अनलाइनमार्फत विद्युतीय महसुल तिर्ने उपभोक्ताको संख्या साढे २ लाख

अनलाइनमार्फत विद्युतीय महसुल तिर्ने उपभोक्ताको संख्या साढे २ लाख


पछिल्लो समययता अनलाइनमार्फत विद्युतीय महसुल तिर्ने उपभोक्ताहरुको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल तिर्न ‘अनलाइन पेमेन्ट’ प्रणाली सुरु गरेपछि उपभोक्ताको यसतर्फ आकर्षण बढेको हो ।

प्राधिकरणका अनुसार अहिले केन्द्रीय प्रणालीबाट विद्युत उपभोग गर्ने ग्राहकको संख्या मुलुकभर ३५ लाख बढी छ । प्राधिकरण वितरण तथा ग्राहक निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले प्राधिकरणले अनलाइन सेवा शुरु गरेपछि करिब साढे २ लाखले अनलाइनबाट भुक्तानी गर्ने गरेको बताए ।

उपभोक्ताहरुको सुविधाका लागि प्राधिकरणले मुलुकभरका १ सय ६८ महसुल संकलन काउन्टरमध्ये १ सय २५ वटा अनलाइन प्रणालीमा संचालन गरेको छ । उपकार्यकारी निर्देशक न्यौपानेले १ सय ४६ काउन्टरमा कम्प्युटर प्रणाली जडान गरिएको र अहिले अनलाइनबाट मासिक ४० करोड रुपैयाँ महसुल संकलन भइरहेको बताए ।

घरदेखि घण्टौं हिँडेर महसुल काउन्टर धाउनु नपर्ने हुँदा यो प्रणाली प्रभावकारी पनि हुँदै गएको उपभोक्ताहरुको भनाई छ । अनलाइन भुक्तानी सेवाप्रति आकर्षण बढेपछि महसुल संकलन काउन्टरमा भीड घट्दै गएको छ ।