युद्धस्तरको मानसिकताबीच चुनावी अभियान

युद्धस्तरको मानसिकताबीच चुनावी अभियान


strikesबेग्लै परिणामको सम्भावना
निर्वाचन अभियानका क्रममा छिटफुट अवरोध र हिंसाका घटना भए पनि त्यसले निर्वाचन सम्पन्न हुन कुनै फरक नपार्ने मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बताउनुभएको छ । गत शुक्रबार आफ्नो निवासस्थान बालुवाटारमा केही साप्ताहिक पत्रिकाका सम्पादकहरूसँगको भेटमा रेग्मीले भन्नुभयो, ‘मङ्सिर ४ गते निर्वाचन सम्पन्न भइछाड्नेछ, मेरो दिमागमा मङ्सिर ४ बाहेक अरू केही पनि छैन ।’ नेकपा–माओवादीद्वारा सञ्चालित बहिष्कार अभियान र उक्त पार्टीद्वारा कात्तिक २५ गतेदेखि मङ्सिर ४ सम्म नेपाल बन्द घोषणा गरिएकोप्रति ध्यानाकर्षण गर्दा अध्यक्ष रेग्मीको भनाइ थियो, ‘कसैले चाहँदैमा यो निर्वाचन बिथोलिने छैन, निर्वाचन बिथोल्ने या नेपाल बन्द गर्ने तागत कसैसँग पनि छैन, सरकार सबै प्रकारका अवरोधहरू पन्छाउँदै घोषित मितिमा चुनाव गराउन सक्षम र प्रतिबद्ध छ ।’ यसरी मन्त्रिपरिषद्का अध्यक्षले निर्वाचन गराइछाड्ने र सबै प्रकारका अवरोधहरू पन्छाउने प्रतिबद्धता जनाएको तीन दिनपछि नेकपा–माओवादीले बहिष्कार अभियानअन्तर्गत तेस्रो चरणको कार्यक्रम सुरु भएको जनाएको छ । कात्तिक १० गते तेस्रो चरणको कार्यक्रम सुरु भएपछि देशका विभिन्न भागमा उम्मेदवारमाथि आक्रमण, प्रचारमा प्रयोग भएका गाडीमा आगजनी तथा निर्वाचनको प्रचारसामग्री नष्ट गरिएका समाचारहरू सार्वजनिक हुन थालेका छन् । माओवादीले निर्वाचनको सक्रिय, सशक्त र सशस्त्र बहिष्कार गरिने जनाउँदै आएको छ । सक्रिय र सशक्त बहिष्कारको कार्यक्रम सुरु गरिए पनि तत्काल सशस्त्र गतिविधि भने उक्त पार्टीले नगर्ने बताएको छ । तर, सुरक्षा निकायले ‘फायर खोलेमा’ भने त्यसैलाई युद्धको घोषणा मानी सशस्त्र युद्धमा जाने योजना र तयारी माओवादीको छ । ‘सेना र प्रहरीसँग लडाइँ गर्ने आफूहरूको कार्यक्रम तत्काल नरहेको, तर सेनाले फायर खोलेमा हामी त्यसको सशस्त्र प्रतिरोध गर्नेछौँ,’ माओवादीका एक नेताले नाम नछाप्ने सर्तमा घटना र विचारलाई बताए । नौदिने नेपाल बन्द हरहालतमा सफल पार्ने तर बन्दका क्रममा दूध, पानी, तरकारी, औषधि आपूर्तिमा अवरोध पैदा नगरिने र पत्रकार, एम्बुलेन्स र मानवअधिकारकर्मीहरूको आवागमनमा रोक नलगाइने पनि सम्बद्ध सूत्रले जनाएको छ । बन्दको समयमा निर्वाचन अभियान, निर्वाचन पर्यवेक्षकहरूको आवागमन र निर्वाचन सामग्रीको आपूर्तिमा भने रोक लगाइने उनीहरूले जनाएका छन् । नेकपा–माओवादीले निर्वाचन बिथोल्न राजनीतिक र कार्यमुखी गतिविधि गर्ने बताएको छ । राजनीतिक कार्यक्रम शान्तिपूर्ण हुने र त्यसक्रममा नेता–कार्यकर्ताहरू गिरफ्तारी दिन तयार रहने बताइएको छ । तर ‘एक्सन ओरिएन्टेड’ कार्यक्रम भने बेग्लै ढङ्गले सञ्चालन गर्ने तयारी उक्त पार्टीले गरिरहेको जानकारी प्राप्त भएको छ । माओवादीले तत्काल पार्टीलाई भूमिगत बनाउने सोच बनाएको छैन । तर, सुरक्षा निकायले फायर खोलेमा तत्काल ‘सेना र नयाँ सत्ताको घोषणा गरी’ युद्धमा जाने योजना माओवादीले बनाएको छ ।
यसरी माओवादीले चरणबद्ध रूपमा बहिष्कार अभियान आक्रामक बनाउँदै लैजाने योजना बनाए पनि सरकारले भने माओवादीको त्यस्तो केही गर्ने हैसियत नभएको ठानेको छ । माओवादीले हालसम्म आफ्ना गतिविधि एमाओवादीका विरुद्ध केन्द्रित गरेको छ । माओवादीलाई हैरान पार्ने र चुनावबाट भाग्ने स्थिति बनाउन माओवादीले प्रचण्ड–बाबुरामलगायत एमाओवादी उम्मेदवारहरूलाई प्रचारप्रसारमा अवरोध पैदा गर्दै आएको छ । यसरी एमाओवादीलाई मात्र लक्षित गरी बहिष्कार अभियान सञ्चालन गर्नु उनीहरूको रणनीतिक चालबाजी भएको स्पष्ट बुझ्न सकिन्छ । एमाओवादीलाई मात्र लक्षित गर्दा अन्य दलहरूको भित्री सद्भाव एवम् समर्थन प्राप्त हुने र त्यसले आफ्नो गतिविधिलाई प्रभावकारी बनाउन सजिलो हुनसक्ने विश्वास माओवादीले गरेको बुझिन्छ । यसअघि हिंसात्मक युद्धकालमा पनि माओवादीले काङ्गे्रसलाई मात्र लक्षित गरी अन्य दल तथा राजनीतिक शक्तिलाई तटस्थ तुल्याउने नीति लिएको थियो । पहिले प्रजातन्त्रविरुद्ध प्रचण्डले प्रयोगमा ल्याएको सोही कार्यनीति माओवादीले प्रचण्डहरूमाथि प्रयोग गरिरहेको छ । माओवादीले यसरी आफूहरूविरुद्धको कारबाही तेज बनाएपछि प्रचण्ड आतङ्कित भएका छन् । उनले काङ्गे्रस, एमाले र माओवादी मिलेर आफ्नाविरुद्ध षड्यन्त्र रचेको आरोप सार्वजनिक रूपमै लगाइसकेका छन् । प्रचण्डको यस्तो अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले ‘चुनावबाट भाग्न पृष्ठभूमि बनाएको’ टिप्पणी गरेका छन् । प्रचण्डको यस्तो अभिव्यक्तिपछि कुनै पनि दिन कुनै पनि बहाना बनाएर एमाओवादी चुनावबाट भाग्नसक्ने आशङ्का बढाएको छ । हालसम्मको निर्वाचन अभियानका क्रममा उत्पन्न परिस्थितिको विश्लेषण गर्दा एमाओवादीले तेस्रो स्थानमै चित्त बुझाउनुपर्ने देखिन्छ । देशव्यापी रूपमा माहौल नेपाली काङ्गे्रसको पक्षमा बनेकाले आगामी निर्वाचनपश्चात् काङ्गे्रस देशको सर्वाधिक ठूलो पार्टीको हैसियतमा पुग्ने विश्वास बढाएको छ । सङ्गठन र चुनावी रणनीतिका कारण दोस्रो ठूलो दलको हैसियत एमालेले बनाउन सक्ने विश्लेषण बौद्धिक समुदायले गर्न थालेको छ भने ठूला तीन दलमध्ये सबैभन्दा प्रतिकूल स्थितिमा एमाओवादी रहेको पाइएको छ । तराईमा मधेसकेन्द्रित दलहरू एक्लाएक्लै कमजोर भए पनि उनीहरूको संयुक्त शक्ति चौथो बन्नसक्ने र राप्रपा नेपाल पाँचौँ शक्तिका रूपमा उदाउन सक्ने परिस्थिति निर्माण भएको छ । अखण्ड पार्टी नेपाल र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टी नयाँ शक्तिका रूपमा संविधानसभामा प्रकट हुने देखिएको छ । अहिलेसम्म प्रचण्डलाई आफूहरू पहिलो शक्तिबाट झरेर तेस्रो बन्ने कुराको ‘एहसास’ भएको छैन, कदाचित उनले पनि चुनाव परिणाम प्रतिकूल हुने ठहर गरेमा एमाओवादी चुनावी मैदानबाटै भागेर असहज परिस्थितिको सिर्जना गरिदिने आशङ्का भएको छ । तर, अब कुनै पनि बहानाबाजी कसैले गरेर चुनावमा व्यवधान पैदा गर्न खोजे मुलुकमा अर्को निर्वाचन होइन ‘अर्कै प्रकारको सरकार’ गठन भई राज्य सञ्चालन हुने सम्भावना छ ।