स्वतन्त्रता दिवसको अवसर पारेर पुस्तक, बस र एमबुलेन्स उपहार

स्वतन्त्रता दिवसको अवसर पारेर पुस्तक, बस र एमबुलेन्स उपहार


भारतको स्वतन्त्रता दिवसको अवसर पारेर हरेक वर्ष अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको नेपालस्थित भारतीय राजदूतावासले ७२औँ स्वतन्त्रता दिवस मनाउने क्रममा यस वर्ष पनि एम्बुलेन्स, बसलगायतका उपहार तथा सहयोग प्रदान गरेको छ ।

भारतीय दूतावासमा हिजो बुधबार स्वतन्त्रता दिवसको शुभारम्भ गर्दै नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीद्वारा राजदूतद्वारा एक वीर नारी, सात एकल महिला, तीन मृत सैनिकको निकटतम नातेदार र एक भूतपूर्व विकलाङ्ग भारतीय सेनालाई ५.३५ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो भने नेपालका ६८ वटा पुस्तकालय तथा सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरूलाई १७ लाख बराबरको पुस्तक वितरण गरिएको थियो ।

यस्तै, दूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस पनि उपलब्ध गराएको छ ।

आफ्नो मुलुकको राष्ट्रिय ध्वजा फहराए समारोह आरम्भ गरेका राजदूत पुरीले शुरुमा भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाए, जसमा भारतले गएको ७१ वर्षमा विभिन्न क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धिको उल्लेख गरिनुका साथै नेपालको सामाजिक–साँस्कृतिक विकासतर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धता प्रकट गरिएको थियो ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ६ सय ९२ ओटा एम्बुलेन्स र १ सय ३६ वटा बस उपहारस्वरुप प्रदान गरिसकेको उक्त अवसरमा जानकारी दिइयो । हजारौँ नेपाली जनतालाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीका शैक्षिक आवश्यकताको पूर्ति गर्न उल्लिखित सहयोगबाट योगदान पुग्ने दाबी गरिएको छ ।