विपन्न परिवारका लागि १२ करोड खर्चेर बनाइएको भवन अलपत्र

विपन्न परिवारका लागि १२ करोड खर्चेर बनाइएको भवन अलपत्र


मुलुुकमा सरकार फेरिएसँगै अघिल्लो सरकारले ल्याएका योजना कसरी प्रभावित हुन्छन् भन्ने एउटा उदाहरण हो– यि भवन । गरिव तथा विपन्न परिवारका लागि भन्दै सरकारले भवन त बनायो ।

तर, कार्यविधि बनाएन । कार्यविधि नहुँदा पुनःस्थापन गर्ने परिवार पहिचान गर्न नसक्दा यि भवन अझै प्रयोगमा नआएको भवन डिभिजन कार्यालयका प्रवक्ता लिला खतिवडाले जानकारी दिए । उनका अनुसार भवन निर्माण पूरा भएको पाँच बर्ष बित्दा पनि लक्षित वर्ग पहिचान हुन नसक्नुको मूल कारण हो सरकारी निकायबीचको समन्वय अभाव ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सरकारले सहरी गरिव तथा न्यून आय भएका परिवारका लागि भन्दै आवास योजना ल्यायो । र, त्यही योजनाअन्तर्गत काठमाडौंको इचुंगुनारायणमा सुविधा सम्पन्न भबन बनाइयो । तर, झण्डै १२ करोड खर्चिएर बनाइएका भवन पाँच बर्ष बित्न लाग्दासमेत प्रयोगमा ल्याइएको छैन ।

किन समन्वय भएन भन्दा मन्त्रालय र विभाग जिल्लास्तरका कार्यालयलाई र जिल्लास्तरका कार्यालय मन्त्रालय र विभागलाई दोष दिन्छन् । यतिबेला कार्यविधि बनाउनेभन्दा यि भवन अन्य प्रयोजनका लागि भाडामा दिने की खाली नै राख्ने भन्ने बहस चलिरहेको छ । करिव ४ रोपनी ३ आना जमिनमा तयार गरिएको ‘अपार्ट’मा तीन–तीन वटा ब्लक छ । जहाँ १ सय २७ परिवारलाई आवास दिन सकिन्छ ।

कार्यविधि ल्याउन नसक्दा सहरिया न्यून आय भएका गरिव तथा सुकुम्वासी परिवारले न घर पाए, न सरकारको योजनाले नै सार्थक भयो । सरकारी निकाय कार्यविधि बनाउन सक्रिय हुने हो भने सीमित परिवारले भए पनि राहत पाउने थिए । बरु, झण्डै १२ करोड सरकारी खर्च बालुवामा पानी भएको छ ।