रैती संस्कारविरुद्ध– जीबी आचार्य

रैती संस्कारविरुद्ध– जीबी आचार्य


bicharमङ्सिर ४ गतेका लागि घोषणा भएको संविधानसभाको दोस्रो निर्वाचन आउन अब दुई महिना मात्र बाँकी छ । संविधानसभाको चुनाव घोषित मितिमा हुने वा नहुने प्रशस्तै आशङ्का बाँकी रहेको बेलामा निर्वाचनमा सहभागिता जनाउन चाहेका दलहरूभित्र यतिबेला उम्मेदवार छान्ने चटारो देखिएको छ । मूलधारका अधिकांश पत्रपत्रिकामा दलहरूका यिनै समाचारले ठाउँ पाइरहेका छन् । समाचारका अधिकांश मजबुनहरू यी र यस्तै छन्– टिकटका लागि पार्टीभित्र किचलो सुरु भएको छ । उम्मेदवार छान्नका लागि गठन भएका उम्मेदवार सिफारिस समितिहरू विवादित भएका छन् । नेताहरूबीच मनमुटाव बढेको छ । जिल्ला समिति/कमिटी र निर्वाचन क्षेत्र समिति/कमिटीहरूलाई प्रभावित पारी अफू १ नम्बरमा सिफारिस हुन आर्थिक चलखेल र केन्द्रीय नेतालाई प्रयोग गरी प्रभाव पारेका तथा डन अनि आपराधिक चरित्रका व्यक्तिहरूसमेत उम्मेदवारको सिफारिसमा परेका छन् ।
उम्मेदवार छनोटको अन्तिम निर्णय केन्द्रीय कमिटीले लिने हुँदा अहिले जिल्लाका सबै आकाङ्क्षी काठमाडौं ओइरिएका र ती आकाङ्क्षीको भीडले सुन्धारा क्षेत्रका सम्पूर्ण होटल तथा लजहरू भरिभराउ भएको अनि आकाङ्क्षीहरूले आफ्नो सीट सुरक्षित राख्न प्रभावशाली नेताको निजी निवासमा नेताहरू ब्युँझनुभन्दा अगावै पुगेर अड्डा जमाएका घटना चर्चाको विषय बनिरहेका छन् । यतिबेला पङ्क्तिकार बीपी कोइरालाको ‘दोषी चस्मा’ कथा स्मरण गरिरहेछ । यी आकाङ्क्षी त्यही दोषी चस्मा कथाका पात्र केशवराजहरू हुन् । आज मुलुकमा प्रजातन्त्रको उच्चतम विकसित रूपको ‘लोकतन्त्र’ स्थापित छ । प्रचलित संविधानले तमाम फुँदा जोडेर नेपाल राज्यको व्याख्या गरिसकेपछि देशको सार्वभौम सत्ता (सबैभन्दा ठूलो शक्ति) नेपाली जनतामा रहेको उद्घोष गरिसकेको छ । लोकतन्त्रको देदिप्यमान आलोकमा उम्मेदवार छनोटमा देखिएको यो रैती–संस्कार लाजमर्दो छ । यसले लोकतन्त्रको साख गिराएको छ ।
नेताको दैलो चहारेर चुनावमा टिकट पाइन्छ भन्ने थुत्थो मानसिकता बोकेका यी आकाङ्क्षी ‘सार्वभौम सत्ता जनता’ होइनन् । यी त २००७ साल अगाडिका रैती ‘केशवराजहरू’ हुन् । यी रैतीहरूले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधित्व कसरी गर्न सक्लान् ? बडो उदेकलाग्दो विषय छ । यी केशवराजहरू नेताको दैलो कुर्नुलाई आफ्नो अहोभाग्य सम्झन्छन्, चाकडीलाई मोक्ष ठान्छन् अनि दासतालाई योग्यता । नेताको दैलो कुर्नुको सट्टा यिनीहरू जनताको बीचमा हुनुपथ्र्यो । नेतालाई चाकडी गर्नुको सट्टा यिनले जनताको निस्वार्थ सेवा गर्नुपथ्र्यो । नेताको दास हुनुभन्दा यिनीहरू जनताको मार्गदर्शक हुन सक्नुपथ्र्यो । तब मात्र लोकतन्त्र बलियो हुँदो हो ।
निर्वाचन लोकतान्त्रिक पद्धतिका लागि अपरिहार्य सर्त हो । जनभावनाको कदर जनचाहनाको पहिचानका लागि निर्वाचन आवश्यक छ । तर, के निर्वाचनले जनताका चाहनाको पहिचान गर्न सक्छ ? त्यसका लागि पार्टीहरूभित्र लोकतन्त्र हुन आवश्यक छ । पार्टीभित्रको लोकतन्त्र देखिने सबभन्दा महत्वपूर्ण समय नै निर्वाचन हो । पार्टीहरूले कस्ता–कस्ता व्यक्तिलाई उम्मेदवार बनाउँछन्, ती उम्मेदवारले जनचाहना र जनभावनासँग कसरी एकाकार हुन्छन्, यो असाध्यै महत्वपूर्ण पक्ष हो । योग्य र प्रभावकारी उम्मेदवार चयनका लागि पार्टीहरूको अहिलेको संरचना घोर अवैज्ञानिक छ, त्यसैले त आकाङ्क्षीहरू आफ्नै पार्टी र आफ्नै नेताका सामुन्ने रैतीमा बदलिएका केशवराज बनेका छन् । पार्टीको संरचना छ । पार्टीको विधानले पार्टीका ती संरचनागत अवयवलाई अधिकार र कार्यक्षेत्र तोकिदिएको छ । तर, पार्टीका ती स्थानीय इकाइ, समिति वा अवयव कार्यात्मक छैनन् बरु पार्टीभित्र आवश्यक अधिकारको बाँडफाँड र विकेन्द्रीय कोणको अभावमा ती अवयव पङ्गु भइसकेका छन् । हात्तीको देखाउने दाँतजस्तै ती औपचारिक समितिले दुनियाँको आँखामा छारो हाल्नका लागि भए पनि नामहरू सिफारिस गरेका छन् । अब प्रश्न उठ्छ– शक्ति र सत्ताका लागि मरिहत्ते गर्ने यी रैती आकाङ्क्षीले स्थानीय समितिबाट आफू सिफारिस हुन के–के मात्र हत्यकण्डा अपनाए होलान् ? रैती संस्कारको सबभन्दा ठूलो रोग नै त्यही हो । रैती संस्कारका अनुयायी आफूभन्दा ठूलोको अगाडि बुद्धि–विवेक र चेत सारा धितो राखी लम्पसार पर्छ भने ऊ आफूभन्दा सानाबाट पनि त्यही स्तरको स्वामीभक्ति चाहन्छ । अर्थात्, रैती संस्कृतिमा विद्वता बिक्दैन, व्यक्तिगत क्षमताको मूल्याङ्कन रैतीतन्त्रमा कदापि हुँदैन । जहाँ व्यक्तिगत क्षमताको उपयोग हुँदैन त्यहाँ व्यक्ति सिर्जनात्मक क्षमतावान बन्न सक्दैन । अनि यस्तो रैती मनोवृत्तिका रैतीले लोकतन्त्रको मूल्य–मान्यतालाई बोक्न र कार्यान्वयन गर्न पनि सक्दैन ।
रैती संस्कृतिको गाँठो केन्द्रीय नेतृत्वमै गएर जोडिन्छ । स्वयम् केन्द्रीय नेतृत्व नै रैतीतन्त्रको उपज भएको हुँदो हो । लोकतन्त्रप्रति उसले देखाएको प्रतिबद्धता समर्पण होइन, केवल ओठेभक्ति मात्र हो । उसलाई पनि योग्य, स्वच्छ र जनताप्रति समर्पित कार्यकर्ता चाहिएको छैन । चाहिएको छ भने केवल रैतीमात्र । त्यसैले चुनावमा उम्मेदवार छान्न होस् कि पार्टीको आन्तरिक निर्वाचनमा होस्, गुट र उपगुटका कुरा उठेका छन् । जबसम्म पार्टीमा आन्तरिक लोकतन्त्र मजबुत हुँदैन, केन्द्रीय नेतृत्वले राम्रा मान्छे पहिचान गर्न सक्दैन र आफ्नै मान्छेको हालीमुहाली चलिरहन्छ, केवल राजनीतिक परिवर्तनले देश र जनताका समस्या समाधान गर्न सक्दैन । देशको लोकतन्त्र संस्थागत हुनुअगावै पार्टीभित्रको लोकतन्त्र मजबुत र कार्यान्वयन हुन जरुरी छ ।