कामनपाद्वारा दमकल केन्द्र स्थापना

कामनपाद्वारा दमकल केन्द्र स्थापना


काठमाडौं महानगरपालिकाले अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत सोमबार वडा नं. ६ रामहिटीमा अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्रको शिलान्यास गरे । इटलीको बोल्जानो वोल्जेन प्रदेशको रु. पाँच करोड तथा महानगरको आन्तरिक स्रोतबाट गरी रु. आठ करोड ६१ लाख १६ हजारको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।

तीन दशमलव पाँच रोपनी क्षेत्रफलमा उक्त भवन निर्माण गरिनेछ । सो भवनमा एक लाख ५० हजार लिटर क्षमताको पानी ट््यांकी रहनेछ । भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, तीन दमकल राख्ने ठाउँ, तालिमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल तथा करिब सयजना प्रशिक्षार्थी अट्ने हलको व्यवस्था गरिने कामपाले जनाएको छ ।

कामपाले चालू आवको नीति तथा कार्यक्रमअन्तर्गत महानगरका पाँच क्षेत्रमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्था मिलाउने कुरा उल्लेख छ । कामपाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले समुदाय बलियो भए सेवा सञ्चालन गर्न सजिलो हुने बताइन् ।