गुह्येश्वरीको अष्टदल र भैरवको मुखमण्डलमा सुन थप्न शुरु

गुह्येश्वरीको अष्टदल र भैरवको मुखमण्डलमा सुन थप्न शुरु


गुह्येश्वरी मन्दिर गर्भगृहभित्रको अष्टदल र भैरवको मुखमण्डलको मूर्तिमा सुन थप्न शुरु गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले ११० तोला सुन थप्ने कामको क्षमा पूजा गरी शुभारम्भ ग¥यो । सनातनकालदेखि रहेको सुनको मूर्तिमा थप गर्न लागिएको कोषले जनाएको छ ।

आउँदो दशैँअघि सक्ने गरी मन्दिर परिसरभित्रै बाँडाको च्यासल राखेर काम शुरु गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

नेपाल प्रहरी र पुजारीको रोहवरमा बाँडाले दैनिक मन्दिर परिसरमै सुनको मूर्तिमा थप सुनको घेरा राख्नेछन् । यसका लागि कोषले गत वर्ष नै ३३ तोला सुन किनेको थियो । चालु आर्थिक वर्षमा ७७ तोला सुन किनी काम सम्पन्न गरिने कोषले जनाएको छ । यसका लागि रु ८१ लाख बजेट लाग्ने जनाइएको छ । सुनको घेरा बाहिर भने चाँदीको घेरा हुनेछ ।

मन्दिर निर्माण भएदेखि नै अष्टदल र भैरवको मुखमण्डल सुनको बनाइएको जनाइएको छ । पृथ्वीमा गुह्येश्वरी समानको शक्तिपीठ अर्को नभएको विश्वास गरिन्छ ।