खुकुरी प्रहार गरी छोरा र भाइको हत्या

खुकुरी प्रहार गरी छोरा र भाइको हत्या


रुकुम (पश्चिम) को मुसिकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज (बुधबार) आफ्नै छोरा र भाइको हत्या गरेका छन् ।

छिवाङ चौताराका ३६ वर्षीय शंकर विष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शंकरले खुकुरी प्रहार गरी आफ्ना अन्य दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनको मानसिक अवस्था ठीक नभएको बताइएको छ । छोरा र भाइको हत्या गरेपछि शंकरले आत्महत्याको प्रयास गरेका थिए । शंकर र उनका घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

खोलाले बगाउँदा एकको मृत्यु
यसैगरी नलगाड नगरपालिका–७ दानीपीपल खोलाले बगाएर आज एकजनाको मृत्यु भएको छ । बाढीले बगाएर ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

बाढीले पुल बगायो

नलगाड नगरपालिका–५ कालिमाटीमा गएराति बाढीले दुई झोलुंगे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुंगे पुल बगाएको हो । बाढीले घुहारामा रहेको मिल, कालिमटीस्थित खिमलाल जैशीको घर र १५ घुम्ती पसलसमेत बगाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए । सो ठाउँका पानीघट्टसमेत बाढीले बगाएको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने पुल बगाएपछि यहाँ आवतजावत ठप्प छ । धानखेत बाढीले बगाएको छ ।