पाणिनी क्याम्पसको बेथिति नियाल्ने कसले ?

पाणिनी क्याम्पसको बेथिति नियाल्ने कसले ?


– मुक्तिनाथ भुसाल
जिल्लाको एक मात्र पुरानो सामुदायिक क्याम्पसको रूपमा सदरमुकाम सन्धिखर्कमा स्थापना भएको पाणिनी बहुमुखी क्याम्पस केही समययता भविष्यका कर्णधार जन्माउनेतर्फ उन्मुख नभई कसरी सर्वसाधारणलाई ठग्ने भन्ने होडबाजीमा सक्रिय बनेको देखिएको छ । विद्यार्थीका लागि विद्यालय वा क्याम्पस भनेको मन्दिर र शिक्षक भनेका गुरु हुन् भनिन्छ । तर, यस्ता आदरणीय पात्र गुरुहरू नै भ्रष्ट बनेपछि कसले कसको विश्वास गर्ने अनि कसरी सम्मान गर्ने ? एउटा सोचनीय विषय बनेको छ । पाणिनी बहुमुखी क्याम्पसका जिम्मेवारहरू पानीमाथीको ओभानोजस्तै बन्न खोजे पनि उनीहरूकै कारण कतिजनाले भित्रभित्रै बलिन्द्र आँसु बगाउनुपरेको छ र त्रिविको लगानी कसरी दुरुपयोग बनेको छ भन्ने विषयमा सङ्क्षिप्त जानकारी गराउने प्रयास यहाँ गरिएको छ ।
कम्प्युटर खरिदमा भ्रष्टाचार
करिब एक वर्षअघि बीसदेखि पच्चीसवटा कम्प्युटर खरिद गरिए पनि उक्त कम्प्युटरहरू कमसल भएकै कारण कामै नलाग्ने गरी थन्किएपछि करिब दुई महिनाअघि त्रिभुवन विश्वविद्यालयको अनुदान आयोगबाट प्राप्त रकममा १४ वटा ल्यापटपका लागि टेन्डर आह्वान गरेको अर्घाखाँचीवासीका लागि लुकेकोे विषय होइन । जिविसका बोहरा सर, शिक्षाका वर्मा सर, कोलेनिकाका रायमाझी सरलगायतका टिमहरू निर्णायक टिम भए पनि टेन्डरको नम्र्सभन्दा तल आई कमसलखाले ल्यापटप क्याम्पस भिœयाउँदै गर्दा पाँचवटा थप ल्यापटप बिनाटेन्डर नै खरिद गरी समग्र विद्यार्थीको भविष्यमाथि क्याम्पस प्रशासनले खेलवाड र अभिभावकमाथि अन्याय गरेको अनि त्रिविको अनुदान रकम दुरुपयोग गरेको कुरा सर्वत्र चर्चाको विषय बनेको छ ।
त्रिविको आडमा विद्यार्थी र शिक्षकमाथि ज्यादती
शिक्षाशास्त्र सङ्कायअन्तर्गत ईपीएम दोस्रो वर्षका दुई विद्यार्थीको शोधपत्र जाँचको बाह्य परीक्षकको रूपमा त्रिविका सहनियन्त्रक डा. नारायणप्रसाद बेल्वासे आएका थिए र भदौ ६ गते भाइवा भएको थियो । बेल्वासेले काठमाडौंदेखि भैरहवासम्मको प्लेन टिकट, भैरहवादेखि बुटवलसम्मको ट्याक्सी भाडालगायत करिब १९ हजारको बिल क्याम्पसलाई पेस गरे र उक्त रकम विद्यार्र्थीबाट उठाउन उनले क्याम्पसलाई आदेश दिए । विद्यार्र्थीले मोटो रकम दिन आनाकानी गरेको सुइँको पाएपछि उनीहरूको शोधपत्र हेर्दै हिँड्ने बेलामा ‘मैले भनेअनुसारको रकम मलाई दिने कार्य गर्नु, तब मात्र शोधपत्र स्वीकृत हुनेछ, अन्यथा वर्षाैं काठमाडौंको तारेख बोकौला’ भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा क्याम्पसको प्राङ्गणमा दिँदै डा. बेल्वासे काठमाडौं प्रस्थान गरेको लुकाएर लुक्दैन । डा. बेल्वासेको डरलाग्दो अभिव्यक्तिको विषयलाई क्याम्पस प्रशासनको भदौ ३० गतेको निर्णयले प्रतिव्यक्ति बाह्र हजार पाँच सय उठाउने निर्णय गरेको कुरा क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले टेलिफोनबाट जानकारी गराए । दुईजना मात्र विद्यार्र्थीबाट उठेको २५ हजारमा त्रिविका सहनियन्त्रक बेल्वासेलाई दिएर बचेको रकम क्याम्पस प्रशासनका जल्दाबल्दाहरूको चियापानीमा खर्च गरिने स्रोतको दाबी रहेको छ । यसै विषयमा केन्द्रित भई सोही क्याम्पसका प्राध्यापक जगन्नाथ भुसाललाई जिज्ञासा राख्दा यो सरासर गलत भएको र एउटा बेल्वासेको धम्कीका भरमा विद्यार्र्थीलाई ज्यादती गर्नु क्याम्पसप्रमुखको भूल भएको बताए ।
ईपीएम पढाउनका लागि विज्ञापनको सामना गरेर गुल्मीबाट पाणिनी क्याम्पसमा आई कार्यरत महिला शिक्षिका लक्ष्मी खड्का एउटी इमानदार र दक्ष शिक्षिका हुन् । क्याम्पसका स्टाफको निर्णयमा ईपीएमको विभागीय प्रमुख रहँदै आएकी भए पनि त्रिविका सहनियन्त्रक डा. नारायणप्रसाद बेल्वासेले यदि महिला शिक्षिका खड्कालाई विभागीय प्रमुखबाट हटाई आफूले सिफारिस गरेको शिक्षकलाई विभागीय प्रमुख नबनाए आफूले भाइवा नै नगर्ने अडान लिएपछि बेल्वासेको मावलीतर्फका ज्वाइँ पर्ने नन्दराम भट्टराईलाई विभागीय प्रमुख बनाउने सपना पूरा भएको सत्यता कहीँ कतै छिपेको छैन । नन्दराम क्याम्पसका अतिरिक्त समयका अर्थशास्त्र विषयका शिक्षक हुन् र उनको स्थायी जागिर जनज्योति उमाविमा रहेको छ ।
बाहिरी जिल्लाबाट अर्घाखाँचीमा आई आफ्नो दक्षता र इमानदारी निर्वाह गर्दै आएकी महिला शिक्षिका खड्काको सकारात्मक देनलाई प्रशंसा गर्नुको साटो त्रिवि सहनियन्त्रकको मिलेमतोमा एउटी महिला शिक्षिकाको सम्मानमा आँच पु-याउने क्याम्पसका जिम्मेवारलाई निगरानी राख्ने कसले ? सर्वत्र चासोको विषय बनेको छ । आफ्नो मानहानि भएलगत्तै व्याकुल बनेकी बन्द कोठामा खड्काले बलिन्द्र आँसुका धारा चुहाउँदै ‘बेजिल्लामा जागिर खाने महिलाले जस्तो पनि सहनुपर्दोरहेछ’ भनी गुनासो गरेकी थिइन् ।
दलको आडमा ठगी
सदरमुकाम सन्धिखर्कभित्र रहेका सम्पूर्ण सार्वजनिक जमिनमा तिमीहरूले लालपुर्जा प्रमाणपत्र पाउँदैछौँ भन्ने प्रलोभनमा फसाएको क्याम्पस व्यवस्थापनले लालपुर्जा दिलाउन सक्ने त कुरै भएन तर बुझेको रकम पनि फिर्ता गर्न हिच्किचाउन लागेको कारण धेरैजनाको बनिबास हुने पक्कापक्की देखिन थालेको छ । क्याम्पसप्रमुख क्षेत्रीलगायत दलका केही नेता प्रतिनिधि पनि उक्त कार्यमा एकजुट भएका कारण क्याम्पसलाई सहयोग पनि हुने र नापी आएपछि लालपुर्जा पनि पाइने प्रलोभनमा धेरैजनाले लगानी गरे पनि जमिनको लालपुर्जा पाउन नसकिने कुरा विशेष नापी प्रमुखले प्रस्ट्याइसकेको अवस्था छ । सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउन क्याबिनेटको निर्णय हुनुपर्छ ।
जिल्ला शिक्षा कार्यालय सन्धिखर्कको पछाडि रहेको सार्वजनिक जमिन बिक्रीका लागि खुला बोली आह्वान गरेपछि स्थानीय पदम क्षेत्री, नारायण अर्याल, नूर महम्मद, सफी मियाँ, नसिर मियाँ र यो पङ्क्तिकारलगायतले सुरुमै पन्ध्र हजार जम्मा गरी बोली लगाएका भए पनि यीमध्ये पाँचजनाले यथार्थता बुझी बाँकी रकम तिरेनन् भने पङ्क्तिकारले ब्याजे रकम खोजी जम्मा दुई लाख पच्चीस हजार क्याम्पसको रावा बैंकको चल्ती खाना नं. ६८३ मा जम्मा गरिदिएको भए पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल र विशेष नापी प्रमुखद्वारा क्याम्पस प्रशासनले धोका दिएको नालीबेली जानकारी भएपछि आफ्नो गुमाएको रकम फिर्ताका लागि निवेदन दिएको पनि वर्षौं भयो, तर प्रशासनले बुझेर पनि नबुझेजस्तो गरेको छ । पाणिनी बहुमुखी क्याम्पस प्रशासन उर्फ व्यवस्थापनको नालीबेली यो पङ्क्तिकारसँग मात्र सम्बद्ध नभई स्थानीय टोपलाल सुनार, ऋषि अधिकारी, माधव श्रेष्ठलगायतका थुप्रै व्यक्तिको भविष्यसँग पनि जोडिएको छ । सदरमुकामको मुटु मानिने गुन्टिखोलामा रहेको सार्वजनिक जमिन क्याम्पसले लालपुर्जा दिन्छ भन्ने क्याम्पसप्रमुख क्षेत्री र दलका नेताहरूको आशामा मोटो रकम बुझाउन विवश बनेका छन् । विडम्बना लालपुर्जा दिन्छौँ भन्ने दलका नेताहरू अहिले कुन कुनामा छन् भेट्टाउन गाह्रो बनेको र उसबेलादेखि हालसम्म क्याम्पसप्रमुख रहेका ज्ञानबहादुर क्षेत्रीले व्यवस्थापनको मिटिङराख्छु र पैसा फिर्ता गरिदिन्छु भन्ने गरेको पनि निकै बितिसक्यो ।
मनपरी ढङ्गले जताततै ब्रह्मलुट मच्चाउँदै आएको पाणिनी बहुमुखी क्याम्पसको प्रशासनिक रवैयाले क्याम्पस हुनु र नहुनुमा सर्वसाधारणलाई कुनै असर पार्लाजस्तो देखिएको छैन । आफ्नो व्यक्तिगत सेवा र सुविधाको ग्यारेन्टी गर्ने अनेकौँ झुटा वहानामा सर्वसाधारणलाई फसाउने यो क्याम्पसका गन्नेमान्नेहरूलाई कानुनको दायरामा ल्याउँदै भविष्यका कर्णधार जन्माउने मन्दिरलाई पवित्र राख्न कर्मचारीको सरकारले कहिले ध्यान पु-याउने हो, व्यग्र प्रतीक्षाको विषय बनेको छ ।