बैंकिङ प्रणालीमा ७७ अर्ब रुपैयाँ अधिक तरलता

बैंकिङ प्रणालीमा ७७ अर्ब रुपैयाँ अधिक तरलता


कुनै बेला तरलता समस्याले बैंक तथा बित्तिय संस्थाहरुलाई हैरान पारे पनि पछिल्ला दिनमा अधिक तरलता हुन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा ७७ अर्ब रुपैयाँ अधिक तरलता देखिएको छ । प्रणालीमा तरलता बढिरहँदा सरकारी कोष एक खर्ब ३९ अर्ब रुपैयाँले बचतमा देखिएको राष्ट्र बैंकले जनाएको छ । प्रणालीमा अधिक तरलता आएपछि बैंकहरुबीच हुने आपसी सापटी दर २ प्रतिशत हाराहारीमा झरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

‘बैंकहरुमा अधिक तरलता थुप्रिन थालेपछि राष्ट्र बैंकले त्यसलाई तान्न निक्षेप तथा अन्य मौद्रिक औजार प्रयोग गर्न थालेको छ ।’ कार्यकारी निर्देशक थापाले भने, ‘यसरी निक्षेप तान्दा प्रणालीमा अधिक तरलता कम हुन्छ र अन्तर बैंक ब्याज दर बढ्नेछ ।’

औषत सिसिडी रेसियो ७४–७५ प्रतिशतमा झरेको बैंकरहरु बताउँछन् । विगतमा तरलता अभाव हुँदा बैंकहरुले ऋण दिन सकेका थिएनन् । अहिले २८ बाणिज्य बैंकको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) सहज अवस्थामा आएको छ ।