अनियन्त्रित कार त्रिशुलीमा खस्दा एकको मृत्यु

अनियन्त्रित कार त्रिशुलीमा खस्दा एकको मृत्यु


पृथ्वीराजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६, जरेस्थित सडकबाट एउटा कार शुक्रबार त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

पोखरा जाँदै गरेको बा. १४ च ३७५८ नम्बरको कार सडकबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुवेदीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।

तीनजना सवार कारमा दुईजना भने पौडिएर बाँच्न सफल भएका बताइएको छ । पौडिएर बचेका कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाइते भएका छन् । तीब्र गतिका कारण अनियन्त्रित भई त्रिशुली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।