पार्किङमा ठाउँ नपाएको झोँकमा बच्चाको हत्या
गाडी पार्किङ गर्न नपाएको झोँकमा दुई वर्षीया बच्चीलाई जमिनमा पछारेर हत्या गर्ने एक व्यक्तिलाई चीनको अदालतले फाँसीको सजाय सुनाएको छ । ३९ वर्षीय हान लेईले गत जुलाईमा पार्किङ विवादमा एक महिलासँग झगडा परेपछि उनकी दुई वर्षीया छोरीलाई प्रामबाट निकालेर जमिनमा बजारिदिएका थिए । बच्चीकी आमाले भनेको स्थानमा कार पार्क गर्न मनाही गरेपछि हान त्यसरी रिसाएका थिए । जमिनमा बज्रिएर गम्भीर घाइते बनेकी बच्चीको उपचारका क्रममा मृत्यु भएको थियो । अदालतमा आफ्नो बचाउ गर्दै अभियुक्त हानले आफूले त्यतिबेला रक्सी सेवन गरेको र प्रामभित्र बच्चा नभई खेलौना रहेको ठानेर भुइँमा पछारेको बयान दिएका थिए, तर अदालतले उनको भनाइलाई स्वीकार गरेन । सो घटनाको एक वर्षअघि मात्र अर्को एक अपराधबापत जेल परेर हान छुटेका थिए । उनको आपराधिक रेकर्डका आधारमा उनको कुरामा अदालतले विश्वास नगरेको र क्रूर हिंसाका लागि मृत्युदण्ड नै उपयुक्त रहेको ठहर गरेको छ ।
तीन आँखा भएको शिशुको जन्म
भारत छत्तीसगढको भाटापारा भन्ने स्थानमा एक महिलाले तीन आँखा भएको अद्भूत शिशुलाई जन्म दिएकी छिन् । छत्तिसगढ टेहका गाउँकी ती महिलाले सरकारी अस्पतालमा उक्त तीनआँखे बच्चालाई जन्म दिएकी भारतीय मिडियाले जनाएका छन् । उक्त शिशुलाई हेर्नका लागि अस्पतालमा मानिसको भीड लागेको थियो । बच्चाको तीन आँखा, दुईवटा नाइटो, शिरमा एक मासुको डल्लो रहेको छ ।अस्पतालमा मानिसहरूले निकै कुतूहलका साथ उक्त नवजात बालकलाई हेरेका थिए भने अहिले महिलाको घरमै पनि तीनआँखे बच्चालाई हेर्न पुग्नेहरूको कमी नभएको मिडियाहरूले जनाएका छन् ।
निधारमा उम्रियो नाक
चीनका चिकित्सकहरूले एक युवकको निधारमा नाक उमारेर प्रशंसा कमाएका छन् । निधारमा सिर्जना गरिएको उक्त नाकलाई पछि अप्रेसनमार्फत नाककै स्थानमा प्रतिस्थापन गर्ने गरी निधारमा उमारिएको हो । गत वर्ष सडक दुर्घटनामा परेर २२ वर्षीय चिनियाँ युवा सिओलियनको नाक क्षतिग्रस्त भएको थियो । दुर्घटनाका कारण लागेको चोट उचित स्याहार नगर्दा नाकमा सङ्क्रमण भई स्वरूप बिग्रिएपछि अनुहारको सुन्दरताका निम्ति तड्पिएका सिओलियन आफ्नो नाक पूर्ववत् अवस्थामा देख्न चाहन्थे । उनको यही चाहनालाई ध्यानमा राखी चीनको फुजियान प्रान्तको फुजाउ अस्पतालका चिकित्सकहरूले सो प्रयास गरेका हुन् । यतिबेला उनको निधारमा उनकै निधारभित्रको छाला र छातीको हड्डीको अंशमार्फत तयार पारिएको कृत्रिम नाक उम्रिरहेको छ । यसले परिपक्वता हासिल गरेपछि त्यहाँबाट निकालेर सिओलियनको क्षतिग्रस्त नाकमा प्रतिस्थापन गरिनेछ ।
लगन भाँड्ने लाटोकोसेरो
साइत निकालेर जुराएको कसैको विवाहको लगन लाटोकोसेरोले भाँडिदियो भन्ने कुरा अपत्यारिलो र अनौठो लाग्न सक्छ, तर हालै बेलायतको विल्टसायरस्थित एक चर्चमा आफ्नो विवाहलाई रोचक पाराले सम्पन्न गर्न चाहने एक युगल जोडीले लाटोकोसेरोको कारण यस्तै दुर्गति खेप्नुप-यो । विवाहको पवित्र बन्धनमा बाँधिन लागेकी सोनिया किडम्यानले आफ्ना हुनेवाला पति एन्ड्रयु म्याटलीलाई चकित पार्ने उद्देश्ले एक तालिमप्राप्त लाटोकोसेरो भाडामा लिएकी थिइन् । त्यस लाटोकोसेरोलाई विवाहको मुहूर्तमा दुलहा म्याटलीको हातमा माथिबाट औँठी खसाउने जिम्मेवारी तोकिएको थियो । तर, साइतको औँठी बोकेर चर्चको छतमा पुगेको लाटोकोसेरो तोकिएको समयमा औँठी खसाउनुको साटो आँखा चिम्लिएर मस्तसँग छतमै बसिरह्यो । औँठी खसाल्नका निम्ति उसको मालिकले उसलाई अनेक इशारा ग-यो तर निकै रमाइलो मूडमा रहेको डेढवर्षे डर्की नामको उक्त लाटोकोसेरोले छतमा यता र उता उडेर एक घन्टा समय गुजारिदियो ।
पत्नी छोडेर कुकुरमा ध्यान
कुनै विवाहित पुरुष आफ्नी पत्नीलाई बेवास्ता गर्दै कुकुरसँग यौन सम्बन्धमा पल्किन्छ भने सुन्नेलाई आश्चर्य लाग्नु स्वाभाविकै हुन्छ । यस्तै अस्वाभाविक व्यवहार गरेर सबैलाई आश्चर्यमा पारिदिएका छन् जिम्बाबेका एक पुरुषले । जिम्बाबेको राजधानी बुलावायो निवासी नदुमिसो सिबाण्डा बकाइदा विवाहित पुरुष हुन् । उनकी पत्नीमा कुनै खुनखोट पनि छैन । तर, उनीमाथि विगत बाह्र वर्षदेखि आफँैले पालेको कुकुरसँग यौन सम्बन्ध राख्दै आएको आरोपमा मुद्दा चलाइएको छ । उक्त मुद्दामा अदालतमा पेस गर्दा सिबाण्डाले आरोपको खण्डन गर्नुको साटो सुन्नेहरू सबैलाई चकित पार्दै आफू कुकुरको प्रेमी भएको र आफ्ना लागि कुकुरसँगको सेक्स अत्यन्तै आनन्ददायक हुने भएकाले यो कर्म छोड्न नसक्ने बयान दिए । उनले अदालतसमक्ष आफ्नो विवाह २७ वर्षअघि भएको प्रस्ट्याउँदै विगत बाह्र वर्षयता सिर्फ कुकुरसँग मात्र शारीरिक सम्बन्ध राख्दै आएको खुलासा गरे । अब पत्नीसँग यौन सम्बन्ध राख्ने कुनै रुचि नभएको हाकाहाकी बताउने नदुमिसो यतिबेला कानुनी झमेला झेलिरहेका छन् ।
प्रतिक्रिया