संसदमा सांसदहरूको बेग्लाबेग्लैै माग

संसदमा सांसदहरूको बेग्लाबेग्लैै माग


प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसकी विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । कांग्रेसकै भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा पारिएको गुनासो गर्दै करका कारण संघीयता जोखिममा पर्न नहुने धारणा राखे ।

नेपाल कम्युनिस्ट पार्टीका भूपेन्द्रबहादुर थापाले वर्षाका कारण बेनी–जोमसोम बाटो अवरुद्ध भएकाले त्यसलाई खुलाउन आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका महेश्वरजंग गहतराजले मधेस आन्दोलन र जनआन्दोलनका घाइतेको भरणपोषणको प्रबन्ध गर्न माग गरे ।

नेपाली कांग्रेसकी मीना सुब्बाले जनतालाई महसुस हुने गरी मन्त्रिपरिषद्का सदस्यबाट काम प्रारम्भ भएकामा अहिले त्यो सुस्ताएको आरोप लगाइन् । सोही पार्टीका रंगमती शाहीले हुम्ला र डोल्पामा शिक्षक सेवा आयोगको परीक्षा केन्द्र तोक्न आग्रह गरिन् ।

नेपाली कांग्रेसका राजेन्द्र केसीले त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक समस्या समाधान गर्न सकारसँग माग गरे । सोही पार्टीका रामबहादुर विष्टले मोरङको जाँतेस्थित जाँते माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा विषादी मिसाउनेमाथि कारबाहीको माग गरे ।

नेपाल कम्युनिस्ट पार्टीकी रेखा शर्माले वर्षायाममा विकास–निर्माणका काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने र निर्माण व्यवसायीलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराइन् । सोही पार्टीका लक्ष्मीकुमारी चौधरीले गरिबको परिचयपत्र खास गरिबले नपाएकाले त्यसको छानबिन गर्न माग गरिन् ।