जनता जागेपछि…

जनता जागेपछि…


nisedhगत शुक्रबार राति ११ बजेपछि फेसबुकमार्फत एकाएक सूचना प्रसारित गरियो– नेकपा एमाओवादीका नेता प्रचण्ड र बाबुरामले भोलि आइतबार काठमाडौं, चितवन र गोरखा बन्दको आह्वान गरेका छन् । बन्दको कारण थियो, गोरखाका कृष्णप्रसाद अधिकारीका हत्यारामध्येका एक रामप्रसाद अधिकारीलाई सरकारले पक्राउ गरेकोमा त्यसको प्रतिकार । आफ्नो निर्दोष छोराको हत्यारामाथि कारबाहीका लागि कृष्णप्रसादका बाबु नन्दप्रसाद र आमा गंगाकुमारीको निरन्तर नौ वर्षको सङ्घर्ष र पछिल्लो चरणमा आमरण अनशनपछि मिलेको यो झिनो न्यायका विरुद्धमा एमाओवादीका दुई ‘शीर्षस्थ’ नेताको निर्देशन थियो त्यो । माओवादी युद्धका बेला छोराछोरी त धेरैका मारिए तर यी बाबुआमा यस्ता निस्किए, जसले आफ्नो छोराको अन्यायपूर्ण हत्याको विरुद्ध न्यायको लडाइँ लडिरहे । आफूहरूलाई मानसिक अस्पताल पु-याउँदासमेत हिम्मत नहारी सत्याग्रह गरेपछि सरकार अहिले अपराधीको खोजी गर्न लागेको छ र एकजना पक्राउ पनि परिसकेको अवस्था छ । यसबीचमा सरकार, न्यायालय हुँदै आफ्नो छोराको हत्यारा पत्ता लगाऊ र कारबाही गर भन्ने ती बाबुआमाप्रति एमाओवादी नेताहरूले दिएका अभिव्यक्तिले ती नेताहरूप्रति मात्रै नभएर एमाओवादी पार्टीप्रति नै मानिसमा थप वितृष्णा पैदा गराएको छ । ‘मैले नै निर्देशन दिएर मार्न लगाएको हो, सक्छौ भने ममाथि कारबाही गर’ भन्ने नेता प्रचण्डको अभिव्यक्तिले उहाँको बाँकी रहेको उचाइ घटाएको मात्रै छैन, उहाँभित्र कतिसम्मको क्रूरता छुपेको रहेछ भन्ने कुराको अन्दाज पनि गराएको छ । प्रचण्डको यो अभिव्यक्तिपछि कतिपयको प्रतिक्रिया रह्यो– कम्तीमा छोराछोरी हुने मान्छेले यतिसाह्रो नबोलेको भए हुन्थ्यो । कृष्णप्रसादका ती वृद्ध बाबुआमाप्रति उहाँहरूका अभिव्यक्ति मानवीय संवेदनाभन्दा निकै टाढा थिए, छन् ।
कुनै जमाना थियो– माओवादीले गरेको बन्द भनेपछि राजधानीमा मानिस डरले घरै बस्थे । अस्पतालदेखि एयरपोर्टसम्म पुग्नुपर्नेहरू घन्टाँै लगाएर हिँडेर जान्थे । सामानका लागि रिक्सा या गाडा प्रयोग गरिन्थ्यो । दिनभरि गाडी चल्न नदिएर जनतालाई दिनुसम्मको सास्ती दिएपछि साँझ बन्द ‘सफल’ बनाएकोमा सबैलाई धन्यवाद दिइन्थ्यो । बन्दको जानकारीबिनै सडकमा निस्किँदा धेरैका सवारीसाधनमाथि धावा बोलियो, यस्तो जङ्गली व्यवहार नेपाली जनताले कति भोगे कति तर गत शनिबारको बन्दमा देखिएका दृश्यले अब समय परिवर्तन भएछ, समयभन्दा पनि बढी मान्छेको सहनशीलतामा परिवर्तन आएछ भन्न सक्ने अवस्थाको सिर्जना गरिदिएको छ । नेता प्रचण्ड र बाबुरामले शुक्रबार राति बसेर अकस्मात् तय गरेको भनिएको बन्दको नेपाली सर्वसाधारण नागरिकले साहसपूर्वक अवज्ञा गरे । सडकमा हिँड्दै गरेका सर्वसाधारण महिलाले बन्दको अवज्ञा मात्र गरेनन् बन्दकर्तामाथि भिडन्त नै गरे । कतिपय स्थानमा भनाभन मात्रै भयो भने कतिपय ठाउँमा हात हालाहालकै स्थिति रह्यो । महिलाले बन्दकर्तालाई प्रश्न गरे ‘हामीलाई आफ्नै देशको सडकमा हिँड्न र गाडी गुड्नबाट वञ्चित गर्ने तिमीहरू को हौ ?’ महिलाबाट ठाउँ–ठाउँमा बन्दको प्रतिकार भएपछि माओवादीले १२ बजेपछि बन्द फिर्ता लिएको भन्दै विज्ञप्ति जारी ग-यो । उक्त विज्ञप्ति एमाओवादीका निम्ति फेस सेभिङको एक मात्र उपाय थियो । उक्त दिन बन्दको अवज्ञा यसरी भइरहेको थियो कि बन्द भन्दै सडकमा उभिएका एमाओवादी कार्यकर्तालाई लाजमर्दो स्थितिको सामना गर्नु परिरहेको थियो । मध्यरातमा गरेको निर्णय थाहा नपाएर बिहानै ट्याक्सीलगायतका सवारीसाधन लिएर सडकमा पुगेका कतिपय सर्वसाधारणका सवारीसाधनलाई तोडफोड गरियो । करिब एक घन्टा जति त मानिसले सो बन्द किन र कसले गरेको भन्ने पनि थाहा पाएनन् । अन्योल अवस्थामै जब उनीहरूले बन्दकर्ता र बन्दको कारण थाहा पाए, सर्वसाधारण एकजुट हुन थाले । सडकमा निस्किएकाले गरेको प्रतिवाद देखेर घरघरबाट मानिस निस्किने क्रम बढ्दै मात्र के थियो माओवादीले बन्द फिर्ताको घोषणा ग-यो । यदि त्यतिबेला बन्द फिर्ता नलिएको भए दिउँसोसम्ममा एमाओवादीविरुद्ध धेरै ठूलो जनसमूह सडकमा हुने थियो ।
यसपटकको बन्द असफल हुनुमा एमाओवादीले तिजको दर खाने दिन परेका कारण भन्ने अर्थ लगाएको छ । तर, यो मात्रै सम्पूर्ण कारण होइन । मुख्य कारण उनीहरूले बन्दका लागि तय गरेको विषय हो र त्यसपछि सडकमा महिलाको आवतजावत । विगतका बन्दहरूमा कहिले के कहिले के सर्वसाधारणले खासै अर्थ लाउन नसक्ने विषय धेरै हुन्थे । विभिन्न राजनीतिक दलहरूबीच खिचातानी र दाउपेचका अनेक विषय र बहानामा यहाँ नेपाल बन्द या उपत्यका बन्दका आयोजना गरिए । तर, यसपटकको बन्द अपराधीलाई पक्राउ गरिएकोविरुद्ध भन्ने जब जनताले थाहा पाए, यस्तो पनि हुन्छ भनेर उनीहरू सडकमा निस्किए । अधिकारीदम्पतीप्रति सारा नेपालीको सहानुभूति त छँदै थियो त्यसमा पनि तिनका छोरालाई मार्ने अपराधीलाई कारबाहीको दायरामा ल्याइयो भनेर बन्दको आयोजना गरिएको सुन्नेबित्तिकै मानिसमा त्यसको प्रतिकार गर्नुपर्ने भावना जाग्यो । यो नितान्त मानवीय संवेदना र मानिसको जिन्दगीसँग जोडिएको विषय थियो । सर्वसाधारण बाबुआमाले कृष्णप्रसादलाई आफ्नो सन्तान र अधिकारीदम्पतीलाई आफ्नो ठाउँमा राखेर हेरेका छन् । आफ्नो सन्तानमाथि त्यस्तो भएको भए हामी के गर्ने थियौँ होला ? भन्ने प्रश्न प्राय: सबैको मनमा छ । त्यसैले पनि यति संवेदनशील विषयमा बन्दको आह्वान गर्नु एमाओवादीका यी दुई नेताको असफल सोच थियो । युद्ध गरेर राजधानी छिरेपछिका सुरुका दिनहरूमा झैं आफ्नो दल र आफूहरूको अवस्था छ भनेर सोच्नु प्रचण्ड—बाबुरामहरूको ठूलो भूल हो । समय परिवर्तन भइसकेको छ र उहाँहरूलाई हेर्ने जनदृष्टिकोणमा पनि भारी अन्तर आइसकेको छ ।
कतिले यसपटकको बन्द प्रकरणलाई महिलाले लखेटेपछि एमाओवादी कार्यकर्ता भागे भन्दै व्यङ्ग्य गरेको पनि पाइयो । तिजका कारण भनेर हल्काफुल्का रूपमा लिने या महिलाबाट लखेटिनुभन्दा त बन्द फिर्ता लिनै जाती भनेर यसलाई होच्याउने रूपमा बुझियो भने ठूलो यो भूल हुनेछ । यो बन्द असफल हुनुमा विषयप्रतिको संवेदनशीलतापछिको अर्को कारण हो सडकमा महिलाको मुभमेन्ट । प्राय: सडकमा पुरुषहरूकै चलखेल हुन्छ र महिला घरमै बस्छन् । तर, उक्त दिन तिजको दरका कारण सडकमा महिलाको आवतजावत तथा उपस्थिति बाक्लो थियो । पटकपटकको बन्दबाट वाक्क भएका नेपाली नागरिकले त्यस दिन मौनता तोडे, महिला बन्द संस्कृतिविरुद्ध मौनता तोड्न सफल भए । यसलाई जनतामा आएको जागरणका रूपमा पनि लिन सकिन्छ । अब महिलाले मात्र होइन सबै नेपाली नागरिकले यस्ता बन्दहरूको अवज्ञा र प्रतिकार गर्नुपर्छ । विरोधका सभ्य रूपहरू धेरै छन्– बन्द, तोडफोड, हड्ताल आदि गरी जनतालाई दु:ख दिने काम अब कुनै पनि राजनीतिक दलहरूले बन्द गर्नुपर्छ ।