राज्यले बेवास्ता गरे पनि बागेश्वर गौरीधाममा श्रद्धालुको घुइँचो

राज्यले बेवास्ता गरे पनि बागेश्वर गौरीधाममा श्रद्धालुको घुइँचो


bichar– मुक्तिनाथ भुसाल
बाग्लुङ जिल्लाको सदरमुकाम बाग्लुङ नगरपालिका ११ उपल्ला चौरमा रहेको बागेश्वरी गौरीधाममा भक्तजनको धुइरो लाग्ने गरेको छ । ०५९ साल असारको १६ गते आइतबार मोटरबाटो र नाली खन्ने क्रममा उक्त स्थानमा काम गर्नेहरूबीच सामान्य मनमुटाव हुनुको साथै खन्ने काममा आलश्यता देखाएका थिए । अर्काे दिन अर्थात् असार १७ गते सोमबारका दिन स्थानीय गन्नेमान्नेहरू पनि काममा जुटेकै बखत नाली खन्ने क्रममा औजार उक्त ठाउँमा भासिए । एक्कासि के भयो भनी स्थानीय आत्तिएकै बखत शिवजी, गणेशका मूर्ति, नाग, बाघ, भालु, पूजाको थाली, सूर्यलाई अर्घ चढाउने सामान, सरस्वती, कामधेनु गाईको थुनलगायत थुप्रो चिजहरू देखापरेको स्थानीय सागर क्षेत्री जानकारी गराउँछन् ।
मन्दिर व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार बुद्धिबहादुर केसीसँग यसबारे रोचक स्मरण रहेछ । उनका अनुसार उल्लेखित भगवान्का प्राकृतिक मूर्ति र पूजा सामग्री भेटिएलगत्तै उक्त स्थानको माटो लिई जिल्लाका प्रमुख ज्योतिषीकहाँ पुगी ‘त्यस स्थानमा घर बनाउन होला कि नहोला ?’ भनी सोध्दा ज्योतिषीले नहुने सल्लाह दिएछन् । यस माटोमा भगवान्ले बास गरेका कारण घर होइन मन्दिर बनाउनुपर्छ भन्ने ज्योतिषीको तर्क रहेछ । सोही सल्लाहअनुरूप स्थानीयवासीमा खुसीको लहर भित्रिएछ । मन्दिर व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार बुद्धिबहादुर केसीले हालसम्म पनि बिर्सन नसकेको बताए । स्थानीयकै सक्रियतामा मूल मन्दिरको निर्माणसँगै सत्तल बनाइयो र ०६६ सालमा महायज्ञ सम्पन्न गरेकै कारण हाल मन्दिरको खातामा सात लाख रुपैयाँ सुरक्षित रहेको थप जानकारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद उपाध्यायले जानकारी गराएका छन् ।
स्थानीय ओमनारायण जैसीको सक्रियतामा सप्ताह मण्डल र पानीट्याङ्की, हिराबहादुर विष्टको लगानीमा गणेश मन्दिर, श्रीमती तीर्थ श्रेष्ठको लगानीमा अग्निकुन्ड, देवीकुमारी श्रेष्ठको लगानीमा १०८ शिवालिङ्गको स्थापना भएको कुरा अर्का समाजसेवी तुल्सीराम सापकोटाले जानकारी गराएका थिए । नेचुरल रूपमा भगवान्को उत्पत्ति भएको यो पवित्र स्थानमा लगाइएको रुद्राक्षको बिरुवा अत्यन्तै चाँडो हुर्किएकोमा स्थानीयवासीहरू छक्क परेका छन् भने स्वच्छ मनमा यो पवित्र स्थानमा वर माग्ने हो भने मनोकाङ्क्षा पूरा हुने दरिलो विश्वास श्रद्धालुहरूमा रहेको छ । करिब १५ रोपनी क्षेत्रफल ओगटेको यो मन्दिरमा दिनहुँ भक्तजनको धुइरो लाग्ने गरेको र साउनको प्रत्येक सोमबार एकै दिनमा २६ देखि ३० हजार नगद भेटी उठ्ने गरेको व्यवस्थापन समितिवाट बुझिएको छ ।
बाग्लुङ नगरपालिकाको उपल्लाचौरमा रहेको यो पवित्र मन्दिरसम्म पुग्न सडकको समस्या रहेको छ । मुस्किलसँग मोटरसाइकल जान सके पनि अन्य सवारीसाधनहरू यो पवित्र स्थानसम्म जान नसक्नुमा राज्य पक्षको लाचारपन भएको कुरा स्थानीयहरूले एकै स्वरमा जानकारी गराएका छन् । राज्यले थोरै मात्र यो स्थानलाई ध्यान दिने हो भने नगरपालिकाको चहलपहलमा भिन्नता आउने भए पनि यसलाई बुझिदिने कसले ? हुनत बाग्लुङ नगरपालिका आफैँमा शोभायमान भए पनि यसभित्र रहेका साघुँरा, भताभुङ्ग र कच्ची सडकको सामना गर्न बाग्लुङवासी अहिले पनि विवश बनेका छन् । वर्षात्को समयमा पैदल यात्रा गर्ने स्थानीयलाई समस्या त छ नै उता बाग्लुङ नगरपालिकादेखि बुर्तिवाङ पुग्ने सडक कच्ची भएको र बर्खामा यातायातका साधन चल्न नसक्ने कारण त्यस क्षेत्रका जनताले सबै चिजबाट सास्ती व्यहोर्नुपरेको व्यथा हालसम्म मुलुकमा गठन भएकमा जनताका प्रतिनिधि भनौँदा नेता र उनका सरकारहरूको ध्यान पुग्न नसक्नु अर्काे विडम्बनाको विषय बनेको छ ।