दोस्रो अभियान र किलो शेरा टु अपरेसन

दोस्रो अभियान र किलो शेरा टु अपरेसन


history०५४ माघदेखि ०५५ जेठसम्म जनयुद्धको तेस्रो योजनाको दोस्रो अभियान चल्यो । यस अवधिमा एम्बुसहरू ६ वटाजति भए । तर, हतियार कब्जा भने भएन । जम्मा चारजना जति प्रहरी मारिए । कालिकोटमा पार्टीसमर्थक जनताले प्रहरीमाथि हमला गरी एक राइफल कब्जा गरेर पार्टीलाई बुझाए । यो खालको जनकारबाही जनयुद्धमा पहिलो थियो । ०५४ को सुरुतिर नेत्रविक्रम चन्द (विप्लव)लाई पार्टीले उपत्यकाबाट कर्णालीमा खटाएको थियो । सँगै रोल्पाबाट सन्तोष बुढामगरलाई पनि कर्णाली खटाएको थियो । फलस्वरूप कर्णालीमा पार्टी सङ्गठन व्यापक रूपमा विस्तार हँुदै गयो । कालिकोटको जनकारबाही त्यही सङ्गठन विस्तारको प्रतिफल थियो ।
०५४ मा तनहुँको कालिकाटारमा रहेको प्रहरीचौकीमाथिको सफल र चामत्कारिक कारबाही यस दोस्रो अभियानकै उच्च कारबाही हुन पुग्यो । एक महिला छापामारले चौकीका एक प्रहरीसँग मित्रता गाँसेर चौकीको सबै विवरण बुझे । त्यस सूचनाको आधारमा राम्रो तयारीपछि भएको आक्रमणमा पेस्तोल लिएर गएका केही छापामार एक्कासि चौकीमा पसेर भित्र भएका प्रहरीलाई कब्जामा लिए र आत्मसमर्पण गराए । त्यसपछि प्रहरीको राइफल कब्जा गरी बाहिरका साथीहरूलाई बोलाउन एक छापामार ढोकामा आए र बोलाउन थाले । तर, बाहिरका एक छापामारलाई भ्रम भयो कि भित्रका प्रहरी ढोकामा आएर आफ्ना साथीहरूलाई गुहार्दै छ । ती भ्रममा परेका छापामारले बाहिरबाट गोली प्रहार गरे । आफ्नै साथी छापामार त्यहीँ ढलेर शहीद भए । अरू छापामार भित्र पसेपछि थाहा भयो कि भित्रका सबै प्रहरीले आत्मसमर्पण गरिसकेका रहेछन् । त्यसपछि छापामारहरूले सबै हतियार र गोली कब्जा गरे । प्रहरी सबैलाई बाँधेर छाडे । बाहिर रहेका प्रहरी कोही भागे, कोही कब्जामा परे । अरू छापामार सबै सकुशल फिर्ता भए । तर, सरकारले केन्द्रबाटै ठूलो शक्ति परिचालन गरी लुकाइराखेको ठाउँबाट हतियार फिर्ता लिन सफल भयो ।
तेस्रो योजना मै मजदुर मोर्चाको राष्ट्रिय सम्मेलन भयो । कुमार दाहालको अध्यक्षतामा नयाँ केन्द्रीय समिति बन्यो । मजदुर मोर्चाको सङ्गठन विस्तारले शहरमा माओवादी जनयुद्धको जनआधार र कार्यकर्ता सङ्ख्यामा वृद्धि हुन थाल्यो । महिला मोर्चाको केन्द्रीय नेतृत्व पुनर्गठन भयो । रेखा शर्मा अध्यक्ष, जयपुरी घर्ती उपाध्यक्ष र लक्ष्मी श्रेष्ठ महासचिव तथा अमृता थापामगर सचिव रहेको केन्द्रीय नेतृत्वले सङ्गठन र सङ्घर्षका कार्यक्रमहरू क्रमश: अघि बढायो । विद्यार्थी मोर्चाको राष्ट्रिय सम्मेलन अर्धभूमिगत रूपमा त्रिभुवन विश्वविद्यालयकै हलमा सम्पन्न भयो । यसलाई सफल बनाउन नेत्रविक्रम चन्द विप्लवको विशेष भूमिका रह्यो जो त्यसबेला विद्यार्थी मोर्चाका उपाध्यक्ष थिए । गाउँतिर दमन तीव्र भए पनि शहरमा माओवादी जनसङ्गठनहरू अर्धभूमिगत रूपमा यसरी चल्दै गर्नु नेपाली जनयुद्धको त्यसबेलाको विशेषता थियो । यसले देवेन्द्र पराजुली अध्यक्ष र महासचिव रहेको केन्द्रीय नेतृत्व निर्माण ग-यो । विद्यार्थी सङ्गठनको सङ्घर्ष र सङ्गठन विस्तारले शहरी क्षेत्रमा माओवादी जनयुद्धको जनाधार र कार्यकर्ता विस्तारमा ठूलो प्रगतिको सुरुवात ग-यो ।
जातीय र क्षेत्रीय मोर्चाहरू बनाउने पार्टी नीतिअन्तर्गत त्यस्ता सङ्गठन पनि बन्न थाल्यो । सन्तोष बुढामगरको नेतृत्वमा मगरात राष्ट्रिय मुक्ति मोर्चा बन्यो । यसले मगर जनसमुदायमा सकारात्मक प्रभाव पार्न सुरु ग-यो । दिलीप महर्जन अध्यक्ष र पवनमान श्रेष्ठ महासचिव रहेको नेवा खल: नामको नेवार मोर्चा बन्यो जसमा पद्मरत्न तुलाधर, कवि दुर्गालाल श्रेष्ठ, मल्ल के सुन्दर, डा. केशवमान शाक्यजस्ता पनि सल्लाहकार थिए । यस्तो गर्न सक्नु माओवादीको उपत्यकामा ठूलो सफलताको सुरुवात थियो । यसले उपत्यकाको स्थानीय नेवार समुदायमा तीव्र गतिमा सङ्गठन विस्तारको ढोका खोलिदियो । यसैगरी गंगा लामाको अध्यक्षतामा तामाङ राष्ट्रिय मुक्ति मोर्चा पनि बन्यो । यसले उपत्यकावरिपरिका जिल्लामा रहेका आदिवासी तामाङ समुदायमा माओवादी प्रभाव विस्तारको ढोका खोल्यो । पार्टीको जातीय नीति निर्माण र सङ्गठन निर्माणमा त्यसबेला देव गुरुङ, सुरेश आलेमगर, कुमार योञ्जन तामाङ, लोकबहादुर थापामगर, रवीन्द्र श्रेष्ठ आदिको सक्रिय भूमिका रह्यो । जातीय उत्पीडनका विरुद्ध उत्पीडित जातिहरू र उत्पीडित क्षेत्रका जनतालाई स्वायत्त शासनको अधिकार दिनुपर्ने नारासहितको यो अभियानले नेपालमा जातीय–क्षेत्रीय चेतना व्यापक विस्तार गर्न सुरुवात ग-यो । तर, त्यसबेला जातीय–क्षेत्रीय सङ्घीयताको नारा भने माओवादीले उठाएको थिएन ।
०५४ फागुन १ गते जनयुद्धले दुई वर्ष पूरा गरी तीन वर्षमा प्रवेश गरेको अवसरमा जुलुस, सांस्कृतिक कार्यक्रम, सभा आदि गरेर वार्षिकोत्सव मनायो । प्रहरीचौकीमाथि घेरेर अत्याउने खालले आक्रमण गर्ने कामहरू पनि ठाउँठाउँमा भए । विशेष कार्यक्रमको रूपमा चैत २४ गते संयुक्त जनमोर्चाको नामबाटै नेपालबन्दको कार्यक्रम घोषणा भयो । यस कार्यक्रमले सरकारमा ठूलो हलचल पैदा ग-यो । यस बन्दको क्रममा भएका जनपरिचालन र सशस्त्र प्रचारात्मक कारबाहीहरू तथा विद्रोही पक्षको आह्वानमा देशै ठप्प हुनुले सरकारलाई नैतिक सङ्कटमा पार्दै लग्यो । जनयुद्ध केवल केही जिल्लाका गाउँमा मात्र सीमित छ भन्ने सरकार पक्षको दाबीलाई असत्य सावित गर्दै शहरमा, राजधानी र तराईमा पनि विस्तार भएको छ तथा देश क्रमश: विद्रोही माओवादीको आदेश र आह्वानअनुसार चल्न थालेको छ भन्ने सन्देश यस बन्दले दिएको थियो ।
जनयुद्ध दुई वर्ष पूरा हुँदा पनि झन् चर्कंदै जानुले तथा आउँदो संसदीय चुनाव सम्पन्न गरेर आफ्नो बहुमतको सरकार पुन: बनाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले केन्द्रीय योजनामा जनयुद्ध दबाउने विशेष अभियान चलाउने निर्णय गरे । सत्ता पक्षमा जनयुद्धलाई दबाएर तह लाउनुपर्छ भन्ने धार हावी भयो । फलस्वरूप ०५५ जेठको दोस्रो हप्तादेखि गिरिजा सरकारले किलो शेरा टु नामको विशेष प्रहरी अप्रेसन सुरु ग-यो । यो अप्रेसन मुख्यत: पश्चिमका राप्ती, भेरी र कर्णाली अञ्चलका जिल्लामा केन्द्रित रह्यो । साथै मध्यका गोरखा, तनहुँ, लमजुङ र पूर्वका काभ्रे, सिन्धुली, रामेछाप, दोलखा आदि जिल्लामा पनि प्रहरी अप्रेसन तीव्र बन्यो ।
०५५ भदौमा भएको माओवादी पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले यस विशेष अप्रेसनको मूल्याङ्कन यसरी ग-यो– ‘जनहत्या र राज्यआतङ्कको यो अभियान आफ्नो सार तत्वमा जनयुद्धको गुणात्मक विकास र प्रतिक्रियावादी सरकारको पराजित मानसिकताको प्रमाण हो । जनयुद्ध यसप्रकारका र यसभन्दा अझ भयानक दमन अभियानका क्रमबाट कैयौँ क्षति र हारका बीचबाट गुज्रेर मात्र अन्तमा सफल हुनेछ भन्ने कुरामा पार्टीले ऐतिहासिक पहल पूर्वदेखि नै लगातार जोड दिँदै आएको छ । ….प्रतिक्रियावादी सत्ताले जनसंहारको वर्तमान अभियानमा विशेष तालिम प्राप्त कमान्डो प्रहरी प्रयोग गरेको छ । हतियार र तालिमका दृष्टिले कमान्डो प्रहरी शाहीसेनाकै सार रहेको छ । हेलिकोप्टर र अत्याधुनिक सञ्चार प्रणालीका आधारमा सञ्चालित यो अप्रेसनमा सेनाले प्रयोग गर्ने एलएमजी, एसएलआर, स्टेन गनजस्ता आधुनिक हतियार प्रयोग गरेका छन् । दमनको उनीहरूको मूल नीति घेरा हाल्ने र सखाप पार्ने नै हो । यहाँको विशिष्ट रूप मुख्य इलाकाहरूका तीन–चार जिल्लासम्म लिएर सेना र पुलिसद्वारा प्रत्येक नाकाहरू बन्द गर्नु र त्यसरी ठूलो घेरा तयार गरेपछि निश्चित जिल्ला र इलाकाहरूमा व्यापक अप्रेसन गर्नु रहेको छ । साथै अप्रेसनका क्रममा निश्चित गाउँ इलाकाहरूलाई पनि अर्को घेराबन्दी गर्ने गरेका छन् । यसरी ठूलो घेरा र सानो घेराको क्रममा क्रान्तिकारीहरूलाई खोज्ने र हत्या गर्ने सरकारी अप्रेसनको विशेषता रहेको छ । अपे्रसनका क्रममा दुश्मनले जो–कसैलाई पनि माओवादी नेता–कार्यकर्ता वा योद्धा हो भन्ने शङ्का लाग्नेबित्तिकै समातेर निर्ममतापूर्वक हत्या गर्ने, लास गायव पार्ने, जनयुद्धका मुख्य इलाकाहरूमा जनसमुदायलाई आतङ्कित पार्ने र मनोबल गिराउने उद्देश्यले निश्चित गाउँहरूमा अन्धाधुन्ध जनहत्या गर्ने, आमजनता बाल वृद्ध सबैलाई निर्मम रूपले कुटपिट गर्ने, महिलामाथि सामूहिक बलात्कार गर्ने, सामूहिक गिरफ्तारी गर्ने, चर्को यातना दिने, व्यापक लुटपाट गर्ने र गाउँमा आगो लगाउने आदि गरेको छ ।’
यस अप्रेसनमा केही नेता, कार्यकर्ता र जनताको निर्मम हत्या गर्न गिरिजा सरकार सफल रहे पनि बाबुराम र प्रचण्डबीच झगडा गराउन सफल रहे पनि अन्तमा यस विशेष अप्रेसनले जनयुद्धलाई नयाँ उचाइमा विकास गर्न नकारात्मक रूपले ठूलो ऐतिहासिक योगदान ग-यो । यस अग्निदीक्षाबाट जब नेता कार्यकर्ता र समर्थक जनता दीक्षित भएर अघि बढ्यो, तब जनयुद्ध तुफानी रूपले अघि बढ्यो ।