रमाइलो घमाइलो

रमाइलो घमाइलो


ramailoदीर्घ उमेरको लागि बदाम
संसारमा जन्म लिने सबैलाई आफ्नो उमेर लम्ब्याउने चाहना हुन्छ । आफ्नो रहनसहन, खानपान, आचार–व्यवहारले स्वास्थ्यावस्था तथा उमेरलाई तलमाथि तुल्याउन सकिन्छ भन्ने कुरा विज्ञानसिद्ध छ । यसरी आफूलाई तन्दुरुस्त राखी आयु बढाउनका लागि संसारमा अनेक तŒव एवम् विधि हुन सक्छन् । यीमध्ये बदाम खाएर उमेर लामो बनाउन सकिने हालैको एक अनुसन्धानले देखाएको छ । न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधका अनुसार दिनहुँ चपाई–चपाईकन बदाम खाने व्यक्तिको आयु लामो हुन्छ । नियमित रूपमा एक मुठ्ठी बदाम खानेहरूको मृत्युदरमा २० प्रतिशतले कमी आएको पाइयो । अमेरिकी अनुसन्धान टिमले ३० वर्ष लगाएर २० हजार मानिसमा गरेको अनुसन्धानले यो नतिजा दर्शाएको हो । यति मात्र नभई बदामा खानाले हृदयरोगबाट हुने मृत्युमा पनि २८ प्रतिशत कमी हुनुका साथै क्यान्सरबाट हुने मृत्युमा समेत ११ प्रतिशत कमी आउने देखिएको अनुसन्धाकर्ताहरूको दाबी छ ।

करोडौँ उपहार दिएर हाँसोको पात्र
हामीकहाँ विवाहमा महिलाको परिवारले पुरुषलाई दाइजोको रूपमा नगद तथा जिन्सी सामान उपहार दिने कुप्रथा रहेजस्तै चीनमा विवाह गर्न चाहने युवकका तर्फबाट युवतीको परिवारलाई धन–सम्पत्ति दिने प्रचलन सामान्य मानिन्छ । यसरी आफूले मन पराएको केटी विवाह गर्न पाउने खुसीमा मगनीको अवसर पारेर हालै एक चिनियाँका तर्फबाट हुनेवाली पत्नीको परिवारलाई ८.८८ मिलियन युआन (लगभग १५ करोड रुपैयाँ) उपहार प्रदान गरेको घटना माइक्रोब्लगर उपयोगकर्ताहरूबीच निकै चर्चाको विषय बनेको छ । सोसल मिडियाहरूमा सय दरका युआन नोटको गड्डी बाँसका टोकरीहरूमा हालेर युवतीको घरतर्फ लगेको तस्बिरहरू छ्यापछ्याप्ती टाँगिएका छन् । ती नोटका कुल तौल एक सय दुई किलोग्राम रहेको र १८ जना भरिया लगाएर लगिएको र यस विषयले गर्मागर्म बहस जन्माएको तथा चाइना वीबो नामक सोसल माइक्रोब्लगमा यस विषयमा दुई लाखभन्दा बढी टिप्पणी गरिएको समाचारमा उल्लेख गरिएको छ । कैयन अनलाइन युजरले यस उपहारको व्यङ्ग्यपूर्ण आलोचना गरेका छन् भने हुनेवाला दुलहालाई ‘तुहाओ’ अर्थात् संस्कार नपाएको धनाढ्य भनेर उडाइएको छ । चिनियाँ अखबार सिटी एक्सप्रेसले जनाएअनुसार वैवाहिक बन्धनमा बाँधिन लागेका केटा र केटी दुवै सम्पन्न परिवारका २० वर्षीय युवा हुन् । चीनमा आठ अङ्क शुभ मानिने हुँदा उक्त रकम स्वीकार गरिएको धारणा केटी पक्षले अघिसारेको छ ।

जहाँ डिजलको खोलो बग्छ
संसारमा कनै देश यस्तो पनि छ जहाँ पानीभन्दा निकै सस्तो मोलमा डिजल पाइन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ, तर यो यथार्थ हो । भेनेजुयला नामक देशमा एक लिटर डिजलको मूल्य १ रुपैयाँ पनि पर्दैन । यो विश्वकै सबभन्दा सस्तो डिजल पाइने देशका रूपमा चिनिन्छ । भेनेजुयलाको अर्थतन्त्रमा ९० प्रतिशतभन्दा बढी योगदान केवल तेलमै निर्भर रहेको छ भने हामीकहाँ पानीको नदी बगेझैँ त्यहाँ डिजलको खोलो यत्रतत्र बग्ने गर्दछ । विडम्बनाचाहिँ के छ भने भेनेजुयली नागरिकले पानीका लागि भने निकै चर्को मूल्य चुकाउनुपर्दछ ।

दोहो¥याएर कौमार्य बेच्ने सुर
चार लाख पचासी हजार पाउन्ड अर्थात् लगभग आठ करोड रुपैयाँमा आफ्नो कौमार्य लिलामीको सूचना जारी गरेर चर्चामा आएकी २१ वर्षीया ब्राजिलियन युवती क्याट्रिना मिग्लिओर्नीले फेरि एक करोडमा कौमार्य बिक्री गर्ने भएकी छिन् । अघिल्लोपटकको डिल पूरा नभएकाले आफूले पुन: कौमार्य बिक्रीको टेन्डर आह्वान गर्नुपरेको क्याट्रिनाको तर्क छ । जुन अस्ट्रेलियन डकुमेन्ट्री फिल्मका लागि उनले भर्जिनिटी बिक्री गरेकी थिइन्, त्यसका निर्देशक जस्टिन सिसलीले उनलाई धोका दिएको उनको भनाइ छ । उनका अनुसार गत वर्ष अक्टोबरमा गरिएको लिलामीमा न कुनै रकम हासिल भयो न उनले आफ्नो कौमार्य नै गुमाइन् । यसरी डिल फेल भएकाले पुन: भर्जिनिटी बिक्री गर्ने सूचना निकाल्नुपरेको क्याट्रिनाले बताएकी छिन् । गत वर्षको लिलामीमा ५३ वर्षीय एक जापानी करोडपति नास्तु, अमेरिकी बिल्डर ज्याक मिलर र रुद्र चटर्जी नामक भारतीयबीच कडा टक्कर परेको थियो भने बाजी नास्तुले मारेका थिए । निर्देशक जस्टिन सिसलीले बनाउने डकुमेन्ट्रीमा नास्तु र क्याट्रिनाको वास्तविक सेक्सको दृश्य खिच्ने सम्झौता भए पनि फिजिकल एजुकेसनकी छात्रा क्याट्रिनाले जब नास्तुलाई भेटिन्, पहिले बताइएकोभन्दा फरक रूप र व्यक्तित्वको भन्दै उनीसँग सेक्स गर्न अस्वीकार गरेकी थिइन् । यसरी कौमार्य बिक्री गर्ने पटक–पटकको सूचनाका कारण क्याट्रिना यतिबेला ब्राजिलमा एक सेलिब्रेटी नै बनेकी छिन् । प्लेब्वाई पत्रिकाका निम्ति उनलाई मोडलिङको मौकासमेत हासिल भइसकेको छ । भर्जिनिटी बेचेर आएको रकमको ९० प्रतिशत हिस्सा मोडर्न घर निर्माण गर्ने एक गैरसरकारी संस्थालाई प्रदान गर्ने रहर भए पनि आफ्नो यो रहर पूरा हुन नपाएको क्याट्रिनाको भनाइ छ ।

मृत महिलाले जन्माइन् जिउँदो बच्चा
यसलाई भगवान्को चमत्कार नै भन्नुपर्ला, पेटमा १५ साताको गर्भ रहँदा मृत्युको मुखमा पुगेकी एक मृत महिलाको कोखबाट २७ हप्तापछि सकुशल एक स्वस्थ बच्चा जन्माउन चिकित्सकहरूलाई सफलता मिलेको छ । घटना बुडापेस्टको हो । हृदयाघातका कारण अस्पताल पु¥याइएकी उक्त महिलालाई डाक्टरहरूले दिमागी तवरले मरिसकेको घोषणा गरेका थिए, तर उनको पेटमा १५ साताको बच्चा रहेको खुलासा भयो । अल्ट्रासाउण्ड गरेर हेर्दा बच्चा पेटमा आनन्दसँग चलिरहेको थियो, आमाको रोगको कुनै प्रभाव बच्चामा थिएन । डाक्टरहरूले ३१ वर्षीया ती मृत महिलाको पेटमा रहेको बच्चा जीवितै जन्माउने फैसला गरे । त्यसपछि ब्रेन डेथ भइसकेकी महिलालाई तीन महिनासम्म अस्पतालमा लाइफ सपोर्टमा राखियो र २७ हप्ता पूरा भएपछि डेलिभरी गराइयो र उनलाई लाइफ सपोर्टबाट हटाइयो । प्रि–मेच्योर हुनुका बाबजुद बच्चा स्वस्थ र सामान्य थियो । चिकित्सक हत्काअनुसार ब्रेन डेथ भएको व्यक्तिलाई पाँच–छ दिन मात्रै लाइफ सपोर्टमा राख्न सकिन्छ, यस हिसाबले यो केस घोर आश्चर्यजनक रहेको बताइन्छ ।