व्यक्ति अपहरण हुन्छ किन ?– विपन भण्डारी

व्यक्ति अपहरण हुन्छ किन ?– विपन भण्डारी


bicharअपहरण गर्ने, त्यसपछि फिरौती माग्ने, फिरौती नदिए वा फिरौती दिन ढिला गरिए अपहरण गरेको व्यक्तिको हत्या नै गरिदिने, यो अपराधको सबैभन्दा जटिल स्वरूप हो । नेपालमा अपहरण गर्ने शृङ्खलाको वृद्धि भइरहेको यथार्थ हो । नेपालमा अपरहण गर्ने विभिन्न शैलीको विकास भइरहँदा अपहरणका फरक–फरक प्रवृत्तिसमेत आउन थालेको छ । त्यसमा पनि मुलुकको मुख्य समस्या भनेको व्यक्ति अपरहणको हो । व्यक्ति अपरहण गर्ने र मोटो रकम माग्ने काम भइरहेको छ । यस्तो शैली हरेक वर्ष वृद्धि हुँदै जानु नै मुख्य चिन्ताको विषय हो । यसमा ठूला–ठूला आपराधिक गिरोहदेखि साना–ठूला सबै टोले गुण्डाहरूसमेत लाग्न थालेका छन् । पैसा कमाउने सजिलो माध्यमका रूपमा आपराधिक गिरोहले अपहरणलाई आफ्नो माध्यम बनाएको छ र यो बढ्दो स्वरूपमा विकास भइरहेको छ । अपहरणको यस्तो जटिलता मुलुकको मुख्य शहरी क्षेत्रमा मात्र होइन नेपालको पाँचै बिकास क्षेत्रमा अपहरण गर्ने गिरोहले आफ्नो जरा फिँजाइरहेका छन् । तथ्याङ्कलाई हेर्दा मात्र पनि यो पुष्टि हुन्छ । नेपाल प्रहरीसँग भएको तथ्याङ्कको आर्थिक वर्ष ०६७–६८ मा पूर्वाञ्चल विकास क्षेत्रमा सबैभन्दा बढी ३७ अपहरणको उजुरी आएको थियो । त्यस वर्ष समग्र मुलुकभित्र एक सय १९ मात्र अपहरणका घटना सार्वजनिक भएका थिए । एक सय १९ मा पनि ३७ वटा घटना पूर्वाञ्चल विकास क्षेत्रबाट रहेको तथ्याङ्कले पनि नेपालको मुख्य शहरी क्षेत्रमा भन्दा सीमा जोडिएका क्षेत्रहरूमा अपहरणका घटना हुने गरेको पुष्टि हुन्छ । सोही वर्ष उपत्यकामा भएको घटना नजोड्दा मध्यमाञ्चलमा २९ वटा अपहरणका घटना सार्वजनिक भएका थिए भने काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २४ व्यक्ति अपहरणमा परेका थिए । त्यसपछि सोही वर्ष मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा १७, पश्चिमाञ्चल विकास क्षेत्रमा सात र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पाँच अपहरणका घटना भएको नेपाल प्रहरीसँग भएको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष ०६८/६९ मा पनि यो तथ्याङ्क कम नभएर उस्तै खालको देखिएको छ । यस वर्ष मुलुकभरि एक सय १८ व्यक्ति अपहरणको उजुरी प्रहरीमा परेको थियो । त्यसमा यस वर्ष पनि पूर्वाञ्चलमै सबैभन्दा बढी अपहरण भएको देखिन्छ । पूर्वमा ३३, मध्यमाञ्चल र उपत्यकाका तीन जिल्लामा जोडेर ५७, मध्यपश्चिमाञ्चलमा १६, पश्चिमाञ्चलमा ११ र सबैभन्दा कम सुदूरपश्चिमाञ्चलमा एउटा अपहरणको घटना भएको थियो । त्यसैगरी गएको आर्थिक वर्ष ०६९–७० मा व्यक्ति अपहरणको घटनामा कमी आएको देखिन्छ । यो वर्ष मुलुकभरि मात्र ८८ अपहरणका उजुरी परेको नेपाल प्रहरीले जानकारी दिएको छ । तर, नेपालमा अपहरणको घटनामा कमी ल्याउन सफल प्रहरी भयो भनिन्छ भने यो गलत हुनेछ । किनभने अहिले अपहरणको घटना प्रहरीसमक्ष नपुगी मिलाउन थालिएको छ । फिरौतीका लागि व्यक्ति अपरहण गरियो भने पीडितले प्रहरीलाई जानकारी नै नगराई आफ्नो अपहरण परेको व्यक्तिलाई फिरौती दिएर उद्धार गर्ने गरेका छन् । अपहरणको उजुरी गर्दा आफ्नो मान्छेलाई अपहरणकारीले हत्या गरिदिने त्रासले पीडितहरू प्रहरीसमक्ष जान डराउने गरेका छन् । त्यसैले उनीहरू प्रहरीलाई जानकारी नै नगराई अपहरणकारीको माग पूरा गरी आफ्नो मान्छेलाई मुक्त गर्ने गरेको पाइन थालेको छ । त्यस्तै, अहिले अपहरण नै नगरी धम्कीको भरमा पनि रकम डिमान्ड गर्ने प्रचलनको विकास भएको पाइन्छ । यसले पनि अपरहण गरेको घटनामा कमी आएको देखिन्छ । यद्यपि अहिले पनि अपहरणका शृङ्खला बढिरहेका छन् । पूर्वाञ्चल विकास क्षेत्रमा प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सीमावर्ती क्षेत्रमा अपहरणको घटना अन्यको तुलनामा बढ्नुमा खुला सिमाना प्रमुख कारण गरेको बताए । उनले अन्य वर्षको तुलनामा यस वर्ष अपहरणको घटनामा कमी ल्याउन पूर्वाञ्चल प्रहरी लागिपरेकोसमेत दाबी गरे । अर्यालका अनुसार अपहरणका घटनामा कमी ल्याउन समाजमा बढ्दै गएको आपराधिक मानसिकता प्रमुख कारण हो । अर्यालले अपहरण अपराधीको लागि रकम असुल्ने सजिलो माध्यम भएकाले पनि अपहरणको घटना ठाउँ–ठाउँ भइरहने तर्क गरे । खुला सिमानाका कारण अपहरण गर्ने गिरोहलाई सहज भएको प्रहरीको भनाइ छ । अपहरण गर्ने र सीमापारि गएर बस्दा प्रहरीलाई पनि अनुसन्धान गरेर गिरोहलाई नियन्त्रणमा लिन समस्या परेको छ । त्यसले पनि अपहरणका अत्यधिक घटना नेपाल–भारतको सीमा क्षेत्रमै बढी हुने गरेको छ ।
प्रहरीको तथ्याङ्कले अब अपहरणजन्य गतिविधिहरू सीमा जोडिएका जिल्ला र तराईमा मात्रै सीमित रहने भन्ने स्पष्ट पारेको छ । किनभने सीमा जोडिएको क्षेत्रमा सरह उपत्यका र अन्य पहाडी क्षेत्रहरूमा पनि अपहरणका घटना सार्वजनिक हुन थालेको छ । अपराधको यो शैलीले काठमाडौंलगायत देशका सबैजसो सहरबजारमा आफ्नो जालो बढाइरहेको छ । डीआईजी उपेन्द्रकान्त अर्यालका अनुसार भारत, सीमावर्ती जिल्ला र तराईका जिल्ला हुँदै मुलुकभरि फैलिएको अपहरणजन्य अपहरण सजिलै पैसा कमाउन खोज्ने मनोवृृत्ति भएकाहरूका लासि एउटा माध्यम बनेको छ ।
अपहरण गर्ने गिरोहले प्राय: बालबालिका अपहरणको मुख्य निसाना बनाउने गरेका छन् । त्यसबाहेक उद्योगी र व्यापारीलाई समेत अपहरण गरेर फिरौती माग्ने गरेको पाइएको छ । अपहरणजस्तो गम्भीर प्रकृतिको अपराधलाई नियन्त्रण गर्ने सवालमा नेपाल प्रहरी र आधिकारिक अन्य निकाय किन असफल भइरहेको छ । यस्तो घटनामा सरोकार राख्ने अपराधीको जालोलाई झाँगिन नदिन नेपाल प्रहरीको योजना किन कमजोर छ ?
अपहरणकारीले कहिले र कसको अपहरणको तानाबाना बुनिरहेको छ भन्ने कुरा अपहरणपूर्व थाहा पाउनु प्रहरीका लागि सहज छैन । अपहरण गर्ने गिरोहले कसलाई अपहरण गर्ने योजना बनाइरहेको छ । गिरोहको लिस्टमा कस्ता–कस्ता र क–कसको नाम छ भन्ने प्रहरीले जानकारी पाउन सक्दैन । त्यसले अपहरणकारीहरू आफ्नो आपराधिक गतिविधि खुलेआम गर्न सकिरहेका छन् । प्रहरीले अग्रिम जानकारी नपाए पनि अपहरणसम्बन्धी अपराध गर्नेहरूलाई कारबाही गर्ने सवालमा कडाभन्दा कडा कानुन बन्न आवश्यक छ । यस्तो गर्न सके यो आपराधिक प्रवृत्ति निरुत्साहित हुन सक्छ । सरकारले ०६४ सालमा अपहरण न्यून गर्न अपहरण तथा शरीर बन्धक ऐन ल्याएको छ तर पनि यो प्रवृत्ति बढिरहेको छ । त्यसकारण पनि सरकार र मातहतको सुरक्षा प्रशासनले अपहरणजस्तो सङ्गीन अपराधलाई नियन्त्रण र निरुत्साहित गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि अपहरणको उजुरीमा काम गर्न अनुभवी र एउटा फरक र बलियो संयन्त्र बनाउन नेपाल प्रहरीले पहल गर्नुपर्छ ।