- विशेष प्रतिनिधि, टोकियो (जापान)
नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलनमा सहभागी हुन नेपालबाट ४१ जना, अमेरिकाबाट १ जना, युरोपबाट १ जना तथा नेपाल पत्रकार महासंघ यूके शाखाबाट ३ जना गरी कुल ४६ जना पत्रकार जापानको राजधानी टोकियो आइपुगेका छन् ।
विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ आयोजना गरिएको यस सम्मेलनले नेपाली पत्रकारिताको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, अनुभव आदान-प्रदान, व्यावसायिक क्षमता अभिवृद्धि तथा प्रवास र मातृभूमिबीच सञ्चार सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार सम्मेलनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । सहभागी पत्रकारहरूको स्वागत, आवास, यातायात, दर्ता तथा कार्यक्रम सञ्चालनका सबै तयारी पूरा भइसकेको उहाँले जानकारी दिनुभयो ।
यस सम्मेलनको विशेष आकर्षणका रूपमा नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा जापानको परराष्ट्र मन्त्रालयबाट उपलब्ध गराइएको ७०औँ वर्षको आधिकारिक लोगो सम्मेलनमा प्रयोग गरिने भएको छ । यसले सम्मेलनलाई थप ऐतिहासिक र औपचारिक महत्व प्रदान गरेको आयोजकको विश्वास छ ।
जुलाई २५ मा टोकियोमा आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वका विभिन्न मुलुकबाट आएका पत्रकारहरूबीच समसामयिक सञ्चार चुनौती, डिजिटल पत्रकारिता, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया