अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच


सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन थालेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

‘अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि त्यहाँको पूर्वाधारले धान्ने भन्दा बढी पर्यटक आउन थालेका छन’, उहाँले भन्नुभयो- ‘छोटो समयको सहज रूपमा पदयात्रा गरेर पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।’

विसं २०६७ सम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा रहेको तथ्य जानकारी नै थिएन । कास्कीतर्फमात्र आधार शिविर रहेको भनिएको थियो । अन्नपूर्णको फेदी नारच्याङमा सन् २०१२ आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि प्रभा माविका तत्कालीन प्रधानाध्यापक तेज गुरुङ नेतृत्वको स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको थियो ।

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । ‘प्रथम आरोही हेर्जोगले दिएको जानकारी र सूचनाका आधारमा निलगिरि र अन्नपूर्ण खोलाको किनारैकिनार ६८ ठाउँमा काठको पुल बनाएर सात दिन लगाएर आधार शिविरमा पुगेका थियौँ’, उहाँले भन्नुभयो- ‘११ वर्षको अवधिमा आधारभूत पूर्वाधार बनाएर तीन वर्षअघिदेखि सञ्चालन गरिएको नारच्याङ–आधार शिविर जोड्ने पदमार्ग ‘भर्जिन’ गन्तव्य बनेको छ ।’

समुद्री सतहदेखि चार हजार १९० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो । पदमार्गमा अस्थायी टहरा बनाएर सञ्चालन गरिएको रेष्टुरेन्टमा दैनिक ५० जनाको क्षमता भएपछि वसन्त र शरदयाममा दैनिक २०० जनाभन्दा बढी पाहुना आएका भुसकेतका होटल व्यवसायी माइकल पुनले बताउनुभयो ।

‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ’, उहाँले भन्नुभयो- ‘एक्यापले ५० पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चारपाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको छ ।’

आधार शिविरमा तीन वर्षअघिसम्म वसन्तयाममा हेलिकप्टरमार्फत आरोहीमात्र पुग्ने गर्दथे । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्किन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ ।

आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता बनेको छ ।

आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना तथा हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ । सञ्चार, विद्युत्, स्वास्थ्य सुविधाको अभाव र रेष्टुरेन्टहरूको क्षमता कम हुदाँ पाहुना तथा व्यवसायीलाई समस्या भएको छ । सञ्चारको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापन गर्न समस्या हुन थालेको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुल स्तरोन्नति गर्नेुपर्ने अवस्था छ ।

photo: rss