– छविलाल बगाले
शहरबजार वा सुविधासम्पन्न स्थानमा लागूऔषधका दुव्र्यसनी बढिरहेका बेला पछिल्लो समय गाउँघरमा पनि यसको प्रभाव देखिन थालेको छ । लमजुङमा यसका दुव्र्यसनीहरू दिनानुदिन बढिरहेका छन् ।
दुव्र्यसनमा फसेका युवाहरूका कारण केही गाउँमा साँझको बेला हिँडडुल गर्नसमेत अप्ठ्यारो भएको भुक्तभोगीको कथन छ । ग्रामीण भेकमा पाइने मादक पदार्थ तथा गाँजाको प्रयोगले जोखिम बनाएको स्थानीयले बताएका छन् । कुलतमा लाग्नेहरूमा अधिकांश स्कुले विद्यार्थी भएको बताइएको छ । विशेषगरी साँझपख युवाहरू दोबाटो या कुनै घुम्तीमा बसेर गाँजा, मदिरालगायतका पदार्थ प्रयोग गर्दै रातिसम्म बस्दा बाटोमा हिँड्ने यात्रुहरूले असुरक्षाको अनुभव गरेका हुन् ।
दुव्र्यसनमा लागेका युवाको कारण केही सानातिना घटनासमेत भएको पाइएको छ । जिता गाविसअन्तर्गत वडा नम्बर ९ मा युवाहरूले नसाको तालमा एक युवतीलाई घरमै आक्रमण गर्न गएको स्थानीयले जानकारी दिएका छन् । नसामा मात्तिएका युवाले केही समययता जिता गाविसकै वडा नं. ८ को बतासे भन्ने स्थानमा बसेर बाटो हिँड्ने महिला तथा युवतीलाई पनि दु:ख दिने गरेको स्थानीयले बताएका छन् ।
स्थानीयले पटक–पटक प्रहरीमा अनुरोध गर्दा पनि हालसम्म गस्तीको व्यवस्था नभएको उनीहरूको गुनासो छ । अर्कोतर्फ गलत प्रवृत्तिमा लागेकाहरूको विरुद्ध बोल्न जोखिम भएको भन्दै किटानीसहित उजुरी भने दिन सकेका छैनन् । हालसम्म कुनै अप्रिय घटना नभए पनि यस्तै क्रियाकलाप बढ्दै गएमा कुनै दिन अप्रिय घटना हुन सक्ने भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । लमजुङको सुन्दरबजार, कुन्छा सोतीपसल, दुईपीपल, भकुण्ड, खुदीसम्मको सडक खण्डमा पनि ठाउँ–ठाउँमा जोखिम भएको स्थानीयले बताए ।
त्यसो त पश्चिम लमजुङसँगै जिल्लाका अधिकांश ग्रामीण भेगमा युवाको समूह कुलतमा लागेको पाइन्छ । यससम्बन्धी बालबालिका, युवावर्ग तथा अभिभावकमा आवश्यक सचेतना नहुँदा यो सामाजिक समस्याको रूपमा विकास भइरहेको छ । अहिलेको अवस्थालाई मात्र आँकलन गर्दा पनि लमजुङमा लागूऔषधको कारोबार र दुव्र्यसनको अवस्था विकराल बन्न सक्ने प्रहरीको अनुमान छ । लमजुङमा सदरमुकाम बेसीसहर, शहरोन्मुख भोटेओडार, सुन्दरबजारलगायतका बजारमा लागूऔषध दुव्र्यसनी रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । लागूऔषध दुव्र्यसनीविरुद्ध प्रहरीले गत वर्ष सदरमुकाम तथा जिल्लाका मुख्य बजार क्षेत्रहरूमा सचेतना अभियान सञ्चालन गरेको थियो, तर अभियानले निरन्तरता पाउन सकेको छैन ।
लमजुङका शहरी क्षेत्रमा विशेषगरी टिडिजेसिक इन्जेक्सन, डाइजेपाम, गाँजा, खैरो हेरोइनजस्ता लागू पदार्थको कारोबार र दुव्र्यसनी रहेको छ भने ग्रामीण भेगमा रक्सी, गाँजालगातका पदार्थको अत्यधिक प्रयोग हुने गरेको छ । रक्सी र गाँजालाई लागूपदार्थको रूपमा नलिए पनि यसको प्रयोगले ग्रामीण भेगमा भने नराम्रै असर पारेको छ । औषधिको रूपमा पनि प्रयोग गरिने गाँजा र घरेलु मदिराको रूपमा प्रयोग गरिने मदिराले समाजमा अधिकांश युवाको भविष्य बिगारेको सरोकारवालाहरू बताउँछन् ।
प्रतिक्रिया