हात्तीको आक्रमणबाट रामकुमारको मृत्यु

हात्तीको आक्रमणबाट रामकुमारको मृत्यु


उदयपुर जिल्लाको बेलका नगरपालिका–३ स्थित खैरेनी टप्पुमा आज बिहान आएका तीनवटा हात्तीले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । हात्तीले दुई घरटहरा पनि भत्काएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात्तीको आक्रमणबाट खैरेनी टप्पुका ३५ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको छ भने सार्कीको घर, गोठ र टहरासमेत हात्तीले भत्काएका छन् । कोसीटप्पु क्षेत्रबाट आएका हात्तीले घरमा सुतिरहेका सार्कीलाई घर भत्काएर तानेर ५० मिटर पर लगी खुट्टाले च्यापेर मारेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताए ।

हात्तीले आक्रमण गरेर घर तथा टहरा भत्काएपछि घरका अन्य परिवार भाग्न सफल भएका थिए । रामकुमार शारीरिक रूपले अशक्त भएकाले भाग्न नसक्दा हात्तीले पक्रेर केही पर लगेर मारेको थियो ।

सार्कीको घर तथा गोठ र टहरासमेत पूर्ण रूपमा क्षति भएको छ । घटना घटेलगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली पुगी हात्ती भगाएको र अहिले जनजीवन सामान्य रहेको पनि एसपी राईले बताए ।