बीपीलाई सम्झँदा उब्जेका सवाल

बीपीलाई सम्झँदा उब्जेका सवाल


sampadakeeyaपरम्पराको निरन्तरताका रूपमा अघिल्लो वर्षकै किसिमले नेपाली काङ्ग्रेस एवम् सम्बद्ध भ्रातृ निकायहरूले स्वदेश–विदेशमा बीपीको जन्मजयन्ती मनाए । बीपीको नाममा विभिन्न राजनीतिक कार्यक्रम भए, तस्बिरमा माल्यार्पण गरिए, विचारगोष्ठी आयोजनाका साथै फलफूल वितरण र वृक्षारोपणका कामसम्म सम्पन्न गरिए । यति मात्र होइन, बीपी महान् थिए भन्ने जोडदार भाषण गर्दै उनका विचार, सिद्धान्त र नीति पछ्याउनुपर्ने उपदेश दिनेहरू पनि प्रसस्तै भेटिए । तर, बीपीको जन्मदिनको सम्झनामा कार्यक्रम आयोजना गरेर आफूलाई बीपीभन्दा महान् ‘बीपीवादी’ दर्शाउन खोज्नेहरूले बीपीका विचार, सिद्धान्त र नीति वास्तवमा के थिए तिनको अनुशरण कसरी र किन गर्ने भन्नेबारे न आफूले बुझेको छनक दिए न त अरूलाई बुझाउन नै सके । जन्मशताब्दी मनाइँदै गर्दा पनि बीपीलाई केवल सालको एक–दुई बार तस्बिरमा माल्यार्पण गरिने र भाषणमा नाम लिइने पात्रका रूपमा सीमित तुल्याइन लागेको अनुभूतिबाहेक उपलब्धिपूर्ण केही महसुस भएन ।
वास्तवमा बीपीका अनुयायी तथा आफूलाई प्रजातन्त्रवादी खेमाको ठान्नेहरूले भन्दा पनि हिजो प्रजातन्त्रको विपक्षमा उभिएका र बीपीको सत्तोश्राप गरेकाहरूले समेत आज बीपीलाई आदरका साथ सम्झँदै छन्, उनका आचार–विचारको उपादेयताबारे व्याख्या गर्दै छन् । विगतमा बीपीका विचारप्रति फरक मत राख्नेहरूले आज बीपीको विचारमा सान्दर्भिकता खोज्दै छन् । परिवर्तित परिवेशमा पनि राजतन्त्रको पक्षपोषण गर्दै आएको राप्रपा नेपालका कमल थापाहरू हुन् या १० वर्षे हत्या–हिंसाको राजनीति गर्ने दलका शीर्षनेताहरू नै किन नहुन्, आज बीपीको बखानका कथा हाल्ने स्थानमा उभिएका भेटिन्छन् । हिजो बीपीका विचारप्रति फरक मत राख्नेहरूले आज यसरी बीपीको विचारमा सान्दर्भिकता देख्नु सकारात्मक र महत्वपूर्ण विषय हो । बीपीको प्रजातन्त्रप्रतिको समर्पण र मुलुकप्रतिको लगावलाई समयमै बुझ्न नसक्नु आफूहरूको गल्ती थियो भनी आलोचकहरूले स्वीकार गर्नु कम गहन सन्दर्भ होइन । तर, यसरी बीपीलाई सम्झेर व्यापक रूपमा बहस गर्न र बुझ्न चाहने मानिसको सङ्ख्या किन बढिरहेछ ? गैरकाङ्ग्रेसजनमा बीपीप्रति आकर्षण किन बढिरहेको छ त ? के आफूलाई बीपीको विरासत धान्ने ठेट काङ्ग्रेसी ठान्नेहरूले यस प्रश्नमा घोत्लिएर कहिल्यै जवाफको खोजी गरेका छन् ?
यसैगरी, बीपीका विचार र नीतिलाई आफूअनुकूल व्याख्या गर्ने दुस्प्रयत्न हुने गरेको पनि पाइएको छ । बीपीको मेलमिलाप नीति र राजासँग घाँटी जोडिएको अभिव्यक्तिको अपव्याख्या गर्दै कतिपयले प्रतिगमनकारीकै कोटीमा उभ्याउन खोजेका छन् । राष्ट्रको रक्षा गर्नका लागि राजतन्त्रवादीहरूले प्रजातन्त्रलाई आत्मसात् गर्नैपर्छ र प्रजातन्त्रवादीहरूले पनि तात्कालिक राजावादीसँग मिल्नुपर्छ भन्ने बीपीको मेलमिलाप नीति थियो । राष्ट्रियता र प्रजातन्त्र एक–अर्काका पूरक हुन् भन्ने बीपीको धारणा थियो । तर, बीपीका बहुचर्चित यस्ता अभिव्यक्तिको अपव्याख्या गर्ने चेष्टा पनि यदाकदा हुने गरेको पाइन्छ । के यसबाट बीपीको व्यक्तित्वलाई जोगाउने चिन्ता काङ्ग्रेसले कहिल्यै गरेको छ ? बीपीका विचार–चिन्तन र मार्गनिर्देशनको अपव्याख्या हुने अवस्थाबाट कसरी जोगिने भन्नेतर्फ काङ्ग्रेसको ध्यान पुग्न सकेको छ ? यसैगरी, बीपीको फोटो हेरेर ‘यो को हो ?’ भनी जिज्ञासा राख्नेहरू पनि आज काङ्ग्रेसमा समेटिएका छन् । के बीपीको विचार बोकेको र त्यसलाई अङ्गीकार गरेर अघि बढेको या बढिरहने दाबी गर्ने काङ्ग्रेस नेतृत्वले बीपी नचिन्ने वर्गलाई बीपीको विचार बुझाउनेबारे कहिल्यै सोचेको छ ? बीपी नबुझेका या नचिन्नेहरूलाई अपहेलित र तिरस्कार गर्ने कि बीपीबारे बुझ्न खोज्नेहरूलाई बुझाउने चेष्टा गर्ने ? यसतर्फ पनि अब काङ्ग्रेस नेतृत्वको ध्यान पुग्नु आवश्यक छ ।
यी सवालहरू उब्जँदै गर्दा बीपी नेपालका सन्दर्भमा झन्–झन् बढी सान्दर्भिक बन्नुभएको सत्यलाई अब उपेक्षा गर्न किमार्थ सकिन्न । ३५–४० वर्षअघि बीपीले राष्ट्रियता र प्रजातन्त्रबारे दिएका विचार र दृष्टिकोण आज आएर हुबहु मिल्न पुगेका छन्, अकाट्य र अपरिहार्य बन्न पुगेका छन् । अब बीपीको विचार पछ्याएर त्यसलाई व्यवहारमा नउतार्ने हो भने प्रजातन्त्र मात्र होइन नेपाल नै नरहने सम्भावनासमेत राजनीतिक पण्डितहरूले व्यक्त गर्न थालेका छन् । यसर्थ, राजनीतिक विचार वा सिद्धान्त मात्र नभई जातजाति, सम्प्रदाय र देशको भूगोललाई समेत कारण बनाएर मुलुक विखण्डन र अवसानकै मार्गतर्फ उन्मुख हुन थालेको वर्तमान परिवेशमा बीपीलाई सम्झिनु मात्र भन्दा पनि राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र मुलुककै अस्तित्व रक्षार्थ उनका विचार तथा नीतिलाई व्यवहारमै उतार्नेतर्फ काङ्ग्रेस र गैरकाङ्ग्रेसजन पनि एकमत हुनु अपरिहार्य छ भन्दा अत्युक्ति सायदै ठहरिएला ।