नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला नेपाली राजनीतिमा निष्ठा र सिद्धान्तको राजनीतिको पर्यायको रूपमा परिचित हुनुहुन्छ । मुलुकमा लोकतन्त्र, स्थायित्व र विकासका लागि आफ्नो निजी जीवनलाई समेत वास्ता नगर्नुभएका कोइराला फेरि पनि सङ्कटमा परेको लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनको विकल्प नभएको भन्दै मङ्सिर ४ गतेका लागि घोषित निर्वाचन कुनै पनि हालतमा सफल गराइछाड्ने अभियानमा लाग्नुभएको छ । उहाँसँग मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी
० मङ्सिर ४ गते नेपालमा कसरी निर्वाचन हुँदै छ ?
– मुलुकका प्रमुख दलहरू निर्वाचनमा जुटेका छन् । अरू असन्तुष्ट दलहरूलाई पनि निर्वाचनमा ल्याउन प्रयास गरिरहेका छन् । त्यस्तै, चुनावी कार्यक्रम पनि सार्वजनिक भइसक्यो । निर्वाचनको विषयमा आन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय चासो पनि छ । नेपालमा निर्वाचन गर्न अन्तर्राष्ट्रिय शक्तिले सहयोग गरिरहेका छन् । नेपालमा शान्ति, स्थायित्व र विकास होस् भनेर कसैले भन्छन् भने त्यो नराम्रो कुरा होइन । आफ्नो देशको जनताको पेट काटेर अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालमा सहयोग गरेका छन् । उनीहरूले नेपालमा शान्ति, स्थायित्व र विकास निर्वाचनमार्फत चाहेका छन् । जनता पनि जागेका छन् । अहिले मैले नेपालमा निर्वाचनको वातावरण बनेको मानेको छु ।
० शीर्ष नेताहरू नै निर्वाचनको पक्षमा छैनन् भन्ने आशङ्का गरिँदै छ नि ?
– को निर्वाचनको पक्षमा छैन तपार्इं आफैं भन्नुस् । त्यो वाहियात कुरा हो ।
० चार दलका नेताहरूले सार्वजनिक रूपमै प्रचण्डप्रति आशङ्का व्यक्त गर्दैै छन् ?
– प्रचण्डजीको भित्री मनमा के छ मलाई थाहा छैन, तर बाहिर जसरी उहाँले प्रतिबद्धता जनाउनुभएको छ । पहिला उहाँमाथि आज एउटा भोलि अर्को कुरा गर्नुहुन्छ भन्ने आरोप लाग्थ्यो । यदि त्यसो होइन भने उहाँ पनि निर्वाचनको पक्षमा लाग्नुभएको छ । फेरि पनि झुक्याउने कुरा हो भने उहाँकै राजनीति समाप्त हुन्छ ।
० वैद्य समूहलाई नल्याई कसरी निर्वाचन होला ?
– दुई–तीनपटक मैले कुरा गरिसकेँ । अझै कुरा गर्न तयार छु । तर, जतिपटक कुरा गरे पनि उहाँहरू सबै कुरा सुरुबाट गर्नुपर्छ भन्नुहुन्छ । त्यो सम्भव छैन । तर, पनि हामी वास्तविकता सम्झाउँछाँै यति गर्दा पनि उहाँहरूले सम्झिनुभएन, जिद्धी गरिरहनुभयो भने उहाँलाई पर्खिएर बस्न सक्दैनौँ । कोही नआउँदैमा देशलाई त्यसै छाड्न सकिँदैन ।
० वैद्य समूहबिनाको निर्वाचनले निकास देला ?
– हामी त उहाँलाई ल्याउन चाहन्छौँ । प्रचण्डका समेत गुरु उहाँ आफू पनि जिम्मेवार हुनुप-यो । संसारमा कतै सबै माग पूरा हुन सक्दैन । टेबलमा बसेर छलफल गरेपछि केही लिने केही छाड्ने कुरा भए मात्रै सहमति हुनसक्छ । उहाँहरूको सरकार, राजनीतिक समितिमा प्रतिनिधित्व हुन्छ । सरकार खारेजीजस्तो माग पूरा हुँदैन । अहिले हामी उहाँहरूलाई लोकतन्त्र, राष्ट्रियता र मुलुकको अवस्थालगायतका विषयमा सम्झाइरहेका छौँ । तर, एकोहोरो आफ्नै रटान राखेर हुँदैन ।
० गोलमेच मान्नुहुन्छ ?
– अहिले दिनहुँ नै गोलमेच सम्मेलन भइरहेको छ । तर, सबै कुरा नयाँबाट सुरु गर्नुस् भनिरहे मान्न सकिँदैन ।
० माओवादीलाई ल्याउन गिरिजाप्रसाद कोइरालाले राजतन्त्र त्याग्नुभयो, तपाईंहरू वैद्यलाई ल्याउन पनि कुनै सम्झौता गर्न सक्नुहुन्न ?
– हामीले एक्लै गर्ने कुरा हो र उहाँहरू पनि वार्तामा आउनुप-यो नै त्यसै सम्झौता गर्ने हो र ? वार्तामा आए उच्चस्तरीय राजनीतिक समिति पनि खारेज हुनसक्छ ।
० वैद्य समूह जति गरे पनि चुनावमा आउँदैन भनिँदै छ नि ?
– नेपाली काङ्ग्रेस जिम्मेवार पार्टी हो । हचुवाको भरमा कुरा गर्दैन, अन्तिम समयसम्म हामीले वैद्यजीलाई निर्वाचनमा ल्याउन प्रयास गर्छौं । ७ सालमा राणालाई, पञ्चायत र राजालाई सम्झाउने प्रयास ग-याँै तर मानेनन् र उनीहरू भष्म भए । जनता चुनावमा लागिसके, अब उहाँहरू जनताको विरुद्ध लाग्नुहुन्छ भने जनताले छाड्नेवाला छैन । भाँड्ने कुरालाई जनताले चुप लागेर बसेर हेर्दैनन् ।
० वैद्यले चुनाव बिथोल्न सक्नुहुन्छ कि हुन्न ?
– जनता अब धेरै सचेत भइसके । अब निर्वाचन बहिष्कार गर्नेलाई जनताले बहिष्कार गर्छन् । उहाँहरू आफँै आइसोलेसनमा पर्नुहुन्छ । मङ्सिर ४ गते निर्वाचन हुन्छ । काङ्ग्रेस त्यही पक्षमा छ ।
० चुनाव सर्दैन ?
– सबै कुरा अघि बढिसक्यो, अब चुनाव सर्दैन । निर्वाचनजस्तो विषयमा खेलवाड गर्नुहुँदैन । जनताको हकअधिकारसँग खेलवाड गर्नुहुँदैन । प्रकृतिले दिएको उपहारलाई कसरी उपयोग गरेर विकास गर्नेभन्दा पनि जहिले पनि झगडा गरेर अब चल्नेवाला छैन ।
० तर, संविधानसभाको निर्वाचनमा त सबै सहभागी हुनुपर्ला नि ?
– सहभागी हुनुपर्ने त हो । त्यसैका लागि हामीले अहिलेसम्म प्रयत्न गरिरहेका हौँ । नेपालको विकास, उन्नति र स्थायित्वका लागि नेपाली काङ्ग्रेसले सधैँ प्रयत्न गरिरहेको छ । हामी सबैले भेटेर कुरा गरिरहेका छौँ । हामी मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्न कहिल्यै पछिपर्ने छैनौँ ।
० असन्तुष्ट पक्षलाई निर्वाचनमा ल्याउन सक्नुहुन्छ ?
– हामी प्रयत्न गरिरहेका छौँ । उहाँहरूले वार्ताको आफ्नो बटमलाइन भन्नुप-यो । अशोक राई र उपेन्द्र यादव समूहको माग वैद्यको भन्दा फरक भएकोले उहाँहरू निर्वाचनमा आउनेमा म विश्वस्त छु । एकोहोरो हुँदैन वार्ताबाट विनविन स्थितिमा सहमति गर्नुपर्छ ।
० ६०१ मा जान तयार हुनुभएको हो ?
– यसमा काङ्ग्रेस अहिलेसम्म सहमत भएको छैन । यो धेरै छलफल भएर आएको कुरा हो । जनताले पनि यो देश कङ्गाल बनाउने सङ्ख्या हो भनेर आलोचना गरिरहेको अवस्थामा यो हुँदैन ।
० भारतले निर्वाचन किन चाहेको ?
– भारतले मात्रै होइन । चीन, अमेरिका, ईयू, रुस सबैले चाहेको छ । मित्र र छिमेकी देशमा शान्ति उन्नति होस् भनेर चाहनु उचित हो । आफ्नो देशको जनताको पेट काटेर सहयोग गर्नेले शान्ति, स्थायित्व होस् भन्दा के फरक पर्छ । भारतमा मैले चुनाव गर्दै छौँ भने उहाँहरूले समर्थन गर्नुभयो ।
प्रतिक्रिया