राजधानी काठमाडौंको अहिलेको सबैभन्दा ठूलो समस्या के होला ? खानेपानी ? बिजुली बत्ती ? धुलाम्मे बाटो, ट्राफिक जाम ? पार्किङ ? हुन त समस्या नभएको ठाउँ नै कहाँ होला र ? अस्पताल गयो सबै मानिस बिरामी नै छन् जस्तो लाग्नेगरी भीडभाड हुन्छ । मन्दिर वा ज्योतिषीहरूकहाँ देखिने भीड हेर्दा सबै मानिस कुनै न कुनै समस्यामा छन् र त्यसबाट मुक्ति चाहन्छन् भन्ने लाग्छ । आर्यघाटमा लहरै देखिएका लाश र भरिभराउ किरियापुत्री भवनहरू हेर्दा मर्ने मानिसको सङ्ख्या कम छ झैं लाग्दैन । समस्या स्थान, परिस्थिति र मानिसका आवश्यकताअनुसार फरक–फरक छन् । प्रायः घरमै बस्ने या खेतीपातीमा व्यस्त हुने मान्छेलाई सडकमा ट्राफिक जाम हुनु या बजारमा पेट्रोल नपाइनुले खासै अर्थ राख्दैन । दिनरात गाडी चलाउनेलाई घरमा नभएको बिजुलीबत्तीले अप्ठ्यारो पार्दैन । जो, जहाँ, जे–जसरी जिन्दगी चलाइरहेका हुन्छन् आफूसम्बद्ध क्षेत्रमा कुनै न कुनै समस्या मानिसहरूले भोगिरहेकै हुन्छन्, छन् । राजधानीवासीले भोग्दै आएका अनेकौँ समस्यामध्ये ट्राफिक जाम र पार्किङ दिन प्रतिदिन ठूलो समस्या बन्दै गएको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सम्बन्धित क्षेत्रले खासै योजना बनाएजस्तो लाग्दैन । नो पार्किङका नाममा ट्राफिक प्रहरीले सडकमा सवारीचालकलाई जे–जस्तो व्यवहार गर्दै आएका छन् ती नीतिबाट निर्देशित नभएर सडकमा खटिएको ट्राफिकको एटिच्युटमा भर पर्ने प्रकारको छ । कुनै ठाउँमा गाडीहरू लामबद्ध गरी राखेको देखेर पार्क ग-यो फर्केर आउँदा ट्राफिक प्रहरीलाई लाइसेन्स मात्र बुझाउनुपर्दैन कतिपय अवस्थामा उनीहरूबाट दुव्र्यवहारसमेत खप्नुपर्छ । सडकमा कहाँ पार्क गर्न हुन्छ कहाँ हुँदैन कुनै–कुनै स्थानमा बाहेक सङ्केत चिह्न छैनन् । हिजोआज सडक फराकिलो भएपछि पार्किङको समस्या झनै बढेको छ । केही दिनअघिको कुरा हो, कालिकास्थानमा गाडीहरू लामबद्ध रूपमा सडक छेउमा पार्क गरिएका थिए । त्यहाँको दृश्य हेर्दा पार्क गर्न नमिल्नेझैं देखिँदैनथ्यो, गाडीहरू पास भइरहेकै थिए । अलि पर ट्राफिक प्रहरी पनि उभिएका थिए । प्रहरी त्यहीँ हुँदाहुँदै नराख नभनेपछि राख्न मिल्ने रै’छ जस्तो लाग्यो र पार्क गरियो । गाडी पार्क गरेपछि ती प्रहरी नजिकबाट आफू पास हुँदै गर्दा पनि उनले खासै कुनै प्रतिक्रिया दिएनन् । एकछिनपछि फर्किएर आउँदा लाइसेन्स मागे, स्वाभाविक रूपमा मैले भने अघि पार्क गर्दा तपाईंले केही भन्नुभएन अहिले किन लाइसेन्स मागेको ? खुरुक्क लाइसेन्स दिनुस् भन्दै उनले पाँस सय रुपैयाँको चिट थमाए । अन्य केही गाडीका मानिस पनि भनिरहेका थिए, अघि केही भन्नुभएन, अहिलेचाहिँ हामीलाई यस्तो गर्ने ? एकपल्टलाई माफ गर्नुस् मलाई थाहा थिएन भनेर एक महिला बिन्ती गरिरहेकी थिइन् । तर, उनले झापझुप सबैको लाइसेन्स लिए र चिट थमाए । भोलिपल्ट सोही समयमा उक्त स्थानमा पुग्दा अघिल्लो दिनझैं त्यहाँ लामबद्ध गाडीहरू थिए तर ट्राफिक प्रहरी थिएनन् न त त्यहाँ नो पार्किङको कुनै सङ्केत नै थियो । अघिल्लो दिन लाइसेन्स बुझाउनेहरूले बैंकमा पैसा बुझाउँदाको लाइन र लाइसेन्स लिन प्रहरी कार्यालयसम्म पुग्दा पाएको दुःख र भोलिपल्ट सोही ठाउँमा मजाले पार्क गरेर राखेका गाडीहरू हेर्दा ‘यस्तो पनि कुनै नियम हुन्छ ?’ भन्ने प्रश्न मनमा उब्जियो तर असन्तुष्टि पोख्ने ठाउँ थिएन ।
‘दशैँ आएर होला अहिले त ट्राफिक प्रहरीले धेरै नै दुःख दिएका छन्’ सवारीचालकहरू भन्छन् । एकातिर ट्राफिक कार्यालयले मापसे बन्द गरेर घरपरिवारको वाहवाही पाइरहेको छ भने अर्कोतिर ट्राफिक प्रहरीबारे यसप्रकारका तीता कुराहरू सडकमा सुनिन्छन् । ट्राफिक नियम उल्लङ्घनका नाममा चिट काट्दा पनि मान्छेको रूप रङ हेरेर काट्ने गरिएको छ न कि नियमानुसार । महिलाका हकमा उनीहरूले धेरै सोधखोज गर्दैनन् भनेर होला शायद दुई सय जरिवाना गर्नुपर्ने ठाउँमा एक हजारको चिट थमाएको पनि देखियो । गाडी चलाउने महिला प्रायः धनी मान्छेका श्रीमती या छोरी–बुहारी हुन्छन् र उनीहरूलाई सडक नियमबारे केही पनि थाहा हँुदैन भन्ने मानसिकतामा अहिले पनि ट्राफिक प्रहरीहरू रहेको देखिन्छ । पुरुषकै हकमा पनि कहाँ यति हो र ? यसको त तपाईंहरूको चिटमा लेखेअनुसारै यति हुन्छ नि भनेपछि सच्याउने गरेको पनि देखिएको छ । यसप्रकारको प्रवृत्तिले सडकमा गलत शासनलाई बढावा दिइरहेको छ । आफूलाई मन लागेको बेला ह्वार्र सडकमा ओर्लिएर धावा बोल्ने मन नलागेका बेला चुपचाप बस्ने भन्ने हुँदैन, नियमअनुसार कारबाही भयो भने त्यसले प्रणाली विकासमा मद्दत गर्छ । नियम उल्लङ्घन गर्ने सडक प्रयोगकर्ताहरूलाई ट्राफिक प्रहरीले फूल दिएकोजस्ता कुराहरू बाहिर आए पनि सडकमा ट्राफिक प्रहरीको व्यवहार बाहिर आएझैं भद्र छैन । त्यसो त, मान्छेअनुसार प्रवृत्ति फरक हुनु स्वाभाविक हो तर ट्राफिक प्रहरीका लागि सडक आफ्नो प्रवृत्ति उजागर गर्ने ठाउँ नभएर सम्बन्धित नियम–कानुनलाई लागू गर्ने ठाउँ हो । सबै ट्राफिक प्रहरी उस्तै छन् भन्ने होइन तर केहीको व्यवहारले गर्दा सबै उस्तै हुन् भन्ने भान जनमानसमा परिरहेको छ ।
माथि उल्लेख गरिएका दृश्यलाई छोडेर सडकमा उभिने ट्राफिक प्रहरीको कुरा गर्दा लाग्छ उनीहरू जागिर खाइरहेका छैनन, जिन्दगीको ठूलै प्रतिबद्धता निर्वाह गरिरहेका छन् । काठमाडौंको धुलो, धुँवा, त्यसमा पनि अहिले बाटो निर्माणको क्रममा भएका धुलाम्य सडकमा उनीहरू जसरी ड्युटी निभाइरहेका छन् त्यो हेर्दा उनीहरूको योगदानको कदर जति गरे पनि हुन्छ । चर्को घाम, कठ्याङ्ग्रिँदो चिसो, हुरी–बतास, झरी केही नभनी सडकमा खटिनुपर्ने, पानी परेका बेला लगाउने बर्सादी पनि प्रायः पानी चुहुने नै हुने गरेको छ । दिनभरि सडकमा बसेर मानसिक तनावबीच सवारीसाधनको व्यवस्थापन मात्र उनीहरूले गर्नुपर्दैन थरीथरीका मानिसका फरक एटिच्युडहरूको सामना पनि गर्नुपर्छ । खानेपानीको व्यवस्था छैन न त ट्वाइलेटकै व्यवस्था छ । तिर्खा लागे पनि ट्वाइलेट जाने ठाउँ छैन भनेर दिनभरि पानी नखाई बस्ने ट्राफिक प्रहरीहरू धेरै छन् । महिलालाई महिला भएकै कारणले थप समस्या छ । महिनावारी हुँदा दिनभरि भित्री कपडा फेर्नसमेत पाउँदैनन् उनीहरू । त्यस्तो बेलामा पानी पर्दा बर्सादीबाट पानी चुहिने र पानी शरीरमा पसेपछि कपडा रगताम्य हुने वास्तविकता कमैलाई मात्र थाहा छ । ट्राफिक प्रहरीका यी अनेक समस्या र स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई ख्याल गरेर नेपाल प्रहरीले ट्राफिक प्रहरीका हकमा विशेष सुविधाको व्यवस्था गर्नु आवश्यक छ ।
प्रतिक्रिया