अपराध समाचार

अपराध समाचार


crimeचाडबाडकेन्द्रित सुरक्षा व्यवस्था
अन्य समयभन्दा चाडबाडको बेला चोरी, डकैती, ठगीजस्ता आपराधिक गतिविधि धेरै हुने गरेको छ । विशेषगरी दशैँ–तिहारमा शहरी बसोबास भएका स्थानहरूमा चोरीका घटना हुने गरेको विगतका उदाहरणहरूले प्रस्ट पारेको छ । त्यसैले यो बेला प्रहरीलाई चोरी डकैतीजस्ता घटना हुन नदिन, उच्च सतर्कता रहन चुनौती नै हुने गरेको छ । चाडबाडमा शहरबाट गाउँ जाने र घर एक्लै हुने भएकाले पनि चोरी गर्ने गिरोहले यो समयलाई आफ्नो चोरी गर्ने सिजनको रूपमा हेर्ने गरेका छन् । त्यस्तै पकटमारी, लुटपाट पनि यसैबेला बढ्ने गरेको छ । त्यसैले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आगामी दशैँ, तिहार र छठ पर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना र सुरक्षा चुनौतीलाई निस्तेज पार्न भन्दै विशेष सुरक्षा योजना ल्याएको छ । महानगरी प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलनकै आयोजना गरी उपत्यकाकेन्द्रित विशेष सुरक्षा योजनाले सर्वसाधारणलाई भरपर्दो, विश्वसनीय र मजबुत सुरक्षाको प्रत्याभूति दिलाउन दाबी गरेको छ । यसका लागि आयुक्त प्रहरी कार्यालयले अन्य सुरक्षा निकायसँग समेत समन्वय गरी कुनै किसिमको असामाजिक र आपराधिक घटना हुन नदिने तथा आवश्यकताअनुसार दुरुस्त र योजनाबद्ध रूपमा प्रहरी परिचालन र अनुगमन हुने बताइएको छ । महानगरी प्रहरी आयुक्तको कार्यालयका प्रहरी नायव महानिरीक्षक विश्वराजसिंह शाहीले चाडपर्व अवधिभर सुरक्षाकर्मीको परिचालन, शीघ्र सेवा र सहज पहुँचको व्यवस्था मिलाइने दाबी गरे । आमजनतामा भयरहित वातावरण सिर्जना गरी जनजीवनलाई सरल र सहज तुल्याउने उद्देश्यका साथ विशेष सुरक्षा योजना ल्याइएको उनको तर्क थियो । डीआईजी शाहीले उपत्यकाभित्र मात्र आठ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जनाएका छन् । आयुक्त कार्यालयका प्रवक्ता हेमन्त पालले दशैँ, तिहार र छठमा बैंक, वित्तीय संस्थासहित महत्वपूर्ण स्थान र संरचनामा हुनसक्ने आपराधिक गतिविधिलाई निगरानी गर्न र रोक्न सुरक्षा सतर्कतालाई बलियो बनाइने तयारी गरिएको जनाए । सुरक्षा योजनाको अवधिमा शङ्कास्पद व्यक्ति र स्थानमा सुरक्षा निगरानी बढाइनुका साथै खानतलासी लिने र मठमन्दिरको सुरक्षामा समेत विशेष ध्यान पु-याइने दाबी गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले चुनावसँगै चाडबाडका लागि पनि मुलकैभर सुरक्षा व्यवस्था कडा बनाइएको बताएका छन् । उनले चाडको समयमा चोरी–ठगीजस्ता गतिविधि धेरै हुने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा प्रहरी खटिने बताए ।
दशैँ–तिहारलाई भनी उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिसहरू बाहिर जाने भएकाले चोरी गर्ने गिरोहले यस्तो समयलाई आफ्नो सिजन मान्ने र चोरीका योजना बनाउने गरेका छन् । चोरी गर्ने गिरोहले मानिस नभएको एक्लो घरलाई आफ्नो निगरानीमा राख्ने र मौका मिले पनि घर पूरै खोक्रो हुने गरी चोरी गर्ने गरेका छन् । विगतका दशँै र तिहारमा यस्ता घटना भएका थिए । उपत्यका सुनसान हुने, भएकाहरू पनि घरभित्रै बसेर आफन्तसँग रमाइलो गर्ने भएकाले पनि चोरी गर्ने गिरोहलाई यो समय सजिलो मौका हुन्छ । प्रहरीले पनि उपत्यकाभित्र रहेका सबै घरमा निगरानी लगाउन नसक्ने र ड्युटीमा खटिएकाले आफ्नो कामप्रति लापरबाही गर्दा विगतमा चोरीका घटना हुने गरेको थियो । तर, यो वर्ष आयुक्त कार्यालयले विशेष सुरक्षा योजना ल्याएर आमसर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिन खोजेको छ । यता ट्राफिक महाशाखाका प्रमुख डीआईजी केशव अधिकारीले पनि दशैँ, तिहार र छठसम्मलाई ट्राफिक व्यवस्थापनलाई चुस्त पारिने उल्लेख गरे । उनले मापसे चेकजाँचलाई दिउँसैबाट लगाउने र हुन सक्ने दुर्घटना कम गर्न भरपूर प्रयास गर्नेसमेत प्रतिबद्धता जाहेर गरेका छन् । पूर्वक्षेत्रमा पनि दशैँ, तिहार र छठलाई केन्द्रित एकमहिने विशेष सुरक्षा सतर्कता लागू गरिएको छ । सीमा क्षेत्र र बढी चोरी, ठगी हुने तराई क्षेत्र भएको कारणले पूर्वाञ्चल क्षेत्रीय प्रहरीले त्यस क्षेत्रमा एक महिनासम्म विशेष सुरक्षा योजना ल्याएको हो । सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने, ‘सीमा जोडिएको क्षेत्र भएकाले पूर्वको सुरक्षा व्यवस्था बलियो बनाउन एउटा चुनौतीको विषय हो, त्यसमा पनि चाडपर्वको बेला झन् बढी आपराधिक गतिविधि हुने भएकाले एकमहिने विशेष सुरक्षा व्यवस्था लागू गरेका छौँ ।’ अर्यालले चुनावका लागि गरिएको सुरक्षा योजनाले पनि दशैँ–तिहारको सुरक्षा व्यवस्थालाई झन् प्रभावकारी बनाउने दाबी गरे । अर्यालले सीमा क्षेत्रमा बलियो चेकजाँच निर्धारण गरेकोसमेत जानकारी दिए । मध्यक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माले भने दशैँ–तिहार र छठमा राजमार्गमा हुन सक्ने आपराधिक गतिविधि कम गर्न विशेष ध्यान दिने जानकारी दिए । त्यसबाहेक अन्य विषयमा भने शर्मा बोल्न चाहेनन् । त्यसैगरी अन्य क्षेत्रहरूमा यसैगरी यो समयलाई विशेष मानेर केही सुरक्षा कडाइ केही बलियो बनाइएको बुझिएको छ । यसरी प्रहरीले हरेक वर्ष दशैँ–तिहार र छठलाई केन्द्रित गरी विशेष सुरक्षा योजना ल्याउने गरेको छ । तर पनि यो समयमा चोरी, ठगी, डकैतीजस्ता आपराधिक गतिविधि जारी नै रहेको यथार्थ हो । प्रहरीले योजना गम्भीरतापूर्वक लागू नहुँदा र प्रचारमा मात्र सीमित बन्दा आपराधिक गिरोह यो समयमा आफ्नो मिसनमा सफल हुने गरेका छन् । त्यसैले प्रहरीले विशेष सुरक्षा व्यवस्था सार्वजनिकसँगै गम्भीर भएर लागू गर्न सर्कुलर जारी गर्न जरुरी छ । अनि मात्र आमसर्वसाधारणले सुरक्षाको प्रत्याभूति पाउनेछ ।

भारतीय नागरिकमाथि दिनदाहाडै गोली प्रहार
गत हप्ता राजधानीको जोरपाटीमा एक भारतीय नागरिकमाथि गोली प्रहार भयो । जोरपाटीस्थित नारायणटारमा बिहान मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली चलाउँदै भारतीय नागरिकको हत्या प्रयास गरेका थिए । कालो पल्सर बाइकमा आएका दुई व्यक्तिले चलाएको गोली लागी मुस्लिम समुदायका मोहमद सम्सुल्लाह भन्ने व्यक्ति घाइते भएको सामुदायिक प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । पेटमा तीन गोली लागेका घाइतेको स्थानीय शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरेर दुईजना शङ्कास्पद व्यक्तिको स्केच तयार पारी खोजी गरिरहेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी विजय कायस्थले गोली चलाउनेको स्केच प्रत्यक्षदर्शीले दिएको विवरणको आधारमा तयार पारिएको र उनीहरूको खोजी कार्यमा भइरहेको जानकारी दिनुभयो । प्रहरीको भनाइअनुसार गोली चलाउनेले आफ्नो मोटरबाइक एक सय मिटर पर पार्क गरेर आएर पहिलो फायर गरेको र त्यसपछि मोहमद भाग्दै जाँदा बारम्बार गोली प्रहार गरेका थिए । मधेसी मूलकाजस्ता देखिने दुईजना ९३४७ नम्बरको मोटरसाइकल चढेर आएको र उनीहरूले चार राउन्ड गोली फायर गरेपछि भारतीय नागरिक मोहम्मद गुहार माग्दै भाग्दै गरेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
०००