रिपोर्टर्स क्लबमा नेताहरू रन्किनुको अर्थ

रिपोर्टर्स क्लबमा नेताहरू रन्किनुको अर्थ


-नवीन उप्रेती
पिता दक्ष प्रजापतिले आफ्ना श्रीमान् देवादिदेव महादेवको अपमान गरेको सहन नसकी सतिदेवी यज्ञकुण्डमा फाल हाल्छिन् । त्यो कुरा थाहा पाएपछि क्रोधित बनेका महादेवले दक्ष प्रजापतिको शिर छेदन गरिदिन्छन् । तर, करुणामूर्ति महादेव न ठहरिए, उनले बोकाको टाउको जोडेर भए पनि दक्षलाई बचाइदिन्छन् । श्रीस्वस्थानीको यही कथा सन्दर्भ उद्धृत गर्दै हालका प्रधानमन्त्री झलनाथ खनालले कुनैबेला मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई ‘दक्षप्रजापतिको टाउको’ अर्थात् बोकाको टाउको भनेका थिए ।
शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा एमालेकै अर्का नेता केपी शर्मा ओलीले श्रीस्वस्थानीको सोही कथा प्रसङ्ग झिकेर प्रधानमन्त्री खनालको कटु आलोचना गरे । ओलीका अनुसार खनाल यतिबेला सतिदेवीको जलेको शरीरसरह हुन्, जसलाई बोकेर हिँड्नुको कुनै तुक छैन । ‘महादेवले सतिदेवीलाई बोकेर हिँडेझैं बोक्ने र ठाउँठाउँमा पीठ खडा गर्ने हो भने बेग्लै कुरा, अन्यथा यसरी -खनाललाई) बोकेर हिँड्न सकिँदैन,’ ओलीले भने ।
उखान-टुक्का र मौलिक लोककथाको प्रयोग गरी चोटिलो वाक-चातर्ुय प्रदर्शन गर्ने नेताहरूमा ओलीको स्थान नम्बर एकमै छ । त्यसैले ओलीलाई सञ्चारमाध्यमले ‘प्रभावशाली नेता’को उपमा दिएका छन् । ओलीको बोलीमा हास्य र कटाक्ष रसको मिश्रण पाइन्छ । आफ्नो मुद्रा क्रोधित नबनाईकन अरूलाई मर्ममै घोच्ने गरी वाक प्रहार गर्नु ओलीको विशेष खुवी हो । त्यसैले ओलीको बोली समाचार बनिहाल्छ । किनकि, उनको हरेक बोली गोलीभन्दा कम हुन्न । गत शनिबार रिपोर्टर्स क्लबमा ओलीले जे बोले, त्यसले नेपाली राजनीतिलाई व्यापक मात्रामा तरङ्गित गरिदियो । त्यो अझै पनि थामिएको छैन ।
नेता ओलीले प्रधानमन्त्री खनाललाई खुलेआम चुनौती दिँदै भने, ‘०३९ देखि ०४६ सम्मको महासचिव पद कसरी र किन गयो, माओवादीलाई गृह मन्त्रालय दिइएमा अहिलेको प्रधानमन्त्री, पार्टी अध्यक्षलगायत धेरै पद त्यसैगरी चट् हुन सक्छन् ।’ खनालप्रति यति कटु कटाक्ष ओलीले सम्भवतः पहिलोपटक व्यक्त गरेका हुन् । उनले खनाललाई इङ्गित गर्दै ठाडै भने, ‘जिम्मेवारी बहन गर्न नसक्ने, पार्टीका नीति र निर्णयको सम्मान नगर्ने, निरङ्कुशता लाद्दै जाने प्रवृत्ति कायम रहे एमालेले अध्यक्ष परिवर्तन गर्न पनि सक्छ ।’ ओलीले प्रचण्ड र खनालबीच भएको सातबुँदे सहमतिलाई ‘लोकतान्त्रिक आन्दोलनका सहयात्रीविरुद्धको कुटिल चाल’ पनि बताए । क्लबकै साक्षात्कारमा ओलीले अर्को गम्भीर भनाइ राखे । आगामी जेठ १४ मा संविधान नबने संविधानसभाको म्याद थप हुन नसक्ने बताएर उनले ताजा जनादेश लिनुपर्ने पक्ष्ँमा आफूलाई उभ्याए । ‘संविधान नबनाउने संविधानसभाको म्याद कसैको जागिर थमाउन मात्र थपिँदैन,’ ओलीले हाकाहाकी भने ।
सोही दिन रिपोर्टर्स क्लबमा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले पनि गहकिलो भनाइ राखेका थिए । माओवादीका अनुदारवादी अन्य नेताहरूको सोचभन्दा ठीक विपरीत नेता भट्टर्राईले नेपाली काङ्ग्रेसलाई समेत लिएर समीकरण बनाउनुपर्ने भनाइ राखे । वर्तमान प्रचण्ड-खनाल गठबन्धनविरुद्ध पार्टीमा नोट अफ डिसेन्ट लेखेका भट्टर्राईले घुमाउरो पारामा झलनाथ खनालको नेतृत्वको विकल्प पनि खोज्न सकिने बताए । ‘चाँडै नै काङ्ग्रेसलाई समेत समावेश गरेर समीकरण बनाउनुपर्छ । काङ्ग्रेस र माओवादीबिना राष्ट्रिय सहमति बन्न सक्दैन,’ भट्टर्राईले भने ।
ओली र डा. भट्टर्राईको अभिव्यक्तिले भोलिपल्ट -आइतबार)का अखबारका पाना भरिए । दिनभरि दुई नेताका भनाइ हटकेक वा ‘टक अफ दि नेसन’ भए । त्यसो हुनुको खास कारण छ । एन्टिकरेन्ट कुरा लोकप्रिय हुन्छ । आमजनता र सञ्चारमाध्यमले पनि एन्टिकरेन्ट विषयमा चासो राख्छन् । यतिबेला मुलुक ठीक दुई ध्रुवमा खडा भएको छ । एउटा पक्ष छ, जो शान्तिप्रक्रियालाई निष्कर्षमा नपुर्‍याउने, संविधान पनि नबनाउने, सत्तामा टिकिरहने र संविधानसभाको म्याद लम्ब्याएर सङ्क्रमणका नाममा मोजमस्ती गर्ने दाउमा छ । अर्को पक्षचाहिँ ताजा जनादेश लिने दिशामा जानुपर्ने पक्षमा छ । आमजनतामा दलहरूप्रति वितृष्णा बढिरहेको छ । प्रचण्ड-खनाल गठबन्धनप्रति कोही आशावादी छैनन् । यस्तो बेला ओली र डा. भट्टर्राईले मुलुकको तीतो यथार्थ स्पष्ट भाषामा राखिदिए । सोही दिन रिपोर्टर्स क्लबको तनहुँ शाखाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले त एककदम अघि बढेर प्रधानमन्त्री खनाललाई ‘माओवादीका मतियार’कै संज्ञा दिए । पौडेलले भने, ‘खनाल माओवादीका मतियार हुन् ।’
रिपोर्टर्स क्लब नेपाल त्यही मञ्च हो जहाँ परस्पर विरोधी नेताहरू एकसाथ सहभागी हुन्छन् । त्यहाँ कहिले आरोप-प्रत्यारोप गर्छन् त कहिले सहमतिको कसम खान पनि चुक्दैनन् । क्लबमा गएर कुनै पनि नेताले बोलेका कुराले राष्ट्रिय चर्चा पाउने गरेको छ । त्यसको पछाडि के रहस्य छ – किन क्लबको साक्षात्कारमै गएर नेताहरू विचारोत्तेजक विचार राख्छन् – किन नेताहरू रिपोर्टर्स क्लबमै गएर रन्कन्छन् – माओवादीलाई गृह दिएमा खनालको अध्यक्ष पद चट् हुने चेतावनी ओलीले किन क्लबमै गएर दिए – किन जस्तोसुकै बेफुर्सदीमा पनि नेताहरू क्लबमा उपस्थित हुन हिचकिचाउँदैनन् – यी प्रश्नको जवाफ रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाबाहेक अरूसँग छैन ।
एक स्वतन्त्र विश्लेषकका नाताले भन्नुपर्दा ऋषि धमला वा रिपोर्टर्स क्लब नेपालसँग एउटा विशिष्ट क्षमता छ । त्यसलाई पत्रकारिताको भाषामा ‘न्युज सेन्स’ भनिन्छ । ओलीले आज खनालविरुद्ध कटु कटाक्ष गर्न सक्छन् भन्नेबारे पूर्वानुमान गर्न सक्नु क्लबको खुबी हो । त्यसका लागि राष्ट्रिय राजनीतिको चुरो कहाँनेर पुगेको छ भनेर सूक्ष्म ज्ञान हुनुपर्छ । बिहान चार बजेदेखि राति एघार बजेसम्म पब्लिक सर्म्पर्कमै रहिरहने अध्यक्ष ऋषि धमला सूचना ओढेर सुत्छन्, सूचनाको आवाजबाट जाग्छन् र सूचनाकै तालमा दिनभरि कार्यक्षेत्रमा व्यस्त रहन्छन् । सोही कारण कुन पात्रलाई साक्षात्कारमा ल्याउँदा हटकेक हुन्छ भन्ने कुरा उनलाई पहिल्यै थाहा हुन्छ । एकै दिन ओली, भट्टर्राई र पौडेललाई साक्षात्कारमा ल्याएर क्लबले गत शनिबार पत्रिकाका पाना भरिदियो । किनकि त्यो कुरा धमलालाई पहिल्यै आभास थियो । क्लबका अध्यक्ष धमलाका अनुसार क्लबले आफ्नो तेह्रौं वारि्षकीबाट प्रारम्भ गरेको ‘शान्ति र संविधान राष्ट्रिय अभियान’कै सिलसिलामा राष्ट्रपति डा. रामवरण यादवदेखि उपराष्ट्रपति परमानन्द झालगायत सम्पूर्ण दलका नेताहरूसँगको साक्षात्कारमार्फत शान्ति र संविधानका पक्षमा दबाब सिर्जना गरिरहेको छ । किनकि ‘वादे वादे जायते तत्त्व बोध’ भन्ने संस्कृत श्लोक नै छ । वादविवाद र संवादको र्सार्थक अभ्यासबाट नै निस्कन्छ- सहमतिको निकास । यस सन्दर्भमा क्लबको अभियान बधाईको हकदार नै छ भन्दा अत्युक्ति नहोला ।