नेपाली काङ्ग्रेस फेरि विभाजनतर्फ ?-राजेश ढुंगाना

नेपाली काङ्ग्रेस फेरि विभाजनतर्फ ?-राजेश ढुंगाना


नेपाली क्रान्ति र परिवर्तनको साठीवर्षो पर्याय नेपाली काङ्ग्रेसको स्थापना गर्दा संस्थापक महान् स्वप्नदर्शी नेता विश्वेश्वरप्रसाद कोइराला र अरूहरूले कुन र कस्तो सपना बुनेका थिए- काङ्ग्रेसको भावी यात्राका सम्बन्धमा ? यतिबेलाको काङ्ग्रेस नेतृत्वका हर्कतहरू हेर्दा यो प्रश्नमाथि छलफल अनिवार्य भएर आएको छ । इतिहासको प्रारम्भिक कालदेखि प्रथम आमनिर्वाचनसम्म जनसमर्थनको हिसाबले लगभग ‘एक्लो’ पार्टी रहेको यो दल यतिबेलासम्ममा खिइँदै-खिइँदै प्रजापरिषद् र तत्कालीन अन्य दलहरूको नियतिको नजिक पुगेपछि काङ्ग्रेस कार्यकर्ता र आमप्रजातन्त्रवादी चिन्तित बनेका छन् ।
परम्परागत नेपाली समाजलाई बदल्न प्रथम र निर्णायक प्रहार गरेर त्यसपछि पनि लगातार त्यसैका लागि निरन्तर रक्तबलिदानको गौरवमय इतिहास बोक्ने नेपाली काङ्ग्रेसको आयु सकिएकै हो भने त कसैको कुनै पनि चिन्ता र प्रयत्नले केही लाग्दैन । सधैं सर्त्कर्म गर्ने र धेरै भक्तजनहरूलाई जीवनदान दिएका भनिइएका साइबाबा स्वयम्को पनि मिति सकिएर मृत्युको मुखमा छन् भने काङ्ग्रेस त एउटा राजनीतिक पार्टी मात्र न हो †
होइन, काङ्ग्रेसको ‘भगवान्’ले तोकेको आयु सकिएको होइन भने निश्चय नै उपचारका उपायहरू बाँकी हुनुपर्छ । यदि अहिलेका सभापति र केन्द्रीय समिति इमानदार छ भने ती उपायहरू खोजोस् । तब मात्र काङ्ग्रेसको नवजीवन सम्भव छ । नत्र काङ्ग्रेसको मृत्युलाई कसैले रोक्न सक्ने छैन ।
तर अज्ञानी र लोभी-पापी नेतृत्वले सहजै यस्तो सत्कार्य गर्ने कुनै लक्षण छैन । दूरदृष्टि अहिलेको नेतृत्वको गिदीमा भगवान्ले जन्मँदै नहालिदिएपछि कसको के लाग्छ ? यहाँ मैले नेतृत्व भनेर सम्बोधन गर्दा सुशील कोइरालालाई त गरिएकै हो, तर उनका विपक्षलाई र केन्द्रीय समितिमा र सभासद् भएका सबैलाई पनि गरेको हो । जो काङ्ग्रेसको जरामा पानी हाल्न लागेनन् । इतिहासको यो पीडादायी बेलामा पनि आफ्नै व्यक्तिगत प्राप्तिमै लिप्त रहे । तर, बुझेनन्- काङ्ग्रेस नै नरहे, उनीहरूले पाएको चिज कहाँ धेरै दिन रहनेवाला छ ?
अहिले नेतृत्व भ्रातृ सङ्गठन भङ्ग गर्ने वा नगर्ने भन्ने लज्जास्पद विवादमा दिनरात अल्भिmरहेको छ । यो कस्तो कुरा हो भने- प्रलय भइरहेको छ तर एउटा केटो आफ्नो गुच्चा हराउला भन्ने चिन्तामा गुच्चा सुरक्षित पार्ने ध्याउन्नमा छ । अब काङ्ग्रेस नेतृत्वलाई कसले बुझाओस्- मृत्युभन्दा गुच्चा सानो हो । हुन त यो कुरा स्वर्गीय गिरिजाप्रसादकै बेलादेखि थालनी भएर अहिलेको नेतृत्वले विरासतमा पाएको हो । विरासतमा खराब कुरा पाउँदा ऊ दुःखी हुनुपर्ने । तर, ऊ रमायो । यसैमा मजा मान्यो । र, आत्मरतिमा लाग्यो । दुःख यसैमा हो । नत्रभने विरासतमा ऋण बोक्ने छोराहरूले पनि ऋण तिरेका मात्र छैनन् । ठूलो उद्यम थपेका पनि छन् । तर, यस्ता लायक काङ्ग्रेसमा निस्केनन् । पारेको अण्डाले नपुगेर काङ्ग्रेसको वर्तमान नेतृत्व (सभापतिलगायत एक-डेढ सय जना †) अण्डा पार्ने कुखुरी नै खाने दाउमा छ ।
भ्रातृ सङ्गठन र पदाधिकारी मनोनयन विवादलाई यसै रूपमा लिन सकिन्छ । यदि यी दुवै काम केन्द्रीय समितिमा कथित बहुमत-अल्पमतबाट निर्णय गरियो भने- त्यो पार्टी विभाजनको घुमाउरो तर टार्नै नसकिने निर्णय ठहर्‍याउनेछ- इतिहासले ।