खाद्य पदार्थको गुणस्तर मापन गर्ने प्रविधि

खाद्य पदार्थको गुणस्तर मापन गर्ने प्रविधि


हामीले खाने खाद्यपदार्थ, पानी, दूधलगायतको गुणस्तर कस्तो छ भन्ने कुनै जानकारीबिना नै प्रयोग गरिरहेका छौँ । विक्रेताले भनेको वा ती सामानको बारेमा गरिएको विज्ञापनको आधारमा हामीले ती खाद्यवस्तु किनेर प्रयोग गर्छौँ ।

अब हामीले उपभोग गर्ने ती खाद्य पदार्थको गुणस्तर कस्तो छ भनेर केही सेकेण्डमै पत्ता लगाउने प्रविधिको विकास भएको छ । बेलायतस्थित हाइजिना अन्तराष्ट्रिय कम्पनीले बनाएको ‘हाइजिना’ नाम दिइएको उक्त प्रविधिमार्फत जनसुकै सतह र पानीमा भएको किटाणु पत्ता लगाउन सकिने आज आयोजित कार्यक्रममा जानकारी गराइयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालमा खाद्य पदार्थको गुणस्तर मापन गर्ने अत्याधुनिक प्रविधि नहुँदा जनताले गुणस्तर नभएका खाद्य पदार्थ प्रयोग गर्नुपरेको बताए । उनले भने, “पछिल्लो समय जति अस्पताल निर्माण भएका छन्, बिरामीको भीड पनि उस्तै छ । यसको कारण हामीले कस्तो खानपान गरिरहेका छौँ भन्ने पनि पुष्टी गर्छ ।”

उक्त कम्पनीका युरोप, मध्यपूर्व र एसिया क्षेत्रका क्षेत्रीय व्यवस्थापक ह्युगो गोन्जालेजले यो प्रविधिले खानेपानी, दूधलगायतका पेय पदार्थको शुद्धीकरणबारे थाहा पाउन सकिने भएकाले होटल, रेष्टुरेण्ट, अस्पताल, औषधि पसलजस्ता संवेदनशील क्षेत्रमा प्रयोग गर्न सकिने बताए ।

यस प्रविधि नेपाल भित्र्याएको खिलुङ कालिका गु्रपका प्रमुख खुमाप्रसाद अर्याल यो मेशिनले गुणस्तरका लागि हुनुपर्ने शुद्धता छ कि छैन भनेर पत्ता लगाई त्यसलाई सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, खाद्य संस्थान, दुग्ध विकास संस्थानलगायतका प्रतिनिधिले आधुनिक गुणस्तर मापन उपकरणको आवश्यकतामा जोड दिए ।