्यको कोसेढुङ्गो बन्ने लक्षण देखाउँदै उदाएको छ । यसका लागि उपन्यासका सर्जक कृष्णदीप सिग्देल बधाईका पात्र बनेका छन् ।
– यशु श्रेष्ठ