खुवै सुहाएको छ भिक्टोरिया–क्रस र परमवीर चक्र
तर के त्यसबाट आउँदैन आफन्तहरूको लासको गन्ध ?
(कवि भूपि शेरचन)
कविताको वाणले समाजलाई घोचेर ब्युँझाउने कवि भूपि शेरचनले सम्भवत: दोस्रो विश्वयुद्धका उन्मादी र ग्लानिलाई सन्दर्भ बनाएर उक्त कविता कोर्नुभएको थियो । ठीक त्यसै अवस्था विश्वमा अहिले देखिँदैन, तर कतिपय देशमा कवि शेरचनका कविताको सान्दर्भिकता भने उस्तै छ अहिले पनि । दुई साताअघि मात्र ७० जना माओवादी पूर्वलडाकालाई नेपाली सेनामा भित्याइएको छ । उहाँहरूको काँधमा विगतमा गरिएका राजनीतिक सहमतिअनुसारका दज्र्यानी (फुली) चिह्न लगाइएको छ जुन खुवै सुहाउनेछ होला उहाँहरूलाई । भूपि बाँचिरहेको भए विशेष प्रतीकात्मक शैलीले यस घटनालाई कवितामा उतार्नुहुन्थ्यो वा हुन्थेन, तर कविता लेख्ने ‘महारोग’बाट कविजीले महाविश्राम लिइसक्नुभएकाले यस सन्दर्भमा उहाँलाई पढ्न सकिने छैन । हतियारबद्ध द्वन्द्वको शान्तिपूर्ण अवतरणका क्रममा नेपालको इतिहासमै पहिलोपटक राष्ट्रिय सेनामा कुनै एक दलको हतियार उठाएका जत्थालाई सामूहिक प्रवेश गराउने निर्णय भयो । भाइभाइ मर्ने–मार्ने शृङ्खलाभन्दा यो निर्णय प्रिय थियो तत्कालीन नेपाललाई । यस्तो निर्णयलाई असल कामका लागि गरिएको खराब अभ्यास भनेर बुझ्नु राम्रो हुन्छ । यी निर्णयलाई रिसराग, क्रोध, प्रतिरोधबाट हेरियो भने द्वन्द्वको पीडा बिर्सन सकिँदैन । त्यसैले सत्ताले लिएका यस्ता निर्णयलाई शिरोपर गर्नु कर्तव्यपरायण नागरिको दायित्व हुनेछ तर यी घटनाउपर प्रश्न उठाउने र विवेचना गर्ने अधिकार त्यस्ता नागरिकले राख्दछन् ।
सेनामा भित्याइएका माओवादी लडाकुलाई अबउप्रान्त कुनै एक पार्टीको विध्वंशात्मक घटनामा संलग्न गुरिल्ला भनेर इतिहासबाट चिन्नुभन्दा देशभक्त इमानदर नेपाली सेना हुनुको गौरव र दायित्वको वर्तमानबाट हेरिनुपर्छ । आक्षेप लगाउने होइन, अब उनीहरूबाट रचनात्मक भूमिकाको अपेक्षा गर्नुपर्दछ । द्वन्द्व बिर्साउने यो एउटा मल्हम हुनेछ । यद्यपि नेपाली समाज अहिले पनि द्वन्द्वको ग्रहणबाट मुक्त छैन । डेकेन्द्रको परिवार वा ओखलढुङ्गाका उज्जन श्रेष्ठ अथवा गोरखाका नन्दराम परिवार अहिले पनि बाँचेर मरिरहेका छन् अथवा मरेर बाँचिरहेका छन् । त्यसैले पूर्वलडाकुले नेपाली सेनामा प्रवेश पाउनुलाई मात्र शान्तिप्रक्रिया पूरा भएको ठानेर विवेकहीन हुन सकिँदैन । नेपाली सेनामा लडाका प्रवेशको सन्दर्भमा यिनै प्रश्न तेर्सिएका छन् । जुन विद्रोहलाई राज्यले आतङ्क भनेको थियो, त्यसमा संलग्नहरूलाई राष्ट्रले भिक्टोरिया–क्रस र परमवीर चक्रकै प्रतीकात्मक सम्मान दिएको छ, तर द्वन्द्वमा उठाइएका बन्दुक र खुकुरीबाट मारिएकाहरूका परिवारजनले ऋण काढेर दशैँ मान्नुपर्ने अवस्थालाई कुन सभ्य समाजले न्याय भन्दछ ? जुन दिन पूर्वलडाकुले तालिम सम्पन्न गरेर सेनाको फुली थाप्दै थिए त्यही दिन गोरखाका नन्दरामदम्पती छोराको लास न सासको पीडा अस्पतालको आमरण शøयाबाट चिच्याइरहेका थिए । कसैले त्यो दिन स्थायी जागिर पाएका थिए, कोही त्यही दिन द्वन्द्वको दौरान गुमेको आफ्ना जागिरको स्मरण गर्दै हुन् । पूर्वलडाकुहरूले सैनिक तालिममा सफल भएको खुसियालीमा आफ्ना बच्चाबच्चीलाई काखमा लिएर पैतृजन्य स्नेहले चुम्बन गरेका तस्बिरहरू छापामा आए तर द्वन्द्वको नालले बाबुआमाको बात्सल्य छिनालिएका पराजित बच्चाहरूबाट हरिएको हाँसो फर्कन सक्ला ? द्वन्द्वले बनाएका टुहुराले कहिले बाबुको छातीमा टाँसिएर पितृस्नेहको ताप अनुभव गर्नेछन् ? मार्नेहरू पुरस्कृत हुने र मर्नेहरू दण्डित हुनुपर्ने के सतीले सराप्दा यसै भनेकी थिइन् यो देश नेपालमा ? मार्नेले सत्ताको सिन्दुर पहिरिने र मर्नेको सिन्दुर पुछिने मात्रै हो भने न्यायको परिभाषा कसरी कोर्ने ? यहाँनेर ठूलो विरोधाभाष छ तर सदैव यस्तो विरोधाभाष पालिरहने हो भने नयाँ समाज निर्माण हुन नसक्ने भएकाले हार्ने वा जित्ने, मर्ने वा मारिने दुवै पक्षले, सम्मान र न्याय पाउने गरी राज्यस्तरले विगतका हारजित बिर्साउने गरी पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्दछ, जुन कार्यक्रम सामाजिक, कानुनी र मनोवैज्ञानिक रूपमा न्यायसङ्गत होओस् ।
नेपाली सेनाले आफ्नो स्थापना वर्ष वि.सं. १८०१ वा १६१६ माने पनि यी ४५४ वर्षमा नेपाली सेनाले मुलुकको एकीकरण अर्थात् स्थापना र संरक्षण अर्थात् सीमा रक्षार्थ सुनौलो योगदान दिएको छ । नेपाली सेनाका सकल व्यक्तिले यो विरासत धान्ने शपथ खानुपर्छ । समायोजन भन्नुस् वा फुली प्रकरणले एउटा अध्याय समाप्त भएको छ साथै अर्को अध्याय सुरु भएको छ । अबको सैनिक सङ्गठनमा राजनीतिक आग्रहले प्रवेश पाउनेछ–छैन भन्ने प्रश्न अहिलेलाई निरुत्तरित छ । कतिपयले सेनामा लडाकुको प्रवेशलाई शान्तिप्रक्रियाको अन्तिम कार्यभार भनेका छन् तर द्वन्द्वका हरेक पीडितले न्याय नपाउँदासम्म द्वन्द्वको मानसिक घाउ नपुरिने र पीडितलाई न्याय दिन नसक्दासम्म गरिएका यस्ता प्राविधिक मेलमिलापका तमाम प्रयास र प्रक्रिया गलत नजिर हुनसक्छन् भन्ने सत्य सबैले स्वीकार गर्नुपर्छ । जो नेपाली सेनामा प्रवेश गरेका छन्् उनीहरूलाई मुलुकले नयाँ दायित्व दिएको छ । उनीहरू परीक्षाको घडीमा छन् । उनीहरूको इमानदारी वा बेइमानीले नेपाली सेनाको इतिहास प्रभावित हुन सक्दछ भने अर्कोतिर नेपाली सेनाका लागि पनि यो एउटा नयाँ अभ्यास हो, जुन द्वन्द्व व्यवस्थापनको नेपाली मौलिक प्रयोग बनेर इतिहासमा सुरक्षित हुन सक्दछ । द्वन्द्व व्यवस्थापनका विद्यार्थीका लागि यो नयाँ मोडल हुन सक्दछ । नेपाली सेनाले राज्यले गरेको निर्णय स्वीकार गरी पूर्वलडाकुलाई आफ्नो सङ्गठनमा भित्याएर परिपक्वता देखाएको यही सैनिक सङ्गठनलाई केही अतिवादीहरूले राजाको सलामी, गुलामी र मलामी गर्ने जनशक्ति भने । कसैले सेनाको प्रजातान्त्रीकरणको नाममा पार्टी राजनीति सैनिक सङ्गठनमा प्रवेश गराउने प्रयास गरे । इतिहास साक्षी छ– नेपाली सेनालाई राणाले भाइभारदारका समर्थन र विरोधमा जुटाए, फुटाए, पञ्चायतले प्रजातान्त्रिक आन्दोलनविरुद्ध प्रयोग ग-यो । तर, यहाँनेर के बुझ्नुपर्छ भने नेपाली सेनाले वैधानिक सत्ता (सरकार) को मातहतमा रहेर काम गरेकाले सत्ताले सेनाको कति सदुपयोग वा दुरुपयोग ग-यो भन्ने समीक्षा गर्दा तत्कालीन सत्ता चरित्रको विश्लेषण गर्नुपर्छ ।
आज केही पूर्वलडाकु सेनामा भित्रिएर जे–जस्ता फुली वा तक्मा लगाए पनि विगतको लडाकु तप्कामा पूर्ण हर्सोल्लास छैन । आफ्ना नेताहरूलाई जङ्गलबाट सिंहदरबारको कुर्चीमा विराजमान गराउन सक्षमहरूलाई असक्षमको टीका लगाइएको छ । कसैल फुली लगाउँदै गर्दा आफ्नै सत्ताले अक्षम घोषित गरिएकाको मनोविज्ञानलाई पनि शान्तिप्रक्रियाको विशेष कार्यभारका रूपमा लिनुपर्ने हुन्छ, जहाँ एकप्रकारको पीडा र असन्तोष छचल्केको छ । कतिपय लडाकु घाइते छन्, कतिपयले न्यायोचित सम्मान पाउन सकेका छैनन् । फेरि भूपि शेरचनकै कविता सान्दर्भिक हुन्छ, ‘हामी खुट्टा हौँ, जो दौडमा प्रथम हुन्छौँ, तर छातीले तक्मा थाप्छ ।’ यस्तै अवस्था छ हिजो कठिन दिनका सक्षम सारथि र वर्तमानका कथित अक्षमहरूको । जो खुट्टा थिए, दौड जिते कतिले सत्ता पाए, सिंहदरबारमा रमाए । केहीका काँधले फुली थाप्यो वा छातीले तक्मा पायो तर प्राप्त खुसीले सबैलाई छुन सकेन । खुवै सुहाएको छ सत्ता, फुली र तक्माले । फेरि पनि भूपि अनुत्तरित रहनेछन्– के त्यसबाट आएको छैन आफन्तहरूको लासको गन्ध ?
प्रतिक्रिया