– पदम भट्टराई
स्थापनाको दशकदेखि नै राणा, शाही र कम्युनिस्टहरूको तारो बनेको नेपाली काङ्ग्रेसका लागि उपयुक्त र सशक्त वातावरण कहिल्यै बन्न सकेन । नेपालको इतिहास र नेपाली राजनीतिको खुला वातावरणमा नेपाली काङ्ग्रेस सधैँ चर्चा र मुख्य भूमिका त रहिरह्यो, तै पनि विभिन्नखाले नवोदयी शासकहरू र आन्दोलनका सहयात्री भनिएका दलहरूबाटै नेपाली काङ्ग्रेसमाथि कुदृष्टि र प्रजातान्त्रिक निष्ठामाथि कुठाराघात गर्ने दुष्प्रयत्न भई नै रहे । राणाशासनको अन्त्यका लागि नेपाली काङ्ग्रेसले राजा त्रिभुवनसँग गरेको सम्झौता र त्यसपछि नेपाली जनमासनमा देखिएको नेपाली काङ्ग्रेसप्रतिको विश्वासले सम्भवत: नेपालको इतिहासमा नै पहिलोपटक भएको संसदीय आमनिर्वाचनमा काङ्गे्रसले दुईतिहाइ मत प्राप्त गरी शासनसत्ता सम्हाल्ने अवसर प्राप्त ग-यो । त्यो शासन, जुन शासनको छोटो अवधिमा नै नेपालमा ठूलाठूला आमूल परिवर्तनका सङ्घारहरू खोल्यो, तर नेपाली काङ्ग्रेसका कटिबद्धता र नेपाली जनताको उज्ज्वल भविष्यको अभिलाशा पूरा गर्ने माध्यम (नेपाली काङ्ग्रेसको एकमना सरकार) नै धरापमा पारेर राजा महेन्द्र र कथित कम्युनिस्ट (जो राजाबाट सञ्चालित थिए)को साँठगाँठबाट बीपीको सरकारलाई निलम्बन र जेल हाल्ने काम गरियो । त्यसको प्रत्यक्ष प्रभाव पञ्चायतको नामबाट राजा महेन्द्रले कम्युनिस्टको दह्रो बिउ रोप्ने काम गरे ।
प्रजातन्त्र, मौलिक स्वतन्त्रता, संसदीय राज्यप्रणाली र जननिर्वाचित सरकारको पक्षमा उभिने विश्वास नेपाली काङ्ग्रेसमा रहिरह्यो, भूमिगत रूपमा नेपाली काङ्ग्रेसको सङ्गठनात्मक संरचनामा वृद्धि भई नै रह्यो । चाहे राजनीतिको शीर्षपङ्क्तिमा होस् या शासक वर्गसँगको चुनौतीको सामना गर्ने थप कार्यभार पनि नेपाली काङ्ग्रेसकै काँधमा रहिरह्यो ।
इतिहासका यी कुराहरू कोरिरहँदा देशको राजनीतिक अवस्था र हाम्रासामु भएका विविध घटनाक्रमका जोड–घटाउको मूल्याङ्कन गर्न जरुरी छ । हिजो तत्कालीन राजा महेन्द्रसँग सैनिक शक्ति थियो, त्यसैको आडमा कथित कदमहरू चाले । तर, आजको राज्यव्यवस्था र राजनीतिक दलविशेषका कारण पनि यस्तैखाले दक्षिणपन्थी शक्ति र उग्र वामपन्थी शक्तिको चालचलन, बोली–व्यवहार फेरि पनि नेपाली काङ्ग्रेसप्रति नै लक्षित भएको अनुभूति हुन थालेको छ ।
वर्तमान कर्मचारी–सरकारको काँधमा आएको जिम्मेवारीको महत्वपूर्ण पाटो भनेको दोस्रो संविधानसभाको निर्वाचन नै हो । र, यसको समाधानका चुनौतीको मूल्याङ्कन गर्दा दलीय हिसाबले नेपाली काङ्गे्रस पहिलो शक्तिशाली पार्टीको रूपमा आउने कुरामा कुनै शङ्का रहन्न, तर पनि देशभित्र विभिन्नखाले उग्रवाम र उग्र दक्षिणपन्थी शक्ति सल्बलाएको देख्दा लाग्छ– आसन्न निर्वाचनमा पनि हिजोको भूमिगत शक्ति र वर्तमान एमाओवादी, ड्यास माओवादी अनि रहलपहल दरबारिया षड्यन्त्रको घात–प्रतिघातको सिकार नेपाली काङ्गे्रस नहोला भनी निश्चिन्त हुने अवस्था छैन ।
एकातिर देशमा विद्यमान राजनीतिक शक्तिहरूको आपसी खिचातानी भइरहेको छ भने अर्कातिर निर्वाचनको विपक्षमा उभिएका शक्तिहरू विभिन्न अनावश्यक बहानामा निर्वाचन भाँड्ने र देशलाई अस्थिर बनाइराख्ने मनस्थितिमा देखिएका छन् । जो शक्ति, विशेषत: नेपाल–माओवादी अन्तर्राष्ट्रिय आतङ्क र आतङ्कसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो देशमा शान्ति र सुशासन कायम हुन नदिने प्रपञ्च नै हो । मैले अगाडि पनि उल्लेख गरिसकेँ, कम्युनस्टिहरू प्रत्यक्ष रूपमा महेन्द्रबाट जन्माइएका अथवा भरणपोषण भइआएका नै हुन्, चाहे नवमाओवादीको नाममा वा पहिलेकै अन्य कुनै नाममा र अर्कोतिर पञ्चायतका अवशेषहरू पनि महेन्द्रकै उपलब्धि हुन् । यी सम्पूर्ण शक्ति एकातिर र नेपालको वास्तविक राजनीतिक शक्ति नेपाली काङ्गे्रस एकातिर भएको अवस्था छ । र, अब हुन गइरहेको आसन्न निर्वाचन पनि त्यही उल्लेखित धु्रवमा गएर धु्रवीकरण भएको अनुभूति हुन थालेको छ ।
नेपाली जनताको नाम मात्रै उचालेर आफ्नो राजनीतिक शक्ति सन्तुलन गर्न खोज्ने प्रचण्डवादी सोच होस् वा जनताकै नाम बेचेर होस् विभिन्नखाले धम्की र अशोभनीय भाषा प्रयोग गरेर आउने नेकपा–माओवादी होस् यिनीहरू कुनै न कुनै अर्थमा एउटै हुनु र एउटै पृष्ठभूमिबाट सञ्चालित हुनु पनि नेपालको शान्ति र विकासमा बाधकको रूपमा देखिनु स्वाभाविक नै मान्नुपर्छ । हुन त हरेक व्यक्ति कुनै न कुनै राजनीतिक सोचमा रहेकै हुन्छन् तर स्पष्ट र यकिन साथ कुनै पनि राजनीतिक शक्तिको सदस्यता नलिई वा कसैको पछि नलागी स्वतन्त्र ढङ्गले विश्लेषण वा आफ्नै शैली र विचारमा रहेका पनि हुन्छन् । हो, त्यस्ताखाले पर्दापछाडिका विचार र व्यक्तित्वहरू नै वास्तविक रूपमा नेपाली काङ्गे्रसका मतदाताहरू हुन्छन् भन्ने हामीले मूल्याङ्कन गर्न जरुरी छ । नेपाली काङ्गे्रसले कुनै जात, धर्म, समुदाय वा अन्य कुनै भौगोलिक आधारमा राज्य र जनतालाई समुदाय वा अन्य कुनै भौगोलिक आधारमा राज्य र जनतालाई विभेद गरिनुहुन्न भनेर आफ्नो स्पष्ट अडान राख्नुपर्ने चुनौती र आसन्न निर्वाचनको घोषणापत्रमा पनि यस्तैखाले विषयमाथि पनि विवेचना हुन जरुरी छ । यस्तो चुनौती जसको पछिसम्म पनि आमजनताले बुझ्ने र मूल्याङ्कन गर्न पाउनेछन् । जुन कुराको कारकतत्वले निर्वाचनमा समेत जनताको भावनाको उच्च मूल्याङ्कन हुनेछ । नेपाली काङ्गे्रसका सामु यसको ठीक विपरीत जातीय, भाषिक र साम्प्रदायिक हिसाबले जनता–जनताबीचको फाटो ल्याएर समाजमा विकृति र विसङ्गति फैलाउने उग्रवामपन्थी शक्ति छन्, जसले देशको कहिल्यै भलो चाहेन, मात्र काल्पनिक, कोरा र मौखिक भाषणले नेपाली जनताको आशा र भरोसालाई सधैँ अल्झाइरह्यो, सधैं मलमल्याइरह्यो र आफ्नो शक्ति र सत्ता प्राप्त गर्ने एउटा मसलाको रूपमा प्रयोग गरिरह्यो, अब पनि नेपाली जनताले यस्ताखाले शब्दजालहरूको भण्डाफोर गर्न सकेनौँ, व्यक्तिको विभिन्नखाले स्वतन्त्रताका पक्षमा उभिएनौँ भने हामी हाम्रो देशलाई अर्को आधा शताब्दीका लागि अन्धकार, बेरोजगारी, अशान्ति, अशिक्षा र पिछडिएको पाउनेछौँ, त्यसैले नेपाली काङ्गे्रसको सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुक साथीहरू एक–आपसमा सद्भाव अनि विचार र कार्यएकता साथ अगाडि बढेमा निश्चित रूपमा नेपालको दोस्रो संविधानसभाको निर्वाचनमार्फत देश र जनतालाई निकास दिन सफल रसक्षम भइनेछ ।
‘राष्ट्रिय स्वाधीनताको नाममा भ्रम र मात्र भोटबैंकको रक्षा गर्न लालायित एनेकपा माओवादी, सुधारवादीको नाम खस्कँदै गएको नेकपा एमाले र राज्य विभाजन गर्न उक्सिएको मधेसवादी दलहरूको सामु नेपाली काङ्गे्रसको विचार वास्तवमा नै सही ढङ्गले मजबुत र निर्णायक छ भनेर हामी भन्न सक्छौँ, तै पनि खोक्रो आश्वासन र आडम्बरमा विश्वास गरिहाल्ने हामी नेपालीको विवेक सही रूपले प्रयोग हुन सकेन वा यथार्थमा उत्रिन सकेनौँ भने संविधानसभाको चुनाव ०६४ सालको जस्तै हुनेछ र फेरि पनि नेपालको संविधान बन्न सक्ने छैन । देशको राष्ट्रिय स्वार्थलाई आत्मसात् गरेर सम्पूर्ण पार्टीहरूले एक कदम पछाडि हटेर आफ्नो आडम्बरबाट केही हदसम्म पछि हट्ने प्रयास गरे भने निश्चित रूपमा देशको विकास र शान्तिको दिन देख्न धेरै समय कुर्नुपर्ने छैन, छिट्टै हाम्रा चाहना पूरा हुनेछन् । यद्यपि अझै पनि विभिन्नखाले शक्तिहरू निर्वाचनको बहिष्कार र उम्मेदवारको उम्मेदवारीमाथि नै धावा बोलिरहेको अवस्था शान्ति र निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न हुन्छ भन्ने कुरामा द्विविधा पैदा भएको छ । एकातिर नेकपा–माओवादीसहितका केही दलहरू छन्, जसको राष्ट्रव्यापी प्रभाव नभए पनि कुनै न कुनै निश्चित निर्वाचन क्षेत्र विश्लेषण केही हदसम्म प्रभाव पक्कै रहनसक्छ, जसको कारणले पनि आसन्न निर्वाचनलाई कमजोर र भाँड्न सक्ने खतरा पैदा हुन सक्छ ।
चुनावी घोषणापत्रको मूल्याङ्कन, वास्तविकता र सही रूपमा गर्न सकिने विकास र जनतालाई दिन सकिने आश्वासन मात्रै चुनावी घोषणापत्रमा उल्लेख गरिनु पनि जनताप्रतिको विश्वास प्राप्त गर्ने माध्यम हो । चुनावको स्थिति र मितिमा मात्रै आएर आफ्ना कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई चिन्नु वा सहयोगको हात फैलाउनु पनि पराजयका कारक हुन सक्छन्, तसर्थ संस्थागत रूपमा पार्टी परिचालन गर्न जग पनि बलियो हुन जरुरी छ । २००४ सालदेखिको अनवरत प्रयास र समयसमयमा गरिएका ठोस र निर्णायक आन्दोलनका भूमिका मात्रै सीमित नरही युवा र तटस्थ जमातहरूलाई सङ्गठनमा भूमिका र प्रयोग नै साङ्गठनिक संरचनाको बलियो आधार हो । पेसा र व्यवसायले विभिन्न तह र तप्कामा भएका समर्थक र शुभेच्छुकको सद्भाव र सहयोगको प्रयास पनि प्रमुख कारक र निर्णायक शक्ति पनि हुन सक्छ । विचार र राजनीति एउटा प्रयोग हो, कसरी कुन ठाउँमा कस्तो तरिका र पे्ररणाले प्रयोगमा ल्याउने भन्ने पनि राजनीति हो, तसर्थ देश र जनताको वर्तमान परिस्थिति, आर्थिक र सामाजिक अवस्था, जातीय र धार्मिक विश्वास अनि धरातलीय र भौगोलिक संरचनाको विविधता भएको हाम्रोजस्तो देशमा नेपाली काङ्गे्रसले आफ्नो अस्तित्व र छविलाई अनवरत प्रयास वैचारिक सङ्घर्ष र जनभावनाका चाहनाहरूलाई चुनौतीको रूपमा लिएर राष्ट्रिय हितमा सिङ्गो देशको स्वार्थका लागि वकालत गर्ने हो भने कुनै पनि शक्ति र दलविशेषसँग नेपाली काङ्गे्रसको प्रतिस्पर्धा देखिन्न, सिङ्गो नेपाली काङ्गे्रस नै राष्ट्रको प्रमुख शक्तिको रूपमा पछिसम्म पनि रहिरहनेछ । यो यथार्थता नै आजको आवश्यकता र चुनौती हो । अस्तु ।
प्रतिक्रिया