राजनीतिमा रामेश्वर– विनोद नेपाल

राजनीतिमा रामेश्वर– विनोद नेपाल


bicharमन्त्रालयको सचिव पदमा कार्यरत रहँदा विभागीय मन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट भएपछि एकाएक राजीनामा दिएर चर्चामा आएका पूर्वसचिव रामेश्वर खनाल राजनीतिमा प्रवेश गरेका छन् । इमानदार र कुशल प्रशासकको रूपमा परिचित उनको इमानदारीलाई उदाहरणीय मान्ने गरिएको छ । स्मरणीय छ, दबाबमा नीति र कानुनविपरीत काम गर्न नचाहने उनी अर्थसचिव पदमा रहँदा २०६७ सालमा तत्कालीन अर्थमन्त्रीसँगको मतभेदका कारण पदबाट राजीनामा दिई भविष्यमा राज्यकोषबाट सुविधा लिने कुनै पनि पदमा नियुक्त नहुने वाचासहित सरकारी सेवाबाट बाहिरिएका थिए ।
राजनीति प्रवेश गर्दा उनले मुलुककै पुरानो र लोकतान्त्रिक पार्टीलाई आफ्नो पार्टीको रूपमा रोजेका छन् । कुशल प्रशासकको रूपमा नाम कमाएका खनाल राजनीतिमा प्रवेश गरेको कुराले धेरैलाई आशावादी बनाएको छ । उनले राजनीतिमा रहेका खराबी पहिल्याई त्यसमा शुद्धीकरणका लागि प्रयास गर्नेछन् र काङ्ग्रेसको मात्रै होइन मुलुकको राजनीतिकै शुद्धीकरणमा योगदान गर्नेछन् भन्ने अपेक्षा पनि गरिएको छ । तर, यो सोचेजति सजिलो भने छैन । किनकि हाम्रो राजनीति गैरजिम्मेवार छ, बद्नाम छ र त्यसभन्दा बढ्ता यो गन्हाएको छ । आमजनताको विश्वास गुमाउँदै छ । धोखाधडी, अवसरवाद र झुटमुटको अर्को नाम नै राजनीति हो भन्ने स्थापित भइसकेको अवस्था छ ।
खनालको पार्टी प्रवेश विभिन्न अनुमान र आशङ्काबीच भएको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा उनका आर्थिक सल्लाहकारको रूपमा काम गरेकाले उनलाई एमाओवादीनिकट ठान्नेहरूको पनि कमी थिएन । तर, उनी काङ्ग्रेसमा प्रवेश गरेपछि उनको आदर्श र सिद्धान्त स्पष्ट भएको छ । अब पूर्वप्रशासकको उनको परिचय राजनीतिसँग जोडिन पुगेको छ । प्रशासक हुनु र राजनीति गर्नु दुई अत्यन्त भिन्न कुरा हुन् । प्रशासकले अगाडि पछाडि, विधि, पद्धति र परम्परा सबैतिर दिमाग पु-याउनु र ख्याल राख्नुपर्छ भने राजनीतिकर्मीले तत्कालिक परिस्थितिलाई मात्र हेर्दा पनि चल्छ, चलेकै छ । यसमा खनाल कसरी प्रस्तुत हुन्छन् देख्न पाइने नै छ ।
निश्चय नै खनाल बद्नाम वा अवसरवादी प्रशासक होइनन् । कर्मचारी वा राष्ट्रसेवकको रूपमा कार्यरत रहँदा प्रशंसित एवम् निष्कलङ्क रहेका व्यक्ति हुन् । उनी कुनै काण्डमा मुछिएनन् । आदर्श पढाउने प्रयास गरेनन् र आफू सीधासादा र आफ्नो कामप्रति डटेर लाग्ने छवि बनाउन सफल भए । एक उदाहरणीय प्रशासकका रूपमा कार्यरत रहँदारहँदै अनपेक्षित रूपमा राजीनामा दिई पदमुक्त भएका उनले आफूलाई अब काङ्ग्रेसभित्रको किचलो, कलह, विभाजनमा कसरी टिकाउन सक्ने हुन् त्यो पनि हेर्न बाँकी नै छ ।
हाम्रोजस्तो मुलुकमा विचार, सिद्धान्त, मान्यता र आदर्शभन्दा अवसर हेरेर राजनीति गरिन्छ र राजनीति त्यसैगरी चल्छ । राजनीतिमा अवसरवाद हावी हुन्छ । चाहेर वा नचाहेर पनि बेलाबखत विवादास्पद कार्यहरू गर्नुपर्ने हुन्छ । फेरि एउटा दलसँग आबद्ध भएपछि त्यसैको हितमा काम गर्नुपर्ने हुन्छ, त्यसैको नीतिअनुरूप चल्नुपर्ने हुन्छ । त्यसमा पनि काङ्ग्रेसको स्थिति र अवस्था अत्यन्त टिठलाग्दो छ । अहिलेसम्म काङ्ग्रेस अघिल्लो पुस्ताको नाम भजाएर खाँदै छ, अब त्यसरी टिक्न सकिने अवस्था छैन । दोस्रो पुस्ता अक्षम, चरम अवसरवादी र गैरजिम्मेवार देखिएको छ । त्यस्तो स्थितिमा राजनीतिमा प्रवेश गरेका खनालसामु थुप्रै चुनौती छन् । यस्तो परिवेशमा प्रशासकको रूपमा निष्कलङ्क र स्वच्छ छवि बनाएका खनाल कसरी प्रस्तुत हुन्छन् ? प्रशासकको रूपमा ‘कुशल’को पगरी गुथेका उनले हालसम्मको छवि कायम राख्दै राजनीतिको व्यवस्थापनमा पनि आफूलाई खरो उतार्नुपर्ने चुनौतीको कसरी सामना गर्ने हुन् हेर्न बाँकी नै छ । तर, काङ्ग्रेसलाई सुधार गर्नु छ, राजनीतिको फोहोर सफा गर्न खनालहरूले भूमिका खेल्नु छ । काङ्ग्रेसभित्र गुट–उपगुट छन् । त्यसको अन्त्य गर्न लागिपर्नु छ । काङ्ग्रेसको सिद्धान्त, विचार, आदर्श र इतिहासबाट विचलित भएको छ, त्यसलाई गम्भीरतासाथ लिई सुस्ताएको, बाटो बिराएको, अल्मलिएको र जोस जागर गुमाएको दिशाहीन, गन्तव्यहीन एवम् किंकर्तव्यविमुढ काङ्ग्रेसलाई पुनः दरिलो र गौरवपूर्ण पार्टीको रूपमा स्थापित गर्न निरन्तर लाग्नुपर्नेछ ।
खनालको काङ्ग्रेस प्रवेशले काङ्ग्रेसीमा ठूलो उत्साह छाएको छ । पार्टी प्रवेशको क्रममा उनले काङ्ग्रेससँग आफ्नो विकासवादी सोच मिलेका कारण काङ्ग्रेस प्रवेश गरेको जनाएका छन् । खुला र उदार अर्थतन्त्रको पक्षपाती काङ्ग्रेस र त्यसैका अनुयायी खनालको नेपाली काङ्ग्रेससँग सोच मिल्नु आश्चर्य होइन । उनले नेपाललाई विकासशील राष्ट्रको श्रेणीमा लैजान भरमग्दुर कोसिस गर्ने बताएका छन् । त्यो पनि स्वाभाविक नै हो । पार्टी प्रवेशका अवसरमा काङ्ग्रेसका सभापति सुशील कोइरालाले खनालको आर्थिक नीतिप्रतिको दक्षता, सीप र योग्यतालाई काङ्ग्रेसले उपयोग गर्ने र उनलाई उपयुक्त मर्यादामा राख्ने बताएका छन् । तर, एकजना व्यक्तिको पार्टी प्रवेशले एउटा ठूलो राजनीतिक पार्टीको समग्र कार्यशैलीमा तात्विक असर नपार्ने भएकाले धेरै आशावादी हुनु भने जरुरी छैन । हेरौँ खनाल आफैँ फोहोरमा हराउँछन् वा काङ्ग्रेसको शुद्धीकरण गर्न सफल हुन्छन् ।
राजनीति फोहोरी खेल हो भन्ने खनालले राम्ररी बुझेका छन् । कुन कुन कालखण्डमा कतिजना मन्त्रीसँग काम गरे र त्यसबाट के कस्ता अनुभव बटुले त्यसको हेक्का अवश्य गर्नेछन् । मन्त्री अर्थात् राजनीतिक नेतृत्वको चाहना र अपेक्षा के हुन्छ र प्रशासकले केसम्म गर्नुहुन्छ भन्ने उनले राम्ररी बुझेका छन् । अब राजनीतिमा प्रवेश गरेपछि उनी पनि त्यही बाटो हिँड्ने हुन् वा राजनीतिमा रहेको विकृतिको अन्त्य गर्न सकारात्मक सोचका आफूजस्तै ऊर्जाशील र युवा नेताहरूको नेतृत्व गर्दै हालसम्मको स्वच्छ र सकारात्मक सोचको छवि जोगाउन प्रयत्न गर्ने हुन् हेर्नु छ । तर, भुलेर पनि आफँै गन्हाउने र त्यही आहालमा डुब्ने होइन राजनीतिमा भएका फोहोर मैलाको सफाइ गर्नुपर्छ । बद्नाम राजनीतिलाई सकारात्मक र जिम्मेवार बनाउन प्रयत्न गर्नुपर्छ । यसो गर्न सकेनन् भने उनी काङ्ग्रेस वा कुनै दलमा प्रवेश गरे पनि त्यसको कुनै अर्थ रहने छैन बरु उनी पनि एउटा अर्को अवसरवादी र अवसरको खोजीमा दल प्रवेश गर्नेे व्यक्तिकै रूपमा चिनिने अवस्था आउनेछ । सुविधाभोगी, महत्र्वाकाङ्क्षी र पदलोलुप प्रवृत्तिका नभएका तथा सामान्य परिवारमा हुर्केर निजामती सेवाको सामान्य जागिरेबाट उच्च प्रशासनिक तहमा पुगेका उनको अनुभवले योजना, नीति र कार्यक्रम बनाउन र उनले भनेझैँ मुलुकलाई विकासशील राष्ट्रको श्रेणीमा लैजान सफलता मिलोस् र खनालको प्रवेशले काङ्ग्रेसका युवा नेता र नेतृत्वमा नयाँ ऊर्जा प्राप्त भई काङ्ग्रेसको शुद्धीकरणमा बल मिलोस् । रामेश्वरलाई राजनीतिमा पनि सफलता मिलोस्, यही कामना गरौँ ।