गैरकानुनी रुपमा ब्यापारीबाट रकम असुल्दै यारी भन्सार कार्यालय

गैरकानुनी रुपमा ब्यापारीबाट रकम असुल्दै यारी भन्सार कार्यालय


नेपाल र चिनको सिमानामा रहेको यारी भन्सार कार्यालयले व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । कार्यालयका कर्मचारीहरु नै कमाउ धन्दामा लागेपछि यारी भन्सार रकम असुलीको अखडा बन्दै गएको हो ।

कर नतिरेर नाम्खा–६ लिमीका ब्यापारी तन्जन लामाले यारी नाका भन्सार कार्यालय हुदै तिब्बतको ताउलाकोट निकासी गर्न लागेको ३ लाख बढी मुल्यका चाँदीले मोडेको काठका भाँडा (फुरु) तथा अन्य सामानको भ्याट वापत भन्दै प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको निर्देशनमा यारी नाका भन्सार कार्यालयले २७ हजार ५ सय ६० रुपैयाँ असुल्दै आएको छ ।

एकदशक देखि तिब्बतको ताउलाकोटमा ब्यापार गर्दै आएका नाम्खा गाउँपालिका १ हेप्काका सुनाम लामाले कर्मचारीको सेटिङमा गैरकानुनी रुपमा रकम उठाउने गरेको बताए । भन्सारको नियम अनुसार सामान देश बाहिर निकासी गर्दा निकासी गरेबापत निकासी शुल्क १ सय १३ रुपैयाँ बाहेक अरु केही पनि लाग्दैन् । यस विषयमा जानकारी लिदाँ आफू कार्यालयको काममा काठमाडौ आएकाले केका लागि रकम उठाएको हो सो कुरा आफूलाई जानकारी नभएको यारी नाका भन्सार कार्यलयका प्रमुख रामचन्द्र भट्टले बताए ।

हिल्सामा रहेको भन्सार कार्यालयले करका नाममा स्थानीय व्यापारीबाट गैर कानुन रुपमा रकम असुली गर्ने गरेको छ । यदि कानुन बमोजिम ब्यापारीले भ्याट नतिरेर सामान ल्याएको छ भने सबै सामान सिज हुनुपर्ने र भन्सारले रसिद काट्नुपर्ने स्थानीय व्यापारीहरु बताउँछन् । तर सो सामान सिज गर्नुको सट्टा कानुन बिपरीत प्रमुख जिल्ला अधिकारीको निर्देशनमा ब्यापारीलाई धम्क्याएर रकम उठाउन लगाएको ताउलाकोट ब्यापार संघका सदस्य छिरीङटसी लामा बताउँछन् ।

भन्सार कार्यालय यारीले सेतो कागजमा रकम भुक्तानी गरेको छाप लगाएर कानुन बिपरीत काम गरेको समेत भेटिएको छ । सामानसँगै भन्सार कार्यालयमै पुगेका प्रजिअ ढुंगानाले स्थानीय ब्यापारीले राज्यलाई कर नतिरी सामान ल्यायकोले आफूले भन्सारका कर्मचारीलाई हिसाब गरेर भ्याट बराबरको रकम लिन लगाएको बताए ।

भन्सारमा राजस्व संकलन गर्ने रसिद हुँदाहुँदै व्यापारीबाट रकम उठाएर सेतो कागजमा रकम बुझेको प्रमाण दिनु सरासर गलत नियत भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रमुख राजन रेग्मीले बताउँछन् । ‘यसरी उठाएको रकम कुनैपनि हालतमा सरकारी खातामा जम्मा नगरी सिधै व्यक्तिको खल्तीमा जाने निश्चित छ । कोष तथा लेखा नियन्त्रक रेग्मीले भने, ‘यो सरासर भ्रष्टाचार हो ।’

यता, निकासी हुने सामानमा भ्याट लिन नपाउने भन्सार विभागले जनाएको छ । कर उठाउने जिम्मा कर कार्यालयको भएको बताउँदै भन्सार विभागका महानिर्देशक तोयम रायले यारी नाका भन्सार कार्यालयले आफूखुशी रकम उठाउनु कानुन विपरित भएकाले कानुनी कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

छिमेकी मुलुकसँग प्रत्यक्ष सिमा जोडिएको यारी भन्सारमा भएको यो घटना यसै पटक मात्रै नभएको व्यापारीहरु बताउँछन् । वर्षको अधिकांश समयमा कर्मचारी नखटिने, खटिएपनि यसरी कानुन विपरित रकम असुलेर खल्तीमा हाल्ने प्रवृत्तिले चिनको खुला नाकाका रुपमा सरकारले प्रस्ताब गरेको नाकाबाट आयात निर्यात हुने सामानमा सरकारले बर्षेनी लाखौ रकम गुमाउदै आएको उनिहरु बताउँछन् ।