नेपालको एकीकरण रोक्ने सन्धि ‘सुगौली’ !

नेपालको एकीकरण रोक्ने सन्धि ‘सुगौली’ !


नेपालमा सबैका लागि चासोको विषय बनेको सुगौली सन्धि (सन् १८१५) बारे जानकारीहरूको सङ्ख्या कम पाइएको छ । ब्रिटिस इन्डिया र नेपालबीच भएको सन्धिले मुलुकको भूभाग नराम्रोसँग खुम्च्याइदिएको छ र, त्यसै सन्धिपश्चात् नेपालको राष्ट्रिय एकताको अभियान पनि रोकिएको हो । नेपालीका निम्ति दुर्भाग्यपूर्ण बनेको उक्त सन्धिको विवरण पाठकहरूको जानकारीका लागि यहाँ जस्ताको त्यस्तै प्रकाशित गरिएको छ ।
अनुसूची–३
सुगौली सन्धि–१८१५
सम्मान्य कम्पनीका तर्फबाट बादशाहको अति सम्मान्य राजकीय परिषद्का सदस्य, सम्मान्य कम्पनीद्वारा भारत र पूर्वतर्फका सम्पूर्ण मामिलाहरूका निर्देशन र नियन्त्रणका लागि आफ्ना सञ्चालकहरूको उच्च परिषद्बाट नियुक्त महामहिम सम्माननीय फ्रान्सिस, मोइराका अर्ल, नाइट अफ द मोस्ट नोबल अर्डर अफ द गार्टरका लागि महामहिमबाट अधिकारप्राप्त लेफ्टनेन्ट कर्णेल ब्य्राड्शको र श्री ५ महाराजाधिराज गीर्वाण युद्धविक्रम शाह, बहादुरशमशेर जंगका लागि नेपालका श्री ५ बाट अधिकार प्रदान गरिएका श्री गुरु गजराज मिश्र र श्री चन्द्रशमशेर उपाध्यायको बीचमा निर्णय गरिएको सम्मान्य इन्डिया कम्पनी र नेपालका श्री ५ महाराजाधिराज गीर्वाण युद्धविक्रम शाहका बीचमा भएको शान्ति सन्धि । २ डिसेम्बर १८१५ ।
सम्मान्य इस्टइन्डिया कम्पनी र नेपालका श्री ५ महाराजाधिराजका बीचमा युद्ध चम्किएकाले र हालसालै हुन गएका मतभेदहरूभन्दा पहिले धेरै समयदेखि नै दुई राष्ट्रहरूका बीच रहिआएका शान्ति र मैत्रीको सम्बन्धहरूलाई फेरि स्थापना गर्न दुवै पक्षहरू तत्पर भएकाले तल लेखिएबमोजिमको शान्तिका सर्तहरूमा सहमति जनाइन्छ :
धारा १
सम्मान्य इस्टइन्डिया कम्पनी र नेपालका श्री ५ महाराजाधिराजका बीचमा अविच्छिन्न शान्ति र मैत्री रहनेछ ।
धारा २
दुई राष्ट्रका बीच युद्धभन्दा अघिका विवादग्रस्त इलाकाहरू माथिका सब दाबीहरू नेपालका श्री ५ महाराजाधिराज परित्याग गरिबक्सन्छ र ती इलाकाहरूको सार्वभौमिकतामा सम्मान्य कम्पनीको अधिकारलाई मान्यता प्रदान गरिबक्सिन्छ ।
धारा ३
नेपालका श्री ५ महाराजाधिराज यसद्वारा सम्मान्य इस्टइन्डिया कम्पनीलाई तल उल्लेख भएका सबै इलाकाहरू सदाका लागि परित्याग गरिबक्सन्छ :
पहिलो : काली र राप्ती नदीहरूका बीचमा पर्ने सम्पूर्ण तराई ।
दोस्रो : राप्ती र गण्डकका बीचमा पर्ने समस्त तराई (बुटवल खासलाई छाडेर) ।
तेस्रो : गण्डक र कुसाहका बीचमा पर्ने समस्त तराई, जहाँ बेलाइत सरकारको अधिकार प्रस्तुत गरिसकिएको छ ।
वा प्रस्तुत गर्ने दिशामा वास्तविक कारबाही हुँदै छ ।
चौथो : मेची र टिष्टा नदीहरूका बीचमा पर्ने सम्पूर्ण तराई ।
पाँचौँ : मेची नदीदेखि पूर्वतर्फका पहाडहरूमा पर्ने समस्त
भूमिहरू जसभित्र नागरी इलाका र गढी पनि पर्छन् र मोरङबाट पहाडहरूतिर जाने नागरकोटको भञ्ज्याङ, जसमा नागरी र भञ्ज्याङको बीचका भूमिसमेत पर्छन् । माथि उल्लिखित इलाकालाई गोर्खाली सेनाहरूले आजका दिनदेखि चालीस दिनभित्र खाली गरी छोडिसक्नेछन् ।
धारा ४
अघिल्लो धाराले परित्याग गरिएको इलाकाहरूको हस्तान्तरणबाट नेपाल राज्यका जुन प्रमुखहरू र भारदारहरूले क्षति सहनुपर्नेछ तिनलाई क्षतिपूर्ति दिने उद्देश्यले बेलाइती सरकार नेपालका श्री ५ महाराजाधिराद्वारा छानिएका भारदाहरूलाई र श्री ५ बाट निर्धारित अनुपातहरूमा वर्षको जम्माजम्मी दुई लाख रुपैयाँ निवृत्तिभरणको रूपमा भुक्तानी दिन सहमत हुन्छ । छनोट हुनेबित्तिकै महाराज्यपालका छाप र हस्ताक्षरअन्तर्गत निवृत्तिभरणहरूका लागि क्रमानुसार सनदहरू प्रदान गरिनेछन् ।
धारा ५
नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयम्का लागि मौसुफका उत्तराधिकारीहरू वा वारिसहरूका लागि काली नदीको पश्चिममा पर्ने देशहरूसितको सम्बन्ध र सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सन्छ र ती देशहरू वा तिनका बासिन्दाहरूसित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सनेछैन ।
धारा ६
नेपालका श्री ५ महाराजाधिराज सिक्किमका राजालाई उनका इलाकाहरूको आधिपत्यमा कहिल्यै पनि नसताउने वा शान्ति भंग नगर्ने वचन बक्सन्छ । नेपाल राष्ट्र र सिक्किमका राजाका बीचमा अथवा दुवैका प्रजाहरूका बीचमा विवाद उठेका बखतमा ती विवादहरू बेलाइती सरकारको मध्यस्थताका लागि प्रस्तुत गरिनेछन् र बेलाइती सरकारको निर्णयलाई स्वीकृति प्रदान गरिनेछ भनी नेपालका श्री ५ महाराजाधिराजबाट सहमति बक्सन्छ ।
धारा ७
बेलाइती सरकारको स्वीकृतिबिना नेपालका श्री ५ महाराजाधिराजबाट कहिल्यै पनि कुनै बेलाइती प्रजा वा कुनै युरोपीय वा अमेरिकी राष्ट्रका प्रजालाई मौसुफको नोकरीमा लिइबक्सने वा राखिबक्सनेछैन । 
धारा ८
यसद्वारा दुई राष्ट्रका बीचमा स्थापित मैत्री र शान्तिका सम्बन्धहरू सुरक्षित गर्न र बढाउन हरेकबाट अधिकारसम्पन्न मन्त्रीहरू एक–अर्काका दरबारमा निवास गर्नेछन् भनी स्वीकार गरियो ।
धारा ९
नौ धाराहरू भएको यो सन्धि आजदेखि पन्ध्र दिनभित्रमा नेपालका श्री ५ महाराजाधिराजबाट अनुमोदन गरिबक्सनेछ र त्यो अनुमोदन लेफ्टनेन्ट कर्णेल ब्य्राड्शलाई हस्तगत गरिनेछ, जसद्वारा महाराज्यपालको अनुमोदन बीस दिनभित्र र व्यावहारिक भए अझ चाँडो प्राप्त गरी श्री ५ महाराजाधिराजका समक्षमा प्रस्तुत गरिनेछ ।

सुगौलीमा २ डिसेम्बर १८१५ का दिन गरिएको ।

प्यारिस ब्य्राड्श, लेफ्टनेन्ट कर्णेल, पी.ए.
नेपालका श्री ५ महाराजाधिराजका तर्फबाट प्रतिनिधि चन्द्रशेखर उपाध्यायद्वारा यो सन्धि मकवानपुर उपत्यकामा ४, मार्च १८१६ को दिउँसो साढे दुई बजे प्राप्त भयो र बेलाइती सरकारका तर्फबाट प्रतिलिपि सन्धि निजलाई सुम्पुवा गरियो ।
डी.डी. अक्टरलोनी, प्रतिनिधि, महाराज्यपाल